Comments Add Comment

कोरोना महामारीमा प्रदेश २ को काम अनुगमन गरेर फर्कियो सं‌सदीय उपसमिति

२० असोज, वीरगञ्ज । कोरोना महामारीको समयमा संघ, प्रदेश र स्थानीय सरकारले गरेका कामबारे निरीक्षण र अनुगमनका लागि प्रदेश २ मा पुगेको संसदीय उपसमितिको टोली फर्किएको छ ।

संघीय संसदको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उक्त उपसमितिले काठमाडौं उपत्यकाको अवस्था बुझेपछि सातवटै प्रदेशको अवस्था बुझ्ने क्रममा प्रदेश २ मा आएको थियो ।

संयोजक जीवनराम श्रेष्ठ, सांसद नमिता चौधरी र एकबाल मियाँको टोली प्रदेश नं १, २ र बागमती प्रदेशमा भएका कामको अध्ययन गर्न निस्किएको थियो । सोही क्रममा मंगलबार वीरगञ्ज आइपुगेको हो । वीरगञ्जमा सरोकारवालासँग भेटघाट गरेर टोली बागमती प्रदेशको राजधानी हेटौंडातिर गएको शाखा अधिकृत अमित यादवले जानकारी दिए ।

टोलीले पर्सामा जिल्ला संकट व्यवस्थापन समिति, वीरगञ्ज महानगरपालिका, नारायणी अस्पताल र नेशनल मेडिकल कलेज अस्थायी कोरोना अस्पताल (बाबा होटल आइसोलेसन)मा सरोकारवालासँग भेटघाट तथा छलफल गरेको थियो ।

कोभिड महामारी नियन्त्रणमाभएका कामबारे जानकारी लिन आएको टोलीले सीमा क्षेत्रको समेत अवलोकन गरेको प्रमुख जिल्ला अधिकारी आसमान तामाङले जानकारी दिए ।

कोभिड नियन्त्रणमा वीरगञ्ज महानगरपालिकाले निर्वाह गरेको भूमिका लगायतका विषयमा संसदीय उपसमितिले चासो राखेको नगरप्रमुख विजयकुमार सरावगीले बताए ।

उपसमितिका संयोजक श्रेष्ठले प्रदेशमा कोरोना महामारीको स्थिति बुझ्न, रोकथाम नियन्त्रण र उपचारकोका बारेमा के कस्तो बन्दोबस्ती मिलाइएको छ ? संघ, प्रदेश, र स्थानीय बीच समन्वय कसरी भएको छ ? आदि विषयमा सरोकारवालासँग छलफल गर्नुका साथै अस्पतालहरुको निरीक्षण समेत गरेको बताए ।

उपसमितिले प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा उपमहानगरपालिकाले गरेको कामको बारेमा जानकारी लिँदै जनकपुर अस्पताल र जानकी मेडिकल कलेजको पनि स्थलगत निरीक्षण गरेको छ ।

‘सीमा क्षेत्रमा एक्कासी कोभिड संक्रमण बढेकोले स्रोत साधनको तत्काल व्यवस्थापन गर्न नसकेको पायौं । यसले स्वास्थ्य क्षेत्रको अवस्था कमजोर छ भन्ने देखाएको छ । कोभिड महामारीलाई प्रदेश २ मा क्रमशः व्यवस्थित गर्दै गरेको पायौं’ उपसमिति संयोजक श्रेष्ठले भने ‘स्वास्थ्य सेवाको अवस्था कमजोर देखिएकोले तत्काल काम गर्न गाह्रो भएपनि अहिले सन्तोषजनक अवस्थामा आएको छ ।’

अहिले प्रदेश २ को जनजीवन सामान्य भएको देखिए पनि भोलि कस्तो अवस्था आउँछ भनेर अनुमान गर्न नसकिने बताए । प्रदेश २ मा सरकारी अस्पतालको अवस्था दयनीय रहेको, दरबन्दीअनुसार विज्ञ स्वास्थ्यकर्मी नभएको, आइसोलेसन वार्ड, भेन्टिलेटर पर्याप्त नभएको उपसमितिले बताएको छ ।

त्यस्तै निजी अस्पतालले २० प्रतिशत र मेडिकल कलेजले ३३ प्रतिशत बेड कोभिड उपचारमा छुट्याउनुपर्ने सरकारी निर्देशन पालना नभएको पनि उपसमितिका संयोजक श्रेष्ठले बताए ।

पर्सामा गर्भवती, शल्यक्रिया, डायलायसिस विरामी संक्रमित हुँदा उपचारमा समस्या देखिएकोले तत्काल व्यवस्थापन गर्नुपर्ने देखिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment