
१८ असोज, काठमाडौं । तातोपानी र रसुवागढी नाका आइतबारबाट एकतर्फी रुपमा सञ्चालनमा आएको छ । दुवै नाका भएर नेपालतर्फ माल वस्तु ढुवानी सुरु भएको रसुवागढी र तातोपानी भन्सार कार्यालयले जनाएको छ ।
आइतबार बिहान रसुवागढी नाका भएर नेपाली भन्सार यार्डमा चीनबाट पाँच ट्रेलर माल वस्तु प्रवेश गरेको रसुवा भन्सारका प्रमुख भन्सार अधिकृत पुण्यबिक्रम खड्काले बताए ।
पाँच ट्रेलर समान नेपाली १० कन्टेनर बराबर हुने खड्काको भनाइ छ । ‘नेपाली सामान छोडेर चीनको कन्टेनर डिस्इनफेक्सन गेरर फर्किएको छ, आज पहिलो दिन भएर अलि कम सामान आयो भोलिबाट नियमित हुन्छ,’ भन्सार प्रमुख खड्काले भने । रसुवागढीमा भित्रिएको सामान चीनतर्फ यसअघि रोकिएको लत्ताकपडाहरु हुन् ।
यस्तै आइतबारबाट तातोपानी नाकाबाट पनि समानहरु नेपालतर्फ आउन थालेको तातोपानी भन्सार कार्यालयले जनाएको छ । तातोपानी नाका भएर १२ वटा कन्टेनर नेपाल आउन हिँडेको तातोपानी भन्सार प्रमुख लालबहादुर खत्रीले बताए ।
‘सामान आउँदै छ, नेपाल आउन सामान लोड भएको जानकारी मैले पाएको छु’ भन्सार प्रमुख खत्रीले ततोपानीबाट अनलाइनखबरसँग भने ।
यसैबीच नेपालका लागि चिनीयाँ राजदूत होउ यन्सीले पनि नेपालका लागि अति आवश्याक सामान पठाउन तातोपानी नाका पुनः सञ्चालनमा आएको ट्वीटरमार्फत जानकारी दिएकी छिन् ।
‘म खुसी छु, तातोपानीतर्फको नेपाल चीन नाका आजबाट पुनः सञ्चालनमा आएको छ, यसमा नेपाल र चीन दुवैको मेहिनत छ, नेपालीको दशैं बनाउन अत्यावश्यक वस्तु दवै नाका भएर आउनेमा म विश्वस्त छु,’ राजदूत यन्सीले भनेकी छिन् ।
नेपाली श्रमिकलाई कोरोना देखिएपछि भदौ १५ गतेदेखि रसुवागढी र बाढी तथा पहिरोका कारण असार ४ गतेदेखि तातोपानी नाका अवरुद्ध भएको थियो ।
प्रतिक्रिया 4