Comments Add Comment

खुले दशैंलक्षित सरकारी सहुलियत पसल

१५ असोज, काठमाडौं । कपनका कान्छा राई बिहीबार खाद्य व्यवस्था तथा बजार कम्पनीको थापाथलीस्थित गेटमा भेटिए ।

मोटरसाइकलमा ३० किलोको चामलको बोरा राखेर घरतर्फ फर्किदै गरेका उनले सहुलियत पसलबाट किनेको बताए । एक बोरा चामल खरिद गर्दा बोरामा १५० रुपैयाँ बचत भएको उनको भनाइ थियो । ‘अहिले एक किलो चामलमा ५ रुपैयाँको दरले छुट रहेछ, ३० किलोको चामल लिएर घर जान लागेको,’ राईले भने ।

थानकोटका सुमन तामाङले पनि खाद्यको सहुलियत पसलबाट बिहीबार कणर्ालीको सिमी र चामल किने । सरकारी सहुलियत पसलमा गुणस्तरीय खाद्यान्न पाइने र ठगिने सम्भावना कम हुने लामाले बताए ।

सरकारले सुरु गरेको सहुलियत पसलमा पहिलो दिन छिटफुट रुपमा ग्राहक आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको केन्द्रीय बिक्री केन्द्रले जनाएको छ । सहुलियत पसलको पहिलो दिन झण्डै तीन लाखको ब्यापार भएको बिक्री केन्द्रकी सदस्य सुशीला घिमिरेले बताइन् ।

देशभर ४६ सहुलियत पसल

सरकारले बिहिबारदेखि देशैभर दशैंलक्षित सहुलियत बजार सञ्चालनमा ल्याएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीको संयोजनमा दूग्ध विकास संस्थान र साल्ट ट्रेडिङ कर्पोरेसनले बिक्री गर्ने वस्तुसमेत राखेर देशभर ४६ भन्दा धेरै पसल सञ्चालनमा ल्याइएको छ ।

सहुलियत पसलमा, नुन, चिनी, घिउ, दाल, गेडागुडी गरी ११ प्रकारका वस्तु पाइन्छ । चामल, दाल, फापर, केराउमा प्रतिकिलो पाँच रुपैयाँ र सिमी र गेडागुडीमा १० रुपैयाँ छुट दिइएको छ । नुन प्रतिप्याकेट १८, चिनी प्रतिकिलो ७० र डीडीसीको घिउ एक लिटरको ८७० रुपैयाँमा पाइन्छ ।

कहाँ-कहाँ खुले सहुलियत पसल ?

काठमाडौं उपत्यकाको कालीमाटी, टेकु, सिंहदरबार, कोटेश्वर, थापाथली, सतुङ्गल, नख्खु प्रयाग पोखरी र भक्तपुरमा सहुलियत पसल सञ्चालन गरिएको छ । उपत्यकामा सहुलियत पसलको घुम्ती सेवा पनि सञ्चालन गरिने कम्पनीले जनाएको छ ।

यस्तै साल्ट ट्रेडिङ र खाद्य व्यवस्था तथा व्यपार कम्पनीको उपत्यकाबाहिरको सबै कार्यालयमाबाट पनि सहुलियत पसल सञ्चालन गरिने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

खाद्यान्न अनलाइनको माध्यमबाट पनि खरिद गर्न सकिने कम्पनीले जनाएको छ । घटस्थापनाको केहीदिन पछि खसी बोका र च्याङ्ग्रा पनि किलोमा १० रुपैयाँ सहुलियतमा बिक्री गर्ने कम्पनीको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment