Comments Add Comment

सरकार र डा. केसीबीच हुनै लागेको सहमति भाँडियो

शिक्षामन्त्रीले दुरासय राखे : डा. क्षेत्री

२३ असोज, काठमाडौं । वार्ता टोलीस्तरमा भएको सहमतिलाई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अस्वीकार गरेपछि सरकार र डा. गोविन्द केसीबीच हुनै लागेको सहमति भाँडिएको छ ।

६बुँदे माग राखेर २६ दिनदेखि अनसन डा. केसी पक्ष र सरकारी टोली लगभग सहमतिमा पुगेको थियो । सहमतिको मस्यौदा सरकारी वार्ता टोलीका संयोजक एवं शिक्षा सचिव गोपी मैनालीले प्रधानमन्त्री केपी शर्मा ओलीसम्म पुर्याएका थिए ।

स्रोतका अनुसार सरकारी पक्षबाट त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) पदाधिकारी लगायतको नियुक्तिको मापदण्ड ऐनमा समावेश नहुँदासम्म हुने नियुक्तिबारे सहमतिको मस्यौदाको भाषामा थोरै हेरफेर गरेको थियो । अरु सबै विषयमा वार्ता टोलीबीच भएको सहमति नै सदर भएको थियो ।

त्यही परिमार्जित विषयमा दुई वार्ता टोली बसेर टुंगो लगाउने र डा. केसीको अनसन शुक्रबार नै तोडाउने तयारी थियो । त्यही सन्देश पाएको डा. केसीको वार्ता टोली दिनभर तयारी अवस्थामा थियो ।

तर सरकारी टोली वार्तामा आएन । स्रोतका अनुसार सरकारी वार्ता टोलीका संयोजक मैनालीले लाइन मिनिस्टरलाई देखाएर मात्र सहमतिलाई आौपचारिकता दिन चाहे, तर मन्त्रीले साँझ ७ बजे मात्र समय दिए । त्यसपछि पनि मन्त्री पोखरेलले दुई वार्ता टोलीले बनाएको मस्यौदामा थप संशोधन गरे ।

उनले चिकित्सा शिक्षा ऐन संशोधनसम्बन्धी सहमतिमा डा. केसीसँग सहमति भएको मिति हटाइदिए । साथै अहिले गर्न लागिएको सहमतिलाई मन्त्रिपरिषद बैठकमा लैजाने भन्ने बुँदा पनि हटाउन लगाए ।

त्यही कारण हुनै लागेको सहमति भाँडिएको छ । स्रोतले भन्यो, ‘वरिष्ठताका आधारमा पदाधिकारी नियुक्त गर्ने बुँदामा समेत सहमति भइसकेको थियो, तर एकाएक सहमति भाँडियो ।’

सहमतिको मस्यौदामा संशोधन गरेका शिक्षामन्त्री त्यसपछि सरकारी वार्ता टोलीको सम्पर्कमै नआएको बताइएको छ ।  डा. केसीको वार्ता टोलीका सदस्यले सम्पर्क गर्न खोज्दा समेत उनी सम्पर्कमा नआएपछि सहमतिका लागि शुक्रबार अबेरसम्म भएको प्रयास असफल भएको छ ।

डा. केसीको तर्फबाट बनेको वार्ता टोलीका संयोजक डा. जीवन क्षेत्रीले पनि वार्ता टोलीस्तरमा भएको सहमतिबाट सरकार पछि हटेको बताएका छन् । उनले भने, शिक्षामन्त्री गिरिराजमणि पोखरेलले दुरासय राखे, डा. केसी मरेपनि मरोस् भन्ने जस्तो गरे । समझदारीबाट पछाडि हट्ने काम भयो ।’

यद्यपि प्रधानमन्त्री स्तरबाट हस्तक्षेप गरेर वार्ता गर्ने हो भने अझै सहमतिको सम्भावना रहेको स्रोतको दाबी छ । डा. केसीको टोलीले पनि आफूहरु सदा तयार हुने बताएको छ । संयोजक क्षेत्रीले भने, तत्काल होला भनेर धेरै आशावादी छैनौं । तर हामी जुन कुनै बेला वार्तामा बस्न तयार छौं ।’

साथै सोलिडारिटी फर डा. केसी, नेपाल चिकित्सक संघ लगायतले कडा आन्दोलन गर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment