Comments Add Comment

ट्रम्पको स्वास्थ्य जोखिममा ! अबका केही दिन महत्वपूर्ण

Photo Credit : Reuters

१८ असोज, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अहिले कोरोना भाइरस (कोभिड-१९) विरुद्ध लडिरहेका छन् । कोरोना संक्रमण देखिएसँगै वाल्टर रिड नेशनल मिलिट्री मेडिकल सेन्टरमा उनको उपचार भइरहेको छ ।

ट्रम्पका डाक्टर सिन कोन्लीले अबको केही दिन ट्रम्पका लागि महत्वपूर्ण भएको बताएका छन् । कोन्लीका अनुसार ट्रम्पमा कोरोनाको संक्रमण दोस्रो चरणमा छ । यसअघि शनिबार साँझ ट्रम्प आफैंले ट्वीटरमा एउटा भिडियो पोस्ट गर्दै आफूलाई निको हुँदै गएको र अबको केही दिनमा कोरोना विरुद्धको लडाइँको वास्तविक परीक्षण हुने बताएका थिए ।

कोरोनाको संक्रमितको उपचार गरिरहेका डाक्टरहरुले पनि अबको तीनदेखि पाँच दिन ट्रम्पका लागि सबैभन्दा महत्वपूर्ण हुने बताएका छन् । कोरोनाको लक्षण देखिएको केही दिनपछि मानिसको प्रतिरोधी प्रणालीले कोरोनासँग सबैभन्दा महत्वपूर्ण लडाइँ लड्ने जानकारहरुको भनाइ छ । यो लडाइँ घातक पनि हुन सक्ने उनीहरु बताउँछन् ।

भेन्डरबिल्ट युनिभर्सिटीका संक्रामक रोग विशेषज्ञ डाक्टर विलियम स्क्याफ्नरका अनुसार कोरोना लागेको केही समयसम्म संक्रमित सही अवस्थामा देखिन्छ तर त्यसपछि भने अवस्था बिग्रिँदै जान सक्छ ।

‘यदि प्रतिरक्षा प्रणालीले सहीरुपमा कोरोना भाइरसलाई निशाना बनाउन सकेन भने मानिसको स्वास्थ्य अवस्था झन् कमजोर बन्दै जान्छ,’ उनले भने ।

शनिबार ह्वाइट हाउसका चिफ अफ स्टाफ मार्क मिडोजले राष्ट्रपतिको अवस्था पछिल्लो २४ घण्टामा चिन्ताजनक रहेको र उनको उपचारको दृष्टिले हेर्दा अबको ४८ घण्टा निकै संवेदनशील रहेको बताए । ट्रम्पको स्वास्थ्यमा पूर्ण सुधारको विषयमा आफूहरु अझै स्पष्ट नरहेको उनको भनाइ छ ।

अमेरिकी सञ्चारमाध्यमहरुका अनुसार शुक्रबार अस्पताल लगिनुभन्दा अगाडि उनलाई अक्सिजन चढाइएको थियो । कोरोना संक्रमणको सुरुआतमा शरीरले प्रयोग गर्ने प्रतिरक्षा प्रणालीले केसँग लड्नुपर्ने हो भन्ने कुरा थाहा नपाउने मायो क्लिनिक भ्याक्सिन रिसर्च ग्रुपका डाक्टर ग्रेग पोल्याण्ड बताउँछन् । यस किसिमको प्रतिरक्षा प्रणालीलाई इननेट इम्युन सिस्टम भनिन्छ ।

प्रतिरक्षा प्रणालीले आफैँ भाइरसलाई पत्ता लगाएर निसाना बनाउन सक्नु निको हुनको लागि महत्वपूर्ण हुन्छ । यसलाई एडप्टिभ इम्युन सिस्टम भनिन्छ । स्वास्थ्य अवस्था गम्भीर हुन नदिनको लागि इननेट र एडप्टिभ इम्युन सिस्टम सन्तुलनमा हुनुपर्छ ।

कोरोनाकै कारण मात्र पनि जटिलता बढ्दैन । मानिसको स्वास्थ्यमा जटिलता बढ्नुको एक कारक उमेर पनि हो । उमेर बूढो हुँदै गएपछि शरीरमा एडप्टिभ इम्युन सिस्टम सक्रिय पार्नमा सफल हुने सम्भावना पनि कम हुन्छ । जून महिनामा ट्रम्प ७४ वर्ष पूरा भएका छन् । यो उमेरका मानिसलाई कोरोनाको जोखिम २० को दशकका मानिसलाई भन्दा ९९० गुणा बढी हुने अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)को तथ्यांक छ ।

आइतबार साँझसम्ममा सार्वजनिक भएको सूचनाले भने अहिलेसम्म उनको स्वास्थ्यमा कत्तिको सुधार आयो भन्ने कुरा पत्ता लगाउन नसकिने जानकारहरु बताउँछन् । यद्यपि उनको ज्वरो कम हुनु सुखद संकेत रहेको चिकित्सकहरुको भनाइ छ । तर यसैको आधारमा उनी पूर्णरुपमा जोखिमभन्दा बाहिर छन् भन्न सकिने अवस्था भने छैन ।

स्रोत : द साउथ चाइना मर्निङ पोस्ट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment