+
+

देउखुरीको लमही-कोइलाबास सडक निर्माण सकियो, भारतसँग छोट्टियो प्रदेश राजधानीको दुरी

विनोद घिमिरे विनोद घिमिरे
२०७७ असोज २४ गते ११:२३

२४ असोज, काठमाडौं । नेपाल–भारत जोड्ने दाङ देउखुरीको लमही–कोइलाबास सडकखण्ड निर्माणको काम सकिएको छ ।

यो हुलाकी सडक बनेपछि लमहीबाट कोइलाबाससम्मको यात्रा सहज र छिटो भएको छ । सडक कालोपत्रे भएपछि ४५ मिनेटमै लमही–कोइलाबास आउ–जाउ गर्न सकिने स्थानीय बताउँछन् ।

लुम्बिनी प्रदेशको राजधानी रहने दाङको देउखुरी उपत्यकाबाट भारतसँग जोडिएको सबैभन्दा नजिकको नाका कोइलाबास हो । लमही बजारबाट कोइलाबाससम्मको दुरी जम्मा साढे ३३ किलोमिटर छ जबकी कपिलवस्तुको कृष्णनगर पुग्न ८० किलोमिटर र बाँकेको नेपालगञ्ज पुग्न १२५ किलोमिटर दुरी पार गर्नुपर्छ ।

सन् २०१७ को जुन महिनाबाट लमही–कोइलाबास सडक निर्माणको काम सुरु गरिएको थियो । सन् २०१९ को डिसेम्बर महिनामा काम सक्ने लक्ष्य थियो । तर झण्डै १० महिना ढिलो सडक निर्माणको काम सम्पन्न भएको छ ।

सडक निर्माणको जिम्मा कुमार कालिका जेभीले ७६ करोडमा पाएको थियो । कम्पनीका साइट इञ्चार्ज राजेन्द्र श्रेष्ठले भने, ‘सम्झौता भएको ६ महिनासम्म बिभिन्न कठिनाइका कारण काम सुरु गर्न सकेनौं । अहिले सबै काम सकेका छौं ।’

सडक निर्माण सम्पन्न भइसके पनि दुई वर्षपछि मात्रै सरकारलाई हस्तान्तरण गरिने श्रेष्ठले बताए । दुई वर्षसम्म सडक भत्किएमा वा बिग्रिएमा त्यसको मर्मत सम्भार कम्पनीले नै गर्ने उनले बताए ।

लमही–कोइलाबास सडक निर्माणको क्रममा मुआब्जामा विवाद भएको थियो । सडक निर्माण सम्पन्न भइसक्दा पनि सेम्रहवा, बोधिपुर, कक्रहवा र कोइलाबासका कतिपय नागरिकले अझै मुआब्जा नपाएको हुलाकी सडक सहयोग समन्वय समितिका अध्यक्ष भेषराज पाण्डेले बताए ।

भारतको तुलसीपुरसँग जोडिएको दाङको कोइलाबास विगतमा दाङ र त्यस आसपासका जिल्लाका लागि मुख्य व्यापारिक नाका थियो । मानिसहरु गढवा हुँदै घोडा, राँगामा सामान ओसारपसार गर्दथे । तर पूर्वपश्चिम राजमार्ग बनेपछि कोइलाबास नाका सुकेको थियो । हाल कोइलाबासका थुप्रै भौतिक संरचनाहरु खण्डहरमा परिणत भएका छन् । बाटो पिच बनेकाले अब फेरि कोइलाबासमा चहलपहल बढ्ने अपेक्षा दाङवासीले गरेका छन् ।

लेखकको बारेमा
विनोद घिमिरे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?