Comments Add Comment

प्रहरीमा डीआईजीको ५ दरबन्दी थप्ने प्रस्ताव मन्त्रिपरिषदमा

१८ असोज, काठमाडौं । नेपाल प्रहरीमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) को ५ वटा दरबन्दी थप्ने तयारी गरिएको छ । गृह मन्त्रालयले निर्णयका लागि मन्त्रिपरिषदमा पठाएको संगठनात्मक स्वरुप निर्धारण (ओएण्डएम) अनुसार डीआईजीको ५ वटा दरबन्दी थपिन लागेको हो ।

मन्त्रालयका एक उच्च अधिकारीका अनुसार मन्त्रिपरिषद्ले गृहको प्रस्तावलाई हाल छलफलका लागि उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा रहेको प्रशासनिक समितिमा पठाएको छ ।

समितिबाट मन्त्रिपरिषदमा गएपछि डीआईजी थप्ने प्रस्तावमाथि निर्णय हुनेछ ।

यसअघि डीआईजी हरिबहादुर पाल, प्रद्युम्न कार्की र निरज शाही प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएपछि तीन वटा डीआईजीका पद खाली थिए । त्यसमा ५ वटा दरबन्दी थप भए नेपाल प्रहरीमा डीआईजीको ८ पद रिक्त हुनेछन् ।

थपिने दरबन्दीका लागि हालका आईजीपी शैलेश थापा क्षेत्रीकै ब्याचका गणेश ऐरसहित पुरुषोत्तम कँडेल, दिवेश लोहनी, देवबहादुर बोहरा, दिलिप चौधरी, राजेशलाल कर्ण, सौरभ राणा र रामकृपाल शाह प्रतिष्पर्धामा हुनेछन् ।

त्यस्तै, उमेश रञ्जित, सुशीलकुमार यादव, मुकुन्द आचार्य, हरिराज वाग्ले, पूजा सिंह, विक्रम चन्द, नलप्रसाद उपाध्याय, देवबहादुर बोगटी, मोहन आचार्य, राजेन्द्र चौधरी, नरबहादुर खत्री र मोहमद आलम खाँ पनि बढुवाको प्रतिष्पर्धी हुन् ।

प्रहरीमा हाल प्रशासनतर्फ १४ र प्राविधिक ८ गरी २२ जना डीआईजी छन् । यसअघि प्रशासनमा २६ जना डीआईजी रहेकामा ठाकुरप्रसाद ज्ञवाली आईजीपी भएका बेला गृह मन्त्रालयले १४ वटा दरबन्दी कटौती गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment