Comments Add Comment

दुई तिहाइ काम सक्नुपर्ने बेला द्रुतमार्गको प्रगति ११ प्रतिशत

२० भदौ, काठमाडौं । चार वर्षभित्र निर्माण सक्ने भन्दै आर्थिक वर्ष २०७३/०७४ जेठमा निर्माण थालिएको काठमाडौं-तराई द्रुतमार्ग (फास्ट ट्रयाक)मा अहिलेसम्म ११.११ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ । सुरुको लक्ष्यअनुसार यो सुरुङमार्ग नेपाली सेनाले आगामी भदौसम्म सम्पन्न गर्नुपर्ने थियो ।

त्यसअनुसार काम भएको भए यो समयसम्म दुई तिहाइभन्दा बढी भौतिक प्रगति हासिन हुनुपर्ने हो । अब आयोजना आर्थिक वर्ष २०८०/०८१ आर्थात् निर्धारितभन्दा ३ वर्ष ढिलो गरी बनाइसक्ने नयाँ लक्ष्य निर्धारण भएको  छ ।

आयोजनामा अहिलेसम्म कुल खर्च गर्नुपर्ने मध्ये ९.५२ प्रतिशत मात्रै बजेट खर्च भएको संसदको विकास तथा प्रविधि समितिमा सेनाले बुझाएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदन अनुसार जग्गा अधिग्रहण, रुख काटन, सर्भे तथा डिजाइन, सडक निर्माण, अन्तर्राष्ट्रिय सुरुङमार्ग निर्माण, पुल निर्माण र एक्सप्रेस-वे निर्माण लगायतका कुनै पनि काममा शत प्रतिशत प्रगति हासिल भएको छैन ।

आयोजनाले ढुंगा माटोको कटिङमा ७२.३४ प्रतिशत काम सकाएको छ । ढुंगामाटो फिलिङको काम ४६.३९ प्रतिशत, मेसिनरी स्ट्रक्चरको काम ४६.३१, रिटेनिङ वालको काम १०..२९, पाइप तथा कल्भर्ट निर्माणको काम ३२.२ प्रतिशत सकिएको आयोजनाले जनाएको छ  ।

बक्स कल्भर्टको काम ४.७६ प्रतिशत, ग्याबिन भर्ने काम ६.३२ प्रतिशत, रुख काटानको काम ९३.८२ प्रतिशत र जग्गा प्राप्तिको काम ९६.७७ प्रतिशत मात्रै भएको छ ।

७२ किलोमिटरको द्रुतमार्गमा १०.५९ प्रतिशत खण्डमा सुरुङमार्ग र ६.४१ प्रतिशत खण्डमा पुल बन्नुपर्छ ।

सेनाले खोकनाको प्रस्थान विन्दुदेखि चोभार आर्क बि्रजसम्मको १२ सय मिटर लिंक रोड बनाउन काम थालेको छ । तर, त्यसमा पनि स्थानीयको अवरोध छ ।

मख्खुबेसी, सिस्नेरी, महादेवटार, लेनडाँडा, बुदुने, राजदमार र निजगढमा माटो काट्ने र पुर्ने काम भइरहेको छ ।

सुरुङमार्ग निर्माणका लागि परामर्शदाता छनोट भएर जिओफिजिकल कार्य सकेर रिपोर्ट तयार गर्ने काम भइरहेको छ । सुरुङ बनाउने निर्माण कम्पनी छनोट गर्न प्रारम्भिक योग्यता निर्धारणका लागि प्रक्रिया अघि बढेको छ । २७ वटा कम्पनीले यो ठेक्का प्रक्रियामा भाग लिएका छन् । दुई वटा प्याकेजमा ३ वटा सुरुङको निर्माण अघि बढाउन लागिएको छ ।

द्रुतमार्गमा बन्ने पुल निर्माणका लागि निर्माण कम्पनी छनोट गर्न मूल्यांकन चलिरहेको छ । आयोजनाले काम सहज बनाउन विभिन्न स्थानमा १२ वटा बेलिबि्रज जडान गर्दैछ । त्यसमध्ये २ वटा पुल जोडेर सकिएको छ । यस्ता पुल जोड्न एब्युटमेन्ट (दुईतर्फ अड्याउने खब्बा) बनाउने काम चलिरहेको छ ।

आयोजनाले वितरण गर्नुपर्ने १६ प्रतिशत मुआब्जा अझै स्थानीयले बुझेका छैनन् । खोकनाबासीले प्रस्थान विन्दु नै परिवर्तन गर्न माग गरेका छन् भने कतिपयले मुआब्जाको दर चित्त नबुझाएर रकम बुझेका छैनन् ।

आयोजनाले छपान भएर पनि ११ हजार ६५७ वटा रुख अझै काटेको छैन । यद्यपी अहिलेसम्म २७ हजार ७ वटा रुख काटिसकेको छ ।

यो वर्ष आयोजनाले ८ अर्ब ९३ करोड बजेट पाएको छ । यो वर्ष आयोजनाले सुरुङमार्ग निर्माणको काम थाल्ने, ८०७ रोपनी जग्गा अधिग्रहण गरिसक्ने लगायतका लक्ष्य निर्धारण गरेको छ ।

आयोजनाले द्रुतमार्गलाई ११ .भागमा विभाजन गरेर काम गरिरहेको छ । आयोजनाले सुरुङमार्ग, पुल, एक्सप्रेस-वेको निर्माण र सडकमा पहिरो झर्न रोक्ने गरी संरचना निर्माणको काम एकैपटक अघि बढाउने योजना बनाएको छ ।

आयोजनाले मुआब्जा बुझ्न बाँकी जग्गाधनी सम्पर्कमा नआउँदा समस्या भएकोे बताएको छ । जग्गाको मूल्यांकन रकमलाई कतिपय जग्गा धनीले चित्त बुझाएका छैनन् । कतिपय जग्गा धनीले मुआब्जाका लागि आवश्यक कागजात जुटाउन पनि छैनन् । गुठी जग्गाको कागजात गुठी संस्थानबाट समयमै उपलब्ध हुन नसकेको जानकारी पनि सेनाले दिएको छ ।

सम्बन्धित नापी र मापलपोत कार्यालयबाट सरकाकाके नाममा आएको जग्गाको पुर्जा बनाउन पनि ढिलाइ भएको छ । ललितपुर २१ खोकनाको वडा कार्यालयले जग्गा धनीलाई जग्गा सिफारिसको कागजात बनाइदिन आनाकानी गरेको पनि सेनाको गुनासो छ ।

कोभिड-१९को महामारी सुरु भएपछि लकडाउनका कारण आयोजनाको अधिकांश निर्माण साइट बन्द भएका छन् । केही साइटमा मात्रै अहिले काम भइरहेको नेपाली सेनाले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment