Comments Add Comment

पार्टनर भिसाका लागि अस्ट्रेलियामा अंग्रेजी भाषा अनिवार्य गर्ने प्रस्ताव

२२ असोज, काठमाडौं । अस्ट्रेलियाले आफ्नो मुलुकका बासिन्दासँग विवाह गरी (पार्टनर भिसामा) आउन चाहने मानिसका लागि अंग्रेजी भाषा परीक्षा अनिवार्य पास गर्नु पर्ने तयारी गरेको छ । यो विवादित नियम संसदबाट पारित भएको अवस्थामा सन् २०२१ को मध्यदेखि अस्ट्रेलियामा पार्टनर भिसामा जान चाहने मानिसहरुले अनिवार्य अंग्रेजी भाषा परीक्षा पास गर्नुपर्ने हुन्छ ।

अहिले प्रस्ताव गरिएको यो नियमले पार्टनर भिसाको आवेदन दिने व्यक्तिको पार्टनरले पनि अंग्रेजीमा आफ्नो दक्षता साबित गर्नुपर्ने हुन्छ । आलोचकहरुले सरकारले अघि सारेको यो नियमलाई विभेदपूर्ण रहेको बताएका छन् । साथै उनीहरुले गैर–पश्चिमा मुलुकहरुका नागरिक र उनीहरुको परिवारलाई विभेद हुने गरी यो नियम ल्याइएको बताएका छन् । सरकारले भने सामाजिक सौहार्दताका लागि यो नियम आवश्यक रहेको बताएको छ ।

अस्ट्रेलियाका आप्रवासन मन्त्री एलन टुड्जले अस्ट्रेलिया पार्टनर भिसामा आउन चाहने मानिसले आधारभूत अंग्रेजी जान्नुपर्ने वा अंग्रेजी जान्नका लागि उचित प्रयास गरेको हुनुपर्ने व्यवस्था गरिएको बताएका छन् ।

अहिले अस्ट्रेलियामा काम गर्न र अध्ययन गर्न चाहनेका लागि मात्र अंग्रेजी भाषाको परीक्षण अनिवार्य गरिएको थियो । अस्ट्रेलियाको नागरिकता लिन भने अंग्रेजी भाषाको परीक्षणमा उत्तीर्ण हुनुपर्ने व्यवस्था गरिएको थियो ।

अस्ट्रेलियामा करिब २० प्रतिशत मानिसहरु घरभित्र अंग्रेजी बोल्दैनन् । सिड्नी, मेलबर्नजस्ता ठूला सहरमा भने यो संख्या ३५ प्रतिशतभन्दा धेरै छ । आप्रवासन मन्त्री टुड्जका अनुसार अहिले अस्ट्रेलियामा करिब १० लाख मानिस राम्रोसँग अंग्रेजी बोल्न जान्दैनन् । जसका कारण उनीहरुलाई काम सामाजिक गतिविधिको पहुँच सीमित बनेको उनको भनाइ छ ।

उनका अनुसार यो नियमले आफ्ना पार्टनरलाई नियन्त्रणमा राख्ने वा शोषण गर्नेजस्ता कार्य रोक्न पनि यसले सहयोग पुग्नेछ । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मौरिसनले भने अस्थायी भिसामा अंग्रेजी परीक्षणको कक्षा पास नगरी आए पनि उनीहरुले अस्ट्रेलियामा अनिवार्यरुपमा अंग्रेजी कक्षा लिनुपर्ने बताएका छन् । अन्यथा उनीहरुले स्थायी बसोबासको अनुमति पाउने छैनन् ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment