Comments Add Comment

हप्ता दिनभित्रै नेकपा एकताको बाँकी काम टुंग्याइने

२२ असोज, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बाँकी एकता प्रक्रिया हप्ता दिनभित्रै टुंग्याउने गरी गृहकार्य गर्न नेताहरु सहमत भएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार दुई अध्यक्ष र महासचिवबीच लामो समय चलेको छलफलमा हप्ता दिनभित्रै एकताको बाँकी काम टुंग्याउने सहमति जुटेको हो ।

अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव बिष्णुप्रसाद पौडेल बीच बालुवाटारमा साढे तीन घण्टा बढी छलफल चलेको थियो । छलफलमा स्थायी कमिटी बैठकको म्याण्डेटअनुसार, एकता प्रक्रिया टुंग्याउने नेताहरु सहमत भएका छन् ।

पार्टी एकताको बाँकी काम असोजभित्रै टुंग्याउने स्थायी कमिटी बैठकले निर्णय गरेपछि मस्यौदा तयार पार्न असोज ६ मा बसेको सचिवालय बैठकले दुई अध्यक्ष र महासचिवलाई जिम्मा दिएको थियो । ‘असोजभित्रै एकताको बाँकी काम टुंग्याउन त्यसैअनुसार गृहकार्य गर्नेगरी छलफल सकियो’, बैठक स्रोतले भन्यो । स्रोतका अनुसार, अब लगातार एकताको बाँकी काम टुंग्याउन छलफल हुनेछ ।

‘दुई अध्यक्ष अरु नै विषयमा व्यस्त भएकाले स्थायी कमिटी र सचिवालयको म्याण्डेटअनुसार काम हुन सकेको थिएन । तर, अब एकताको प्रक्रिया यो हप्ताभित्रै टुंगिन्छ’, एक सचिवालय सदस्यले भने ।

अध्यक्षद्धयको बैठकमा आम चासको विषय रहेको मन्त्रिपरिषद् पुनर्गठनको विषयले प्रवेश नै पाएन ।

एकता टुंग्याउन कठिन

दुई अध्यक्ष ओली–प्रचण्ड र महासचिव पौडेल एक हप्ताभित्र एकताको बाँकी काम टुंग्याउने सहमत भएपनि सजिलो भने देखिदैन । २०७५ जेठ ३ मा एमाले र माओवादी बीच एकीकरण हुँदा तीन महिनाभित्रै एकता प्रक्रिया टुंग्याउने सहमति जुटेको थियो । तर त्यो प्रक्रिया अझै पूरा भएको छैन ।

प्रदेश, जिल्ला र जनसंगठनको एकता टुंग्याउन नै वर्ष दिन लागेको थियो । अझै कतिपय जनसंगठनको एकता बाँकी नै छ । भदौ २६ मा सम्पन्न स्थायी कमिटी बैठकले केन्द्रीय आयोग, केन्द्रीय सल्लाहकार परिषद्, जेष्ठ कम्युनिस्ट मञ्च, पोलिटब्यूरो, केन्द्रीय विभाग, प्रदेश र स्थानीय तहका कमिटी, जनवर्गीय संगठन र प्रवास क्षेत्रको संगठनात्मक एकीकरण असोजभित्रै टुंग्याउने निर्णय गरेको छ । अर्थात्, एकता प्रक्रिया टुंग्याउनुपर्ने क्षेत्र अझै धेरै छ ।

संसदीय दलको कार्यालय, निजामति कर्मचारी, सम्पर्क मञ्च, शिक्षक संगठन लगायत अझै पनि एमाले र माओवादीको समानान्तर संगठन तथा गतिविधि चलिरहेकै छ । अझ स्थायी कमिटी बैठकले पहिले नै टुंग्याइएका जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेकाले हप्ता दिनभित्र निर्णय लिन सजिलो देखिँदैन । एकीकरण प्रक्रियाका कामहरु टुंग्याउँदै चैतमा महाधिवेशन गर्न अझै धेरै कसरत गर्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment