Comments Add Comment

दक्षिण कोरियामा कन्ट्याक्ट ट्रेसिङका अधिकारीसँग झुटो बोल्ने शिक्षकलाई ६ महिना जेल

Photo Credit : Yonhap

२२ असोज, काठमाडौं । कन्ट्याक्ट ट्रेसिङमा गएका अधिकारीलाई झुटो विवरण दिएको आरोपमा दक्षिण कोरियामा एक शिक्षकलाई ६ महिना जेल सजाय सुनाइएको छ । कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित भएका शिक्षकले कन्ट्याक्ट ट्रेसिङका लागि गएका अधिकारीहरुलाई सही विवरण दिएका थिएनन् । २४ वर्षीय शिक्षकले समन्वय नगरेका कारण ८० जना मानिसमा यो संक्रमण फैलिएको भन्दै अदालतले उनलाई अदालतले ६ महिनाको जेल सजाय तोकेको हो ।

कन्ट्याक्ट ट्रेसिङमा गएका अधिकारीहरुलाई उनले आफू बेरोजगार रहेको बताएका थिए । जबकी उनी पश्चिमी सोलको इन्चेओनमा रहेको एक निजी विद्यालयमा पढाउँथे । अघिल्लो दिन मात्र पनि उनी विद्यालयमा पढाउन गएका थिए ।

शिक्षकले अदालतमा आफ्नो गल्ती स्वीकार गर्दै आफूले उक्त झुटको विषय यति गम्भीर होला भनेर नसोचेको बताएका थिए । कोरोना नियन्त्रणको मामिलामा दक्षिण कोरिया एक सफल मुलुक हो । सुरुआतमा नै दक्षिण कोरियाले संक्रमण नियन्त्रणका लागि व्यापक मात्रामा कन्ट्याक्ट ट्रेसिङ र परीक्षणको काम गरेको थियो । जसको कारण दक्षिण कोरियामा कोरोना नियन्त्रणमा आएको थियो । बिहीबार सार्वजनिक गरिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा दक्षिण कोरियामा ६९ नयाँ संक्रमित थपिएका छन् । यससँगै दक्षिण कोरियामा समग्र संक्रमितको संख्या २४ हजार ४२२ पुगेको छ । त्यस्तै अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या पनि ४२७ पुगेको छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment