Comments Add Comment

पालुङटारका विद्यालय फेरि बन्द

२५ असोज, गोरखा । संचालनमा आएको एक महिना नबित्दै पालुङटार नगरपालिकाका सबै शैक्षिक संस्था बन्द भएका छन् । यही असोज १ गतेबाट नगर क्षेत्रका विद्यालयहरु संचालनमा आएका थिए ।

कोरोना संक्रमित बढ्न थालेपछि आइतबार बसेको नगर कार्यपालिकाको बैठकले सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको हो । ‘भदौ महिनाको अन्तिम साता विद्यालयका प्रधानाध्यापकसहित नगर कार्यपालिकाको बैठक बसेर असोज १ गतेबाट विद्यालय खोल्ने निर्णय गरियो,’ नगर शिक्षा अधिकारी बाबुराम काराखेतीले भने, ‘त्यही अनुसार १ गतेबाट विद्यालयहरु खुले तर समुदायमा कोरोना संक्रमित बढ्न थालेपछि आज बन्द गर्ने निर्णय गर्‍यौं ।’

उनका अनुसार अधिकांश वडामा कोरोना संक्रमण देखिएको छ । ‘वडानम्बर १, ८ र ९ का विद्यालयहरु एक हप्तादेखि संचालनमा आएका छैनन्, बाँकी वडाका विद्यालयहरु आज बन्द गर्ने निर्णय गरियो,’ उनले भने ।

भारतलगायत अन्य ठाउँबाट आएर होम क्वारेन्टिनमा बस्नेहरुको संख्या बढेको र उक्त घरका बालबालिकाहरु पठन पाठनका लागि विद्यालय आउँदा जोखिमसमेत बढेकाले सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय गरिएको काराखेतीले बताए ।

उनका अनुसार नगर क्षेत्रमा रहेका ४३ वटा सामुदायिक र ११ वटा संस्थागत विद्यालय संचालनमा आएका थिए । स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर कक्षा संचालन गरिए पनि कोरोना जोखिम न्यूनीकरणका लागि भन्दै मंसिर ६ गतेसम्मका लागि सबै शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरिएको काराखेतीले बताए ।

सबै वडा कार्यालयको सेवा बन्द

पालुङटार नगरपालिकाको कार्यालयबाट प्राप्त हुने अत्यावश्यक वाहेकका अन्य सेवा बन्द गरिएको छ । नगरपालिकाभित्रका कर्मचारीमा कोरोना देखिएसँगै आइतबार बसेको नगर कार्यपालिकाको बैठकले सेवा बन्द गर्ने निर्णय गरेको हो ।

नगर क्षेत्रमा रहेका सबै वडा कार्यालयको पनि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको नगरपालिकाका प्रशासकीय अधिकृत तेजराज शर्माले बताए । आइतबारबाट लागू हुने गरी कात्तिक १ गतेसम्म सेवा बन्द रहने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment