+
+
Shares

भारतीय गस्ती बढेपछि कालापानी नजिक बीओपी स्थापनाको तयारी

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज २० गते १७:५०

२० असोज, काठमाडौं । कालापानी क्षेत्रमा भारतले सुरक्षागस्ती बढाइरहेका बेला नेपालले पनि सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बीओपी) स्थापनाको तयारी थालेको छ ।

नेपालले दार्चुला जिल्लाको ब्याँस गाउँपालिका–१, स्थित तल्लोकौवामा बीओपी स्थापना गर्न लागेको हो । तल्लोकौवामा बीओपी राख्नका लागि ४८६ कित्ता नम्बरको २० रोपनी जग्गा माग्ने निर्णय भएको ब्याँस–१ का वडाध्यक्ष अशोक बोहरा ब्याँसीले जानकारी दिए ।

कतिपयले माथिल्लो कौवामा राख्न माग गरे पनि सुरक्षाकर्मी बाह्रै महिना बस्न सकिने हुनाले तल्लोकौवा रोजिएको अध्यक्ष बोहरा बताउँछन् ।

यो स्थान गत वैशाखमा बीओपी स्थापना भएको छाङरुभन्दा करिब सात किलोमिटर पश्चिममा पर्छ । तल्लो कौवामा करिब तीन सय रोपनीको चौर रहेको स्थानीयवासी बताउँछन् । स्थानीयले सुरुदेखि नै कौवामै बीओपी राख्नुपर्ने माग गर्दै आएका थिए ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले भने बीओपी राख्ने जग्गाको विषयमा अन्तिम निर्णय हुन बाँकी रहेको बताए । गाउँपालिका, नापी र मालपोत कार्यालयलाई उपर्युक्त स्थान पहिचान गर्न जिम्मा दिइएको उनले जानकारी दिए ।

भारतले गस्ती बढाएपछि बीओपी !

भारतद्वारा अतिक्रमित लिम्पियाधुरा, कालापानी, लिपुलेक लगायतका क्षेत्र समेटेर नेपालले प्रशासनिक तथा राजनीतिक नक्सा सार्वजनिक गरेपछि भारतले त्यसक्षेत्रमा सुरक्षागस्ती बढाएको देखिन्छ । देखिने गरी नै स्थल तथा हवाई गस्ती बढेको स्थानीयहरू बताउँछन् ।

भारतले २ नोभेम्बर २०१९ मा नेपाली भूमिसमेत आफ्नोतर्फ पारेर राजनीतिक नक्सा जारी गरेपछि नेपालले कूटनीतिक संवादमार्फत समस्याको समाधान खोजेको थियो । नेपालको प्रस्तावलाई ठाडै अस्वीकार नगरे पनि भारत वार्ताका लागि तयार भएको थिएन ।

गत वैशाखमा भारतले नेपाली भूभाग हुँदै कैलाश मानसरोवर जाने सडक उद्घाटन गर्‍यो । त्यसपछि नेपालले छाङरुमा बीओपी स्थापना गर्‍यो । भलै त्यहाँ त्यसअघि पनि नेपाल प्रहरीको चौकी थियो ।

भारतले सुरक्षा गस्ती बढाएपछि आफूहरूले लगातार संघीय सरकारलाई बीओपी स्थापनाका लागि दबाव दिइरहेको स्थानीय जनप्रतिनिधिहरू बताउँछन् ।

प्रजिअ पोखरेल सीमा विवादपछि नेपालले पनि आफ्नो क्षेत्रमा सुरक्षाकर्मी बढाएको बताउँछन् । उनी भन्छन्, ‘कसैको विरोधमा नभई हाम्रो सीमाना रक्षाका लागि सुरक्षाकर्मी खटेका छन् ।’

तम्बाकु भीरको पीर

गत सोमबार ब्याँस–२, घाँटीबगर क्षेत्रमा नेपाली सेनाले बनाएको घोडेटोबाट सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको उपस्थितिमा स्थानीयलाई हस्तान्तरण गरियो ।

यो बाटो नबन्दा ब्याँसीबासीले भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता थियो । नोवेल कोरोना भाइरस (कोभिड–१९) र कालापानी क्षेत्रको सीमा विवादलाई कारण बताउँदै भारतले नेपालीहरूलाई धार्चुला, गर्ब्याङ हुँदै छाङरु–तिङ्कर जाने बाटो प्रयोगमा रोक लगाएको थियो ।

तम्बाकु क्षेत्रमा आएको पहिरोका कारण अझै पनि नेपालीहरुलाई हिँड्नका लागि सहज भइनसकेको स्थानीय बताउँछन् । अध्यक्ष बोहरा भन्छन्, ‘सेनाले धेरै दुःख गरेर बाटो बनाएको छ, तर तम्बाकु भीर क्षेत्रको बाटो अझै हिँड्नलायक छैन ।’

प्रजिअ पोखरेलले तम्बाकु क्षेत्रको बाटो मर्मतका लागि पनि सेनालाई आग्रह गरिएको अनलाइनखबरलाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?