Comments Add Comment

संगीतमा जमेका अर्जुन पोखरेल

संगीतकार अर्जुन पोखरेलले वि.सं २०६१ सालमा ‘सानी मोरी मलाई मन पर्यो’ बोलको गीत आउँदा आज पाइरहेको सफलता कल्पना पनि गरेका थिएनन् । चितवनमा वि.सं २०३९ साल असोज १६ गते जन्मिएका यी संगीतकारले करिअरमा धेरै संघर्ष गरे । काठमाण्डौको पुतलीसडकमा अनुराग संगीत विद्यालय खोलेर संगीत सिकाउँदै गर्दा अर्जुन सफलताको खोजीमा थिए । थुप्रै चलचित्रका निर्माताले उनलाई आफ्नो चलचित्रमा संगीतको अवसर दिने आश्वासन दिए तर पुरा गरेनन् ।

चलचित्र ‘दिलमाया’को शिर्ष गीतमा संगीत भरेर चलचित्र संगीतमा करिअर सुरु गरेका अर्जुनलाई ‘छुट्छ कि साथ, सुन्छु तिमीले मलाई’ लगायतका गीतले दर्शकमाझ परिचित गरायो ।

चलचित्र ‘स्टूपिड मन’को गीतले उनले प्रेमका रंग भरिएका गीतमा नयाँ आयाम कोर्न सक्छन् भन्ने संकेत दियो । चलचित्र ‘प्रेमगीत’मा संगीत भरेपछि त अर्जुन भर्सटायल संगीतकारको रुपमा चिनिए । यसपछि भने अर्जुनले पछाडि फर्किएर हेर्नु परेन ।

७८ वटा चलचित्रमा संगीत भरिसकेका अर्जुन प्रेमको आभाष दिने गीतका लागि अहिले एक्लो दौडमा छन् । उनले, चलचित्र ‘म यस्तो गीत गाउँछु, म यस्तो गीत गाउँछु २, क्याप्टेन, किस्मत २’ लगायतका चलचित्रमा हिट संगीत दिएका छन् ।
अर्जुुनले संगीत भरेका ‘तिमी रोएको पल, भन्छु आज मनका कुरा, किन आजकल, रहर छ सँगै, तिम्रो घरको वरिपरी, म यस्तो गीत गाउँछु’ लगायतका गीत सर्वाधिक चर्चामा छन् ।

हाल आफ्नै रेकडिङ स्टूडियो समेत तयार गरेर काम गरिरहेका अर्जुनले यो बर्ष नै गायिका दुर्गा खरेलसँग बिहे गरेका थिए । अर्जुन नेपाली चलचित्रको लभ स्टोरी भाव बोकेका गीतमा सर्वाधिक धेरै सुनिएका छन् । उनै, संगीतकारलाई जन्मदिनको धेरै धेरै शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment