Comments Add Comment

१०० रुपैयाँ वृद्धभत्ता बाँड्दा म मन्त्री थिएँ : ओली

१५ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मनमोहन अधिकारी प्रधानमन्त्री भएका बेला सरकारले ज्येष्ठ नागरिकहरुलाई मासिक एक सय रुपैयाँ वृद्धभत्ता दिने निर्णय गर्दा आफू पनि मन्त्री पदमा रहेको स्मरण गरेका छन् ।

विहीबार अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा आयोजित भिडियो सम्वाद कार्यक्रममा प्रमुख अतिथिका रुपमा मन्तव्य व्यक्त गर्दै प्रधानमन्त्री ओलीले वृद्धभत्ताको सुरुवाती निर्णयमा आफू सहभागी रहेको स्मरण गरेका हुन् ।

कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले हाल ज्येष्ठ नागरिकहरुले पाउँदै आएको ३ हजार भत्तालाई आफ्नै कार्यकालमा मासिक ५ हजार रुपैयाँ बनाउने घोषणा गरे ।

ज्येष्ठ नागरिकहरुलाई दिइने सुविधा बढाउने सरकारको मनसाय हुँदाहुँदै पनि देशको आर्थिक अवस्था कमजोर भएकाले सोचेजति गर्न नसकिएको प्रधानमन्त्रीको भनाइ थियो । मन भएर पनि धन नभएको उनले कार्यक्रममा बताए ।

महिला मन्त्रालय र ज्येष्ठ नागरिकहरुको संस्थाले संयुक्तरुपमा आयोजना गरेको कार्यक्रममा ज्येष्ठ नागरिक पूर्वसचिव कृष्णहरि बास्कोटाले कार्यपत्र प्रस्तुत गरेका थिए ।

साझा पार्टीले बनायो ज्येष्ठ नागरिक संगठन

यसैवीच, अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसर पारेर साझा पार्टीले विहीबार ज्येष्ठ नागरिक संगठन स्थापना गरेको छ ।

नवगठित साझा ज्येष्ठ नागरिक संगठनको केन्द्रीय तदर्थ समितिमा महेन श्रेष्ठ, कृष्णा ताम्राकार, प्रा.डा. जगन्नाथ श्रेष्ठ, विनय शर्मा, चक्र न्यौपाने, कीर्ति तुलाधार, विकल शेरचन, जगदीश्वर यादव, टीकाप्रसाद विमली, डा बोधप्रसाद पराजुली, घनबहादुर शाह, केवलमान श्रेष्ठ, बलराम सापकोटा, देविदत्त ज्ञवाली, तारा ढुङ्गाना लगायत रहेका छन् ।

तदर्थ समितिको संयोजकमा महेन श्रेष्ठ र महासचिवमा चक्र न्यौपाने रहेको साझा पार्टीका सहप्रवक्ता शरदराज पाठकले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment