Comments Add Comment

नेपथ्यमा पीसीआर जाँच्ने स्वास्थ्यकर्मीको भोगाइ

सेवा नै धर्म हो । यो मर्मलाई अनुसरण गरेर हामी चिकित्सा प्रयोगशालाकर्मीहरु आफ्नो ज्यानको पर्वाह नगरी अहोरात्र मानव जीवनको रक्षार्थ खटिएका हुन्छौं । झन् अहिले विश्व महामारीको रुपमा रहेको कोभिड–१९ को विद्यमान विषम परिस्थितिमा हाम्रो प्रयोगशाला सेवाको महत्व आम जनमानसमा स्पष्टरुपमा झल्किएको छ ।

समाजका हरेक वर्गका मुखमा आरडीटी, पीसीआर परीक्षण जस्ता शब्दहरु झुण्डिएको देख्दा हामी प्रयोगशालाकर्मीको कामको महत्व प्रष्ट भएको छ । अहिले यस्तो जटिल परिस्थितिमा हामी दिनरात, भोकप्यास नभनी दिनदिनै आफ्नो प्रयोगशालाको जाँच्ने क्षमता कसरी बढाउन सक्छौं भनी अनवरतरुपमा जुटिरहेका छौं ।

दिनकै समाचार हेर्दा, सुन्दा र पढ्दा संसारमा कोभिड–१९ संक्रमित कति छन्, कतिले आफ्नोे अमूल्य ज्यान गुमाए भन्ने कुरा हाम्रै प्रयोगशालाभित्रको नमुना जाँच्ने क्षमताले जनाइरहेको छ ।

विश्व महामारीका रुपमा रहेको कोभिड–१९ ले सबैतिर तहल्का मच्चाइरहेका बेला नेपाल पनि अछुतो रहन सकेन र नेपालमा पहिलो कोरोनाको बिरामी सन् २०२० को जनवरीको १५ तारिखमा देखा परेको थियो ।

मैले स्मरण गर्न चाहेँ, नेपालमा पहिलो कोरोना जाँचका लागि उचित रिएजेन्टको अभावले गर्दा त्यो जाँचको लागि उक्त व्यक्तिको नमुना हङ्गकङ्गस्थित विश्व स्वास्थ्य संगठनको रिफरेन्स प्रयोगशालामा पठाइएको थियो । त्यतिबेला मानिसहरुमा एक किसिमको त्रास छाएको थियो । त्यस समयमा नेपालमा पनि कोरोना भाइरसको परीक्षण हुनुपर्छ भनेर स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर पहिलो पटक राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनवरी २६ मा परीक्षणको नेतृत्व लिएको थियो । त्यतिबेलादेखि नै हामी प्रयोगशालाकर्मीहरु सक्रिय रुपमा काम गरिरहेका छौं ।

जब नेपालमा कोराना संक्रमित दोस्रो व्यक्ति देखियो, त्यस समयमा जनमानस भयभीत हुन थाले र नेपाल सरकारले मार्च २४ देखि राष्ट्रलाई लकडाउन गर्ने निर्णय गर्‍यो । सबैतिर त्रास फैलिएको बेला हाम्रो मनमा पनि डरसँगै अनेकौ प्रश्न उब्जिरहेका थिए । मैदानमा उत्रिन लागेका योद्घाहरुको स्थिति कस्तो हुँदो हो ? हाम्रो स्थिति ठ्याक्कै त्यस्तै थियो । एकातिर परिवारको माया त अर्कोतिर मनमा डर, हामी कति पटक त के गर्ने के नगर्ने भन्ने कुरा सोच्नै सकेका थिएनौं । तर, पेशा नै स्वास्थ्यसँग सम्बन्धित भएकाले गर्दा दिनकै कामको चाप, थकान सहेर आफ्नो मनलाई सम्हाल्दै परीक्षणलाई निरन्तरता दियौं ।

यस्तैमा मे १६ मा कोभिड–१९ का कारणले भएको पहिलो मृत्युको समाचार आयो । मलाई अहिले पनि याद आउँछ, त्यो दिन डराई–डराई काममा छिरेको र आफ्ना सहकर्मीसँग मृत्युको कुरा साटेको ।

यसरी नेपालमा समेत आज मिति २०७७/०६/२१ सम्म आइपुग्दाकोरोना संक्रमित बिरामीको संख्या ९० हजार ८१४ र मृत्यु हुनेको संख्या ५६३ नाघिसक्यो ।

उच्च शिक्षा हासिल गरेर देश फर्कन खोज्दा पनि देशले सम्मानजनक पदको त के कुरा, झिना मसिना अवसर पनि प्रदान गर्न सकेको छैन । तिनै प्रयोगशाला वैज्ञानिकहरुले स्वदेशी माटोमा पसिना चुहाउन खोज्दा पनि नपाएर विदेशी भूमिमा नै पसिनाले सिंचन गरेर युगान्तकारी खोज अन्वेषण गरेका छन् । के हाम्रो देशका लागि यो ठूलो घाटा होइन र ?

जब देशमा लकडाउन शुरु भयो, तब सबैजना कोरोनाबाट सुरक्षित हुन आफ्नो परिवारसँग घरभित्रै यथेष्ट समय व्यतीत गर्न थाले । जुन, समयको माग पनि थियो । तर, हामी प्रयोगशालाकर्मीहरु आफ्ना परिवार बाल बच्चा नभनी असिन–पसिन भएर कहिले खाली पेट त कहिले फुक्को चिउराको भरमा घण्टौँसम्म शौचालय समेत प्रयोग नगरी, गर्मीको तापमा निथ्रुक्क भई मुखमा मास्क र फेससिल्ड लगाई जनताको सेवामा जुटिरह्यौँ र हाम्रो सो क्रम अहिलेसम्म यथावत् छ ।

अनुहारभरि लागेका मास्क र फेससिल्डका डोबहरु, पिपेटिङ्ग गर्दा–गर्दा खुत्रुक्क गलेका हातहरु सम्झिँदा अझै पनि आखाँबाट आँशु चुहिन्छ । अब त यी सबै कुरा हाम्रो दैनिकीको पर्याय नै भैसक्यो ।

हामीले कति समस्या भोग्नुपरेको छ, त्यसको कुनै लेखाजोखा छैन । स–साना कुराहरु, जस्तै : मास्क, पञ्जा, टिप्स लगायत पीपीईदेखि रिएजेन्ट जस्ता कुराहरुको जोहो गर्ने समस्या त साधारण नै भईहाले, त्यसमा पनि कामको खपिनसक्नु चाप, हरेक दिनको कामको थकान सबै सधैँ हाँसी–हाँसी अँगालिरह्यौँ । गर्वका साथ भन्न सक्छौँ कि हामी प्रयोगशालाकर्मीहरुकै कार्य क्षमता र दक्षताका कारण दुर्गम ठाउँहरुमा पनि कोरोनाको परिक्षण सम्भव भयो र आजका दिनसम्म पनि हाम्रो प्रयास निरन्तर छ र भविष्यमा पनि रहिरहनेछ ।

कोभिड–१९ त अहिले पो आयो । तर, योबाहेक केही दशक अघिदेखि र भविष्यमा पनि हामी जस्ता चिकित्सा प्रयोगशालाकर्मी कुनै पनि सर्ने वा नसर्ने रोगहरुको निदानका लागि सबैभन्दा अग्रमोर्चामा रहेको कुरा पुनःश्च विदित गराउन चाहें ।

आफ्नो व्यक्तिगत जीवन, घर–परिवार, बिदाका दिन र चाडपर्व पनि नभनी देश र जनतालाई आफ्नो बलबुता भन्दा पनि धेरै माथि उठेर उच्च मनोबलका साथ हामी रात दिन अविच्छिन्न रुपमा आफ्नोे कर्तव्य निभाइरहेका छौं । यस्तो अहम् भूमिका निर्वाह गर्दा–गर्दै पनि यथा अवस्थामा फगत रगत अनि अन्य बिकारजन्य नमूनाको सामान्य जाँच गर्ने साधारण मनुवाका रुपमा हामीलाई लिँदा मन चसक्क नहुने त कहाँ हुँदो हो र ?

चिकित्सकहरुले आफ्ना बिरामीलाई कुन रोग लागेको छ र कुन औषधि चलाउने भन्ने कुराको निर्धारण पनि हाम्रै प्रयोगशालामा गरिएका जाँचको नतिजामा भर पर्छ । यसरी नेपथ्यमा बसेर पनि बिरामीको औषधोपचारमा अकाट्य भूमिका निर्वाह गर्न सक्ने प्रयोगशालाकर्मीहरुलाई के हाम्रो समाज अनि सरकारले उच्च मूल्याङ्कन गरेको छ त ?

यो र यस्तै अनेकन प्रश्नहरुसहित मलगायत सबै प्रयोगशालाकर्मीहरुको मनमा उकुस–मुकुस भएको छ र मनोबलमा ह्रस आएको छ । यो सम्बन्धमा केही दृष्टान्तहरु दिन चाहन्छु ।

अस्ति भर्खरको कुरो हो, मेरो एकजना सहकर्मी साथीको पाँच बर्षे छोरालाई उहाँको एकजना पढेलेखेका नजिकका आफन्तले “तिम्रो मामु त हस्पिटलमा फोहोरी काम गर्नुहुन्छ नि बाबु” भनी सुनाउनुभएछ र संकोच मान्दै ती बालकले “कसरी ?” भनी सोध्दा जवाफमा “तिम्रो मामुले त अस्पतालमा कोरोनाको परीक्षण गर्नुहुन्छ, त्यो त फोहोरी काम हो नि” भन्ने कुरा आएछ ।

यो सुन्दा चेतनाको स्तरमा निर्दोष बालकको मनमा पर्न गएको नकारात्मक प्रभाव अनि प्रयोगशाला पेशालाई हेर्ने समाजको त्यो घृणित सोचलाई सम्झिँदा कति उत्साहका साथ भर्खर पखेटा फैलाएको मजस्तो प्रयोगशालाकर्मीको मनोबल गिर्दैन होला र ?

हाम्रो समाजका मानसिक दरिद्रता भएका केही कृतघ्न पात्रहरुले चिकित्सा प्रयोगशालाकर्मी लगायत अन्य स्वास्थ्यकर्मीहरुलाई क्वारेन्टाइनमा बस्ने कतिपय स्थानहरुमा बस्न नदिन अनेक प्रपञ्च रचे । भाडामा बसेका कतिपय त्यस्ता कोरोना योद्धाहरुलाई कोठा छाड्न समेत दबाव दिए ।

साँच्चै भन्नुपर्दा हामी सबैतिरबाट हेपिएका छौं ।

सर्वसाधारण जनमानसको त के कुरा, हामी हाम्रै अन्य स्वास्थ्यकर्मी मित्रबाट समेत नहेपिएका होइनौं । यस्तै अस्पताल प्रशासनले पनि प्रयोगशाला र त्यसका कर्मीलाई हेर्ने दृष्टिकोण अन्य स्वास्थ्यकर्मी भन्दा अलि फरक दर्जामा रहेको छ । भन्नु नै पर्दा अस्पतालको प्रमुख आयश्रोतको रुपमा रहेको ठाउँ हो प्रयोगशाला । तर, तलबकै कुरा गर्ने हो भने जोखिम मोल्ने प्रयोगशालाकर्मीको तलबले आफ्नोे परिवार धान्न नि धौ–धौ पर्ने स्थिति छ । झन् करार सेवामा लागेकाहरुले त आफ्नो निजी आवश्यकता पूरा गर्न पनि गाह्रो छ । ठूला–ठूला अस्पतालमा पनि प्रयोगशालाको लागि छुट्याइएको क्षेत्र कि त साह्रै साँघुरो कि त भर्याङ्ग मुनि छ ।

अन्तर्राष्ट्रिय नियमावली अनुसार विभिन्न जाँचका लागि प्रयोगशालाका विभिन्न संरचना हुनुपर्छ भन्ने कुरा श्याम–श्वेतमा मात्र रहेको देखिन्छ । यद्यपि यस संरचनामा कतै–कतै सुधार आएता पनि राजधानी बाहिरका ठाउँहरुमा त अझै नाजुक अवस्था छ ।

अब कुरा गरौं उच्च शिक्षाको ।

चिकित्सा प्रयोगशालामा स्नातक, स्नातकोत्तर, विधावारिधि गरेपश्चात् के हामीले आर्जन गरेको ज्ञान, सीप र आविष्कारको उच्च मूल्याङ्कन पाइरहेका छौं त ? के हामीले देश–बिदेशमा आर्जेको दक्षतालाई निर्धक्कताकासाथ लागू गर्न सकेका छौं त ? उत्तर आउँछ किमार्थ छैन ।

अहिलेको अवस्था नियाल्दा र हाम्रा अग्रजहरुलाई हेर्दा कामको अवसरको कमी, लोकसेवा आयोगले पनि नियमित विज्ञापन नगर्ने, कम तलबमा धेरै खटाउने र आधारभूत विज्ञानमा पनि फ्याकल्टीको अवसर दिदैँ नदिने जस्ता दुःखदायी परिस्थितिलाई मनन गर्दा कोही पनि आफ्नेै देशमा बसी आफ्नोे ज्ञानको उचित सदुपयोग गर्न सक्छन् भन्ने लाग्दैन ।

उच्च शिक्षा हासिल गरेर देश फर्कन खोज्दा पनि देशले सम्मानजनक पदको त के कुरा, झिना मसिना अवसर पनि प्रदान गर्न सकेको छैन । तिनै प्रयोगशाला वैज्ञानिकहरुले स्वदेशी माटोमा पसिना चुहाउन खोज्दा पनि नपाएर विदेशी भूमिमा नै पसिनाले सिंचन गरेर युगान्तकारी खोज अन्वेषण गरेका छन् । के हाम्रो देशका लागि यो ठूलो घाटा होइन र ?

भर्खर यस विषयको मैदानमा मैले पाइला चालेको हुँदा यी सब प्रश्न मेरो मनमा आउनु र भविष्यप्रति चिन्ता उब्जनु पटक्कै अस्वभाविक होइन । यी सब चूनौतीका बावजूत पनि आफ्नोे कर्मप्रति अटल रहेर सेवा दिने प्रयोगशालाकर्मीहरु प्रति शिर निहुराएर सम्मान दिन मन लाग्छ । झन् यस्तो कोभिड–१९ को समयमा दिएको योगदानलाई सम्झिँदा समस्त प्रयोगशालाकर्मीहरुलाई हृदयदेखि नै सलाम दिन चाहन्छु ।

अहिले कोभिड–१९ को काम गरेको पनि आधा वर्षभन्दा बढी भइसके छ । अब त हाडजोर्नीले नि साथ दिन छोड्ने बेला भइसक्यो । दिनहुँको जीउ दुखाइको बावजूत नमुनाहरुको उच्च चापका कारण सही नतिजा दिनका लागि निरन्तर खटिरहेका त छौं, तर अब कहिलेसम्म यसरी काम गर्दा शरीरले धान्ने हो र कहिले यो महामारीको अन्त्य हुने हो, अझै निश्चित छैन ।

अन्त्यमा, उचित अवसर र प्रशंसा पाएमा मानिसले जस्तै चुनौती पनि पार गर्न सक्छ । स्वास्थ्य मन्त्रालयले हामी प्रयोगशालाकर्मीको कामको उच्च मूल्याङ्कन गरी हाम्रो क्षेत्रलाई बढावा दिने र अवसर प्रदान गर्ने हो भने देश–विदेशमा ज्ञान र सीप आर्जन गरेका यस क्षेत्रका दक्ष जनशक्तिहरुले आफ्नै माटोमा निर्धक्क साथ काम गर्न सक्छन् । र, मानव हितका लागि होस्टेमा हैंसे गरी अगाडि बढ्न सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment