
२२ असोज, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्याक प्रेम चलाउनेमाथि भएको कुटपिटको विरोधमा बिहीबार प्राध्यापकहरुले उपकुलपतिको कार्यालय घेराउ गरेका छन् ।
नेपाल प्रगतिशील प्राध्यापक संगठन र नेपाल राष्ट्रिय प्राध्यापक संगठनमा आवद्ध ७० भन्दा धेरै प्राध्यापकले ४५ मिनेट उपकुलपति कार्यालय घेराउ गरे । असोज २० गते कीर्तिपुरस्थित विश्वविद्यालयको हाताभित्रै एक समूहले उपप्राध्यापक चलाउनेमाथि सांघातिक आक्रमण गरेको थियो ।
तीन दिनसम्म उक्त घटनामा संलग्न पक्राउ नपरेको भन्दै प्राध्यापकहरुले यस घटनालाई विश्वविद्यालयले गम्भीर रुपमा लिई दोषीलाई कानुनको दायरामा ल्याउन माग गरे ।
नेपाल राष्ट्रिय प्राध्यापक संघका सदस्य गंगा डीसीले आफ्ना कर्मचारीमाथि आक्रमण हुँदा त्रिवि नेतृत्व के गरिरहेको छ भनेर जवाफ माग्न उपकुलपति समक्ष गएको बताए ।
प्राध्यापकहरुले उपकुलपति धर्मकान्त बाँस्कोटालाई ज्ञापनपत्र बुझाउँदै दोषीलाई कानुनको दायरामा ल्याउन विश्वविद्यालयले पहल नगरे अरु आन्दोलनका कार्यक्रम पनि ल्याउने जानकारी गराएको डीसीले बताए ।
ज्ञापनपत्र बुझ्दै उपकुलपति बाँस्कोटाले दोषीलाई कारबाहीका लागि विश्वविद्यालयले पहल गरिरहेको र दोषी उम्कन नदिने प्रतिवद्धता जनाएका थिए ।
हेर्नुहोस् तस्वीरहरु
तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर
प्रतिक्रिया 4