पाँचथर जिल्लाको राँके स्थायी घर भएका कृष्णकुमार नेम्वाङ दम्पती रोशी गाउँपालिका वडा नं ९ रजबासमा असेर खुवा घोट्ने काम गर्दै आएका छन् ।
एक वर्ष अघिदेखि उनीहरुको काम दैनिकरूपमा दूध भर्ने र खुवा घोट्ने हो । पहिला पनि मजदुरी नै गरेर जीवन गुजारा गर्दै आएका उनीहरु रजबासकै स्थानीयसँग चिनजान भएपछि कामको सिलसिलामा यहाँ आइपुगेका हुन् ।
अहिले नेम्वाङ दम्पती घोटेको खुवा व्यवस्थित ढङ्गले राख्ने, दूध घोट्ने र दाउराको व्यवस्थापन गर्न लगाउने काम पनि गर्छन् । ‘कहिलेकाहीँ अलि लामो समयसम्म गाडी नचलेको बेला छुर्पी बनाएर सुकाउने गर्नुपर्छ’, उनले भने, ‘अहिलेसम्ममा काम राम्रै चलिरहेको भए पनि कोरोनाको कारण बजारीकरणमा समस्या भएको भन्ने कुरा आएको छ ।’
खुवा उत्पादन केन्द्रमा खासै समस्या नभए पनि बिक्रीका लागि समयमा व्यवस्था नहुँदा समस्या निम्तिने गरेको उनी बताउँछन् । खुवा केन्द्र सञ्चालक अन्यत्र बसे पनि आफूहरुले कोरोना कहरकै बीचमा काम गरिरहेको उनले बताए । सो ठाउँमा दैनिक १०० लिटरदेखि १५० लिटरसम्म दूध सङ्कलन हुने गरेको नेम्वाङले बताए ।
रोशी गाउँपालिका वडा नं ३ मसराङ्गी घर भएका राजकुमार थापा मगरले सो ठाउँमा दुई वर्ष अगाडिदेखि खुवा केन्द्र सञ्चालन गर्दै आइरहेका छन् । केही व्यक्तिलाई रोजगारीसमेत दिँदै आएका उनी पछिल्लो समयमा कोरोना महामारीको समस्याका कारण व्यवसाय सङ्कटमा परेको बताए ।
कोरोना सङ्क्रमणकै कारण विसं २०६० देखि आफ्नै गाउँ मसराङ्गीमा सञ्चालन गर्दै आएको खुवा उत्पादन केन्द्र बन्द भएको सात महिना भयो । उत्पादन भएको खुवा बजारसम्म लैजाने माध्यम नभएको र कहिलेकाहीँ बजारसम्म लगे पनि बिक्री वितरणमा समस्या आएपछि बन्द गर्नुपरेको थियो ।
उत्पादन भएको खुवा नियमितरूपमा बनेपामा ठेकेदारलाई दिने गरेको भए पनि बजार ठप्प भएका कारण पछिल्लो समयमा बिक्री नै नभएको उनले बताए ।
सो ठाउँमा पनि उनले दैनिक खुवा घोट्ने दुई जनासहित दाउरा ओसार्नेहरु गरी चार/पाँच जनालाई रोजगारी दिँदै आएका थिए । खुवा उत्पादन बन्द भएसँगै पाँच जनाको रोजगारीसमेत गुमेको उनले बताए । ‘व्यवसाय राम्रो चले पनि कोरोनाको कारण व्यवसाय सङ्कटमा परेको छ’, उनले भने, ‘अब पहिलाकै अवस्थामा ल्याउन धेरै कष्ट गर्नुपर्छ ।’
सो ठाउँमा उनले ६० हजार लगानीमा खुवा उत्पादन केन्द्र शुरु गरेका थिए । रजबासमा भने ३५ लाख रुपैयाँ लागतमा खुवा उत्पादन केन्द्र स्थापना गरेको थापा मगरले बताए । दुई ठाउँमध्ये रजवासको भने जसोतसो सञ्चालन भइरहेको उनको भनाइ छ । यसअघि त्यहाँ उत्पादन भएको खुवा चिस्यान केन्द्रमा राखेको अवस्थामा राम्रो व्यवस्थापन मिलाउन नसक्दा बिग्रेपछि बङ्गुरलाई दिनुपरेको उनले बताए । अहिले पछिल्लो समयमा रजबासमा थोरै मात्रमा खुवा बनाएर अरु छुर्पी बनाएर राखेको उनले बताए ।
जिल्लाको विकट गाउँमा व्यवस्थापनको हिसाबले दूध डेरीभन्दा खुवा व्यवसाय फस्टाएको छ । दूध डेरीमा भन्दा खुवा उत्पादन केन्द्रमा ६० पैसा बढी दिए पनि किसान खुशीका साथ खुवा बनाउने ठाउँमा दूध बेच्ने हुँदा खुवाको बजारीकरणको समस्याले व्यवसायी सङ्कटमा परेको बताउँछन् ।