Comments Add Comment

हवाई उडान माग्न आएका राजदूतलाई इन्ट्री प्वाइन्टको काउन्टर

२३ असोज, काठमाडौं । नेपालका लागि भारतीय राजदूतको जिम्मेवारी सम्हालेको सात महिनापछि विनयमोहन क्वात्रा शुक्रबार संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईलाई भेट्न सिंहदरबार पुगे ।

शिष्टाचार भेट भन्दै पुगेका कोत्राको एजेण्डा झण्डै ६ महिनादेखि नेपाल भारत हवाई उडान सुचारु गर्नु थियो ।

चैतमा सबै अन्तर्राष्ट्रिय उडान रोकेको नेपालले पछिल्लो समय अन्तराष्ट्रिय उडान सुचारु गरेको छ । तरभारतमा कोरोना संक्रमण उच्च भएकाले नेपालले तत्काल नियमित उडान सुरु गरेको छैन ।

स्रोतकाअनुसार राजदूत कोत्रा नियमित उडान नभएपनि ‘एयर ट्राभल बलल’ सुरु गर्नुपर्नेमा जोड दिएका छन् । ‘दिल्लीस्थित नेपाली दूताबासले पनि यो सुरु गर्नुपर्ने बताएको छ, तर हामीले निर्णय गरिसकेका छैनौं’ मन्त्रालय स्रोतले भन्यो, ‘यसबारे हामी अझै छलफलकै चरणमै छौं ।’

भेटमा पर्यटनमन्त्री भट्टराईले भने एयर रुटको मुद्दा उठाएका छन् । नेपालले भैरहवा र महेन्द्रनगरमा इन्ट्री पनि र नेपालगञ्जमा इन्ट्री र एक्जिट दुबै प्वाइन्ट दिन भारतसँग लबिङ गर्दै आएको छ ।

२०७५ असार पहिलो साता काठमाडौंमा भएको वार्तामा महेन्द्रनगर, नेपालगञ्ज, जनकपुर र विराटनगर रुट थप्न नेपाल र भारतबीच लिखित सहमति पनि भएको हो । तर भारत सहमतिबाट पछि हटेको छ र विविध कारण देखाएर नेपाललाई पश्चिमतर्फ हवाई रुट दिन आनाकानी गर्दै आएको छ ।

भैरहवाबारे २०१६ मै सहमति भएको थियो ।

यो रुट खुला गर्न दुबै देशले ‘टर्मिनल प्रोसिड्योर’ पुरा गरेर अन्तर्राष्ट्रिय हवाई उड्डयन संगठन (आईकाओ)बााट स्वीकति लिनुपर्छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार भैरहवाबाट प्रवेश विन्दु लिनका नेपालतर्फको रुट डिजाइन गरेर यताका विवरण भारतमा पठाइएको छ । तर भारतले अहिलेसम्म भैरहवाको रुट आईकाओबाट पुरा गर्नुपर्ने प्रक्रियाहरु अघि बढाएको छैन ।

जबकी गौतमबुद्ध विमानस्थल यसैवर्षबाट सञ्चालनमा ल्याउने लक्ष्यसहित अन्तिम चरणको काम भइरहेको छ ।

नेपाली अधिकारीहरुका अनुसार गौतमबुद्धसँगै पोखरा विमानस्थलमा आउने विमानका लागि नेपालगञ्ज र महेन्द्रनगर रुट उपयुक्त हुन्छ । तर भारतले यस क्षेत्रमा सैन्य हवाई क्याम्पहरु भएकाले असुरक्षा हुने र एयर ट्राफिक धेरै हुने भन्दै आनाकानी गरिरहेको छ’ एक अधिकारीले बताए ।

किन चाहिन्छ पश्चिम रुट ?

हवाई विभागका पूर्वमहानिर्देशक वीरेन्द्र देउजाकाअनुसार हाल भारतीय एयर स्पेस हुँदै नेपालका लागि अन्तर्राष्ट्रिय उडान भर्ने विमान सिमराबाट छिर्छन् । स्पेस करिब सय ‘नउटिकल माइल’ बाट चाहिन्छ, २७ हजारबाट फिटबाट ओर्लिन सुरु गर्नुपर्छ । अहिले भारतीय एयर स्पेसबाट ओर्लिनु पर्दा उसैको एयर ट्राफिक कन्ट्रोलरलाई सोध्नुपर्छ । त्यसको कन्ट्रोल कोलकताले गरिरहेको छ ।

अहिले नेपाल आउने विमानले ‘म अब ओर्लिन लागेँ है’ भनेर कोलकतामा क्लियरेन्स माग्नुपर्छ । उसले ‘क्लियर टु ल्यान्ड, क्लियर टु डिसेन्ट’ भनेर अनुमति दिनुपर्छ ।

भैरहवाबाट एयर स्पेस लिँदा पनि लुम्बिनीको विमानस्थलमा ओर्लिन यस्तै अवस्था कायमै रहने छ । किनभने भैरहवा भारतको सीमा नजिकै छ । भैरहवाबाट एयरस्पेस लिँदा विमान अवतरण गर्ने अन्तिम समयसम्म पनि सबै कन्ट्रोल भारतको कन्ट्रोलरले गर्नुपर्छ ।

यदि नेपालले मागेको नेपालगञ्ज र महेन्द्रनगर रुट पाउने हो भने यो एकदसम्म हट्छ । नेपाली विमानहरु भारतीय एयर स्पेस प्रयोग गर्दै नेपाली आकासमा प्रवेश गरेपछि मात्र ओर्लिन सुरु गर्दा हुने उड्ययन अधिकारीहरु बताउँछन् ।

मौसम खराब भयो भने विमानलाई आकासमै होल्ड गर्नुपर्छ । यदि भारतले महेन्द्रनगर रुट दिएको भए तराई भूभागमा जहाज होल्ड गराउन सहज हुन्थ्यो । तर, भैरहवा रुट लिँदा विमान होल्ड गराउन भारतकै स्पेस प्रयोग गर्नुपर्ने हुन्छ ।

ल्यान्ड गर्ने बेलामा एयरपोर्ट नजिकै एकदमै बाक्लो बादलको ‘लेयर’ भयो भने पनि माथि फर्किनुभन्दा त्यहीँ ‘सर्कल’ गर्न सकिन्छ । त्यसबेला नजिक २० नउटिकल माइल जतिको ठाउँ भएन भने भारतकै एयर स्पेसमा जानुपर्ने अवस्था हुन्छ ।

भैरहवा एयरपोर्टमा समस्या आउँदा विमानले भारतकै स्पेसमा सर्कल गर्नुपर्ने अवस्था आउनेछ । त्यसैले भैरहवा एयरपोर्टकै लागि पनि यो हवाई रुट त्यति उपयुक्त नभएको ठम्याई उड्डयन विज्ञको छ ।

नेपालमा अहिले चीनबाहेक अन्य क्षेत्रमा अन्तर्राष्ट्रिय उडान भर्ने विमानहरु सिमराबाट भित्रिने गरेका छन् । नपालबाट बाहिरिने विमानले भने महेन्द्रनगर, भैरहवा, जनकपुर विराटनगरको जुनसकै रुट प्रयोग गरेर भारत प्रवशे गर्न सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment