Comments Add Comment

शिवम् ह्याचरीले दुर्गन्ध फैलाएको स्थानीयको गुनासो

ह्याचरीमा कार्यरत एक युवकको शंकास्पद मृत्यु

१८ असोज, वीरगञ्ज । ‘शिवम ह्याचरीबाट निस्कने दुर्गन्धका कारण झिंगा अत्याधिक बढ्न जाँदा भैंसीले दुध दिन छोडेको छ । बुहारीहरु घाँस काट्न जान पनि डराउँछन् । गाउँ पूरै गन्हाएको छ । खाना खाने बेलामा झिंगा आएर बसिदिन्छ । दालमा झिँगा आएर डुब्छ । ’ पर्साको पटेर्वासुगौली गाउँपालिका–२ धर्मबस्तीकी लक्ष्मी लामाले एकै सासमा गुनासो पोखिन् । उनी मात्रै होइन, शिवम् ह्याचरीको आसपास गाउँका सबै मानिसको गुनासो एकै खालको छ । गाउँमा आँप फल्न छोडेको, धानबालीमा रोग किराको प्रकोप बढेको छ ।

बनकटवाकी रामपरीदेवि झिंगाका कारण बिरामी पर्ने डर बढेको बताउँछिन् । ‘ठूलो मान्छे त ध्यान दिन्छन् । स–साना बालबालिका केही नहेरी खान्छन् ।’ बिरामी पर्ने जोखिम बढेको छ ।’

पटेर्वासुगौली-१ का मोजाहिद अन्सारी उद्योगका कारण आसपासका १ हजार घरधुरीमा समस्या रहेको बताउँ छन् । अढाइ किलोमिटर वरपर गन्ध आउँछ, झिंगाको संख्या बढ्दा मानिसहरु आजित छन् । खाना खान गाह्रो भइसकेको छ । फलफूल नष्ट पारेको छ । धानबालीमा किरा लागेको छ । मरेको कुखुरा व्यवस्थित ढंगले गाड्नुपर्नेमा जथाभावी फालिएको हुन्छ, खुल्ला मैदान नदीको वरपर फालिएको छ । स्यालले मरेको कुखुरा खाएर बौलाउँछ । केटाकेटी गोठालो जान डराउन थालेका छन् ।

समस्याको बारेमा स्थानीयले पटक-पटक उद्योगको ध्यानाकर्षण गराएका छन् । तर उद्योगले समस्या समाधानका लागि कुनै चासो दिइरहेको छैन । उद्योगको गतिविधि र प्रदूषणबाट हैरान बनेका गाउँबासीले पटेर्वा सुगौली गाउँपाकिलामा उजुरी दिएका छन् । आज औषधि छर्कन्छन्, भोलिपल्ट पुनः झिंगा उस्तै आउँछ ।

स्थानीय जयकुमार मिश्र उद्योगबाट हैरान भएपछि असोज ६ गते गाउँपालिकामा उजुरी दिएको बताउँछन् । ‘उद्योग स्थापना हुँदा खुशी भएका थियौं, तर अहिले दुःखी भएका छौं । ढुक्क भएर खाना समेत पाएका छैनौं,’ उनले भने, ‘धानमा १० पटक विषादी छर्दा समेत किराले आधा धान फल्न दिँदैन । गाउँपालिकामा उजुरी दिएका छौं, समस्या समाधान भएन भने जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी दिन्छौं ।’

ह्याचरीमा काम गर्ने युवकको शंकास्पद मृत्यु

शिवम\ ह्याचरीमै काम गर्दै आएका बिक्रम तामाङ अचानक असोज तीन गतेबाट हराए । डल्लीमाया तामाङको छोरा बिक्रम लकडाउनमा सानीमाको घरमा आएर बसेका थिए । पछि कसैले उनलाई कम्पनीमा काम लगाइदिएका थिए । खाने, बस्ने सुविधा उनलाई ह्याचरीमै मिलाइएको थियो ।

‘असोज तीन गते बिक्रम हराएको खबर आयो, कसरी हरायो, के भयो ? गाउँबाट धेरै जना गएर खोज्यौं भेटिएन, प्रहरीलाई हुलियासहित उजुरी दियौं,’ आमा डिल्ली माया भन्छिन्, ‘९ गते बल्ल धान बारीमा शव भेटिएको खबर सुनें । खबर सुन्ने बित्तिकै म त बेहोस भएछु । पानी छम्केर उठाएर बिहिनीकोमा ल्याईदिए । लोग्ने छैन, काठमाडौंमा काम गरेर बस्थे । हुर्केको छोरालाई कसले मार्‍यो कि के गर्‍यो थाहा छैन । ’

सडिसकेको अवस्थामा भेटिएको शव कपडाले मात्रै पहिचान आएको थियो । उद्योगले स्यालले घिसारेर लगेको बताएपनि गाउँलेहरु भने विश्वास गरिरहेका छैनन् । उनीहरु उद्योगको लापरबाहीले गर्दा बिक्रमको मृत्यु भएको बताउँछन् । वडा नं २ धर्मवस्तीका अन्तरे तामाङ रातदिन त्यही काम गर्ने मान्छेको बारेमा उद्योगले जानकारी नभएको बताउनु गलत भएको बताउँछन् ।

‘त्यहीँ खाने, बस्ने र सुत्ने व्यवस्था मिलाएर काममा राखिएको थियो । त्यहाँ लाइन पनि थापिएको रहेछ, लाइनले भेटेको हो वा के हो थाहा छैन,’ उनले भने, ‘उद्योगमा रातदिन बस्ने मान्छेको बारेमा जानकारी नै नराख्नु गैर जिम्मेवारीपूर्ण काम हो । ’

दाल र दानाको उद्योग खोल्ने अनुमति लिएको तर ह्याचरी खोलेको स्रोतले बताएको छ ।

शिवम् ग्रुपका कपिल पोखरेलले भने पटेर्वासुगौलीको उद्योग आसपासको क्षेत्रमा देखिएको समस्या समाधानका लागि काम भइरहेको दावी गर्छन् । ‘वर्षातको मौसममा झिंगाको प्रकोप बढ्छ । मानव जीवनमा असर नपर्ने विषादी छर्दैछौं । त्यसलाई निर्मूल पारिसकेका छौं,’ उनले भने, ‘उद्योग भएपछि केही समस्या आउँछ । तर समस्या समाधान गर्दैै जान्छौं ।’

मजदुरको सन्दर्भमा उनको ह्याचरी बाहिर नै मृत्यु भएको दावी उनको छ । ‘लेवरहरु १० बजेदेखि ५ बजेसम्म मात्रै हाम्रो सम्पर्कमा रहने हो । जिम्मेवारी अनुसारको काम गरिरहेका हुन्छन्,’ उनले भने, ‘पाँच बजेपछि उनीहरुको नीजि जीवन छ । जसको मृत्यु भएको छ उनी ह्याचरी भन्दा बाहिर मरेका हुन् । प्रहरीको मुचुल्का हेर्दा पनि स्पष्ट हुन्छ ।’

जनप्रतिनिधि आउनु हुनुभन्दा अघि नै उद्योग स्थापना भएको हो । उद्योग स्थापना भएपछि त्यसले नागरिकलाई रोजगारी मिल्छ भन्ने सोचिएको थियो । तर सास्ती मिलिरहेको छ ।

गाउँपालिकाको उपाध्यक्ष ममता महतोले स्थानीयको गुनासो समाधानका लागि पालिकाले पहल सुरु गरेको बताइन । ‘स्थानीयले पालिकामा लिखित उजुरी दिएका छन्, जनताको जीवन रक्षा हाम्रो दायित्व हो,’ उनले भनिन्, ‘आजैवपनि सयौं स्थानीय बासिन्दा गुनासो लिएर पालिकामा आएका थिए, गाउँबासीको समस्या समाधानका लागि आवश्यक कदम चाल्छौं ।’

गाउँपालिकले कात्तिक २५ गते अर्को छलफलका लागि उद्योगका सञ्चालकलाई नै बोलाउने तयारी गरेको उनले बताइन् ।

‘वातावरण प्रदूषण गरेको जनगुनासो आएको छ, जग्गाको विवाद आएको छ । वातावरणीय प्रभाव मुल्याङ्कन रिपोर्ट, जग्गाको कागजपत्र सहित उद्योगका सञ्चालकलाई नै बैठकमा बोलाउने तयारी गरिरहेका छौं,’ उनले भनिन्, ‘ कानुनी व्यवस्थाको बारेमा अध्ययन गरेर सम्बन्धित निकायमा कारबाहीका लागि सिफरिस गर्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment