Comments Add Comment

परराष्ट्र सचिवमा पौडेललाई ‘ग्रिन सिग्नल’

१५ असोज, काठमाडौँ । शंकरदास बैरागीलाई मुख्य सचिवमा बढुवा गरेको सरकारले नयाँ परराष्ट्र सचिव नियुक्ति प्रक्रिया अगाडि बढाउने भएको छ ।

सचिवका लागि लोकसेवा आयोगको पदपूर्ति समितिले सिफारिस गर्नुपर्ने छ । त्यसका लागि सरकारले आयोगलाई छिट्टै आग्रह गर्नेछ ।

लोकसेवा आयोगका अध्यक्ष, मुख्य सचिव, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव र लोकसेवा आयोगका अध्यक्षले नियुक्त गर्ने एक जना विज्ञ रहने समितिले मन्त्रालयका तीन जना सिनियर सहसचिवको नाम सिफारिस गर्नेछ । त्यही सिफारिसका आधारमा मन्त्रिपरिषदले एक जनालाई परराष्ट्र सचिवमा नियुक्त गर्नेछ ।

परराष्ट्र मन्त्रालयमा अहिले प्रवक्ताको जिम्मेवारीमा रहेका भरत पौडेल सबैभन्दा सिनियर सहसचिव हुन् । उनीपछि सेवा लम्साल र अमृतकुमार राई छन् । परराष्ट्र सचिवको लाइनमा भएका कारण नै पौडेल यस पहिला आकर्षक ठाउँमा राजदूतको अफर आउँदा समेत नगई मन्त्रालयमै बसेका थिए । पौडेल पाकिस्तानका लागि पूर्व नेपाली राजदूत हुन् ।

लम्साल भर्खरै पाकिस्तानको राजदुत भएर फर्किएकी हुन् भने राई न्यूयोर्कस्थित संयुक्त राष्ट्रको स्थायी नियोगमा राजदूतको रुपमा कार्यरत छन् । राई सन् २०१९ को जनवरीमा नियुक्त गरिएको हो । मन्त्रालय स्रोतका अनुसार सचिवमा सिफारीस हुनको लागि सहसचिवले सिनियर एक्जीक्यूटिभ कोर्स गरेको हुनुपर्छ ।

समाचार स्रोतका अनुसार नवनियुक्त मुख्य सचिव बैरागीले परराष्ट्र मन्त्रालयमा आयोजित विदाई कार्यक्रममा वरिष्ठताका आधारमा नै सचिव छनौट हुने गरेको छ भन्दै आफ्नो उत्तराधिकारी पौडेल हुने संकेत गरेका छन् । स्रोतका अनुसार परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञावलीले पौडेललाई ‘गि्रन सिग्नल’ दिइसकेका छन् ।

वरियताक्रम मिचिएन र प्रधानमन्त्री तहबाट हस्तक्षेप भएन भने पौडेल अर्काे हप्ता परराष्ट्र सचिव नियुक्त हुने स्रोतको दाबी छ । वरिष्ठताको आधारमा पौड्यालले बुधबारबाटै कार्यवाहक सचिवको जिम्मेवारी भने सम्हालिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment