Comments Add Comment

भारतमा ट्यांकरको नक्कली साँचो बनाएर पेट्रोलमा श्रृंखलाबद्ध मिसावट

पेट्रोलियम डिलर एशोसिएसनका अध्यक्ष भन्छन्– लकिङ प्रणाली सुधार गर

फाइल तस्वीर

१६ असोज, काठमाडौं । भारतको बरौनी डिपोबाट २० हजार लिटर पेट्रोल बोकेको ना ४ ख ३०८५ नम्बरको ट्यांकर गत सोमबार नेपाल आयल निगमको थानकोट डीपोमा आइपुग्यो । डिपोका प्राविधिकले पेट्रोलको गुणस्तर परीक्षण गर्दा उक्त ट्यांकरको एक चेम्बरमा ६०० लिटरभन्दा बढी तारपिन मिसावट भएको भेटियो ।

चालकले ट्यांकरबाट ६०० लिटर पेट्रोल झिकेर ६०० लिटर तारपिन तेल हालेका थिए । चालक सचिन सुवेदीले हालको बजार मूल्यअनुसार ६४ हजार २०० रुपैयाँको पेट्रोल झिकेको डिपोका अधिकारीहरु बताउँछन् । उनीहरुका अनुसार, अलि पहिल्यै पेट्रोल भरिए पनि उक्त ट्यांकर ढिला गरी काठमाडौं आएको थियो ।

मिसावट फेला परेलगत्तै डिपोप्रमुख प्रदीपकुमार यादवले चालक सुवेदीलाई महानगरीय प्रहरी वृत्त चेक पोष्टको जिम्मा लगाए । ‘मिसावटमा शून्य सहनशीलता भन्ने माथिको आदेश छ, हिजोआज पहिले प्रहरीको जिम्मा लगाएर मात्रै कागजी प्रक्रिया सुरु हुन्छ,’ डिपो प्रमुख यादव भन्छन् ।

भारतमा ट्यांकर लकिङको नक्कली साँचो बनाएर बरौनीदेखि वीरगञ्ज नआइपुग्दै तेल चोरी र मिसावट हुने गरेको पाइएको छ

कारबाहीपछि शंकास्पद दुर्घटना

यसअघि भदौ अन्तिम साता पेट्रोल बोकेर बरौनीबाट आएका तीनवटा ट्यांकरमा मिसावट फेला गरेको थियो । बैकुण्ठ बलामी ढुवानीकर्ता रहेको ना ७ ख ४०९३ नम्बरको ट्यांकरको पाँच नम्बर चेम्बरमा चार हजार लिटर पेट्रोल मिसावट भेटिएपछि चालक सन्तोष खड्कालाई निगमको दुई नम्बर प्रादेशिक डिपो (बाराको अमलेखगन्ज)ले प्रहरीमा बुझाएको थियो ।

त्यस्तै, रामचन्द्र मिश्र ढुवानीकर्ता रहेको ना ७ ख ३९२३ नम्बरको ट्यांकरमा १२ हजार लिटर पेट्रोलमा मट्टितेल जस्तो लाग्ने रसायन मिसाएको पाइएपछि चालक राजेश विश्वकर्मालाई बारा प्रहरीमा बुझाइएको थियो । रसायनको कम्पोजिसन पत्ता लगाउन भारतीय आयल कर्पोरेसनको ल्याबमा पठाइएको छ ।

यसैगरी सुरेन्द्र श्रीवास्तवको ना ७ ख १७५७ नम्बरको ट्यांकरले बरौनीबाट ल्याएको २० हजार लिटर पेट्रोलमा १२ हजार लिटर मिसावट गरेको पाइयो । सो ट्यांकरका चालक सञ्जीवकुमार लामा भने फरार छन् ।

असोज ४ गते  धादिङमा २० हजार लिटर पेट्रोल बोकेको भनिएको ट्यांकर त्रिशूली नदीमा खसेर आगो लागेको थियो । मिसावटको पूर्वसूचना पाएका निगमको थानकोट डिपोका अधिकारीहरु त्यो ट्यांकर पर्खेर बसेका थिए । उक्त दुर्घटना शंकास्पद भएको भन्दै निगमले अनुसन्धान गर्न ५ असोजमा जिल्ला प्रहरी कार्यालय धादिङलाई पत्राचार गरेको छ ।

नयाँ प्रविधि भित्र्याएपछि फेला पर्यो मिसावट

निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेल डिजिटल लकिङ र ल्याब स्तरोन्नतीको काम थाल्न नयाँ प्रविधिमार्फत अध्ययन गर्दा धमाधम मिसावट फेला पर्न थालेको बताउँछन् । भारतमा ट्यांकर लकिङको नक्कली साँचो बनाएर बरौनीदेखि वीरगञ्ज नआइपुग्दै तेल चोरी र मिसावट हुने गरेको पोल खुलेको उनी बताउँछन् ।

पौडेलका अनुसार, मिसावटमा संलग्न चालकहरुलाई कालोबजारी तथा केही सामाजिक सुरक्षा ऐन अन्तर्गत कारबाही गर्न थालिएको छ । हालसम्म दुईजना थानकोट डिपोबाट काठमाडौं प्रहरी र अमलेखगन्जबाट चारजना बारा जिल्ला प्रहरी कार्यालयलाई बुझाइएको छ ।

यो ऐनमा मिसावट र चोरी प्रकरणमा कम्तीमा एक वर्ष जेल र जरिवाना हुने व्यवस्था छ । मिसावट र चोरीमा संलग्न ट्यांकरका चालक र ढुवानीकर्तालाई ६ महिना निलम्बन गर्ने, रुट परमिट परिवर्तन गरिदिने र तेलको मूल्य पनि असुलिने निगमले जनाएको छ । बदमासीमा संलग्न ट्यांकर र ढुवानीकर्तासंगको सम्झौता भंग गर्न सकिनेगरी ढुवानी बिनियमावली संशोधन गर्ने गृहकार्य भईरहेको निगमले जनाएको छ ।

‘लकिङ प्रणाली सुधार गर’

पेट्रोलियम पदार्थमा मिसावट र चोरी हुनुमा निगमको लकिङ प्रणाली मुख्य जिम्मेवार रहेको नेपाल पेट्रोलियम डिलर एशोसिएसनको भनाइ छ । निगमले ट्यांकरमा लगाउने ताल्चा चालकले खोल्न सक्ने खालको हुनु नै समस्याको जड भएको एशोसिएसन अध्यक्ष लिलेन्द्रप्रसाद प्रधान बताउँछन् ।

मिसावट र चोरीमा चालक र निगमभित्रकै कर्मचारीको पनि चलखेल हुन सक्ने उनको आशंका छ । ‘त्यसैले, स्वतन्त्र छानबिन गर्न हाम्रो माग छ’, अध्यक्ष प्रधान भन्छन्, ‘निगमको ल्याबको गुणस्तरमा पनि हामीलाई शंका छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment