Comments Add Comment

पौडेल पक्षको ‘अल्टिमेटम’बारे कांग्रेसमा छलफल शुरु

१८ असोज,  काठमाडौं । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल समूहले आफूले उठाएको माग सम्बोधन गर्न पार्टी सभापति शेरबहादुर देउवालाई दिएको एक हप्ते ‘अल्टिमेटम’ सकिनै लाग्दा सो समूहको मागबारे पार्टीमा छलफल शुरु भएको छ ।

पौडेल समूहको मागबारे देउवाले शनिबारदेखि आफू निकट नेता, पदाधिकारी र केन्द्रीय सदस्यहरुसँग परामर्श सुरु गरेका थिए । पौडेल पक्षको माग र भोलिको केन्द्रीय समिति बैठकका एजेण्डाबारे छलफल गर्न आइतबार बिहान पदाधिकारी बैठक बोलाइएको थियो तर चार केन्द्रीय सदस्य र पार्टी कार्यालयमा कार्यरत केही कर्मचारीहरुलाई कोरोना संक्रमण देखिएपछि पदाधिकारी बैठक स्थगित गरिएको छ ।

पौडेल पक्षले १२ गते एक हप्ताभित्र आफ्ना माग पूरा नगरेमा विरोधका कार्यक्रम ल्याउन बाध्य हुने चेतावनी दिएको थियो । पौडेल पक्षले पछिल्लो समयमा देउवाले ‘एकलौटी’ रुपमा गठन गरेका विभाग तथा पुराना विभागमा भएका केही नयाँ नियुक्ति सच्याउनु पर्ने, बाँकी जिल्लामा समायोजनको बाँकी काम छिटो सक्नुपर्ने र आफूखुसी क्रियाशील सदस्यता बाँड्ने काम रोक्नुपर्ने माग गर्दै आएको छ ।

पछिल्लो केही महिनायता देउवाले एक हजार भन्दा बढीलाई विभिन्न विभागमा मनोनयन गरेका छन् । पौडेल पक्षले विरोध गर्दा पनि उनले मनोनयनलाई निरन्तरता दिइरहेका छन् । क्रियाशील सदस्यता वितरण महाधिवेशनको समयमा कांग्रेसमा हुने ठूलो किचलो हो ।

कोरोनाको बिचमा पनि आफू निकट केन्द्रीय सदस्यहरुको भर्चुअल बैठक गरेर पौडेल पक्षले निरन्तर दबाब सिर्जना गर्दै आइरहेको छ । पौडेल पक्षले देउवाले गठन गरेका विभागहरु विधान विपरीत भएकाले त्यसलाई खारेज गर्नुपर्ने माग गरेको छ ।

साथै, पौडेल पक्षले तोकिएको समयमा नै महाधिवेशन गर्नुपर्ने माग पनि अगाडि सारेको छ । तर कोरोनाका कारण महाधिवेशन तयारीको माग प्रभावित भइरहेको छ । यससँगै १४ औं महाधिवेशनबारे छलफल गर्न भनेर भोलिका लागि बोलाइएको केन्द्रीय समितिको बैठकबारे पनि अन्योल सिर्जना भएको छ । सो सम्वन्धमा आज मध्यान्हसम्म निर्णय हुने नेताहरुले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment