Comments Add Comment

समुद्रको पानी किन नुनिलो हुन्छ ? कहाँबाट आउँछ त्यति धेरै नुन ?

काठमाडौं । यो कुरा त हामी सबैलाई थाहै छ कि समुद्र तथा महासागरको पानी नुनिलो हुन्छ । तर सबैलाई थाहा नहुन सक्दछ कि समुद्रको पानी किन नुनिलो हुन्छ ?

समुद्रको पानी यति धेरै नुनिलो हुन्छ कि पिउनका लागि कत्ति पनि उपयोग आउँदैन । आखिर समुद्रमा यति धेरै नुन कहाँबाट आउँदो हो र पानी नुनिलो हुँदो हो ?

वैज्ञानिकहरुका अनुसार पृथ्वीको ७० प्रतिशत भाग पानीले ढाकेको छ । उक्त पानीमध्ये ९७ प्रतिशत महासागर तथा समुद्रहरुमा छ ।

अमेरिकाको नेशनल ओसियानिक एण्ड एटमस्फियरिक एडमिनिस्ट्रेसनका अनुसार यदि महासागर तथा समुद्रको पानीमा रहेको सबै नुन निकाल्ने हो र जमिनमा ओछ्याउने हो भने त्यसले पृथ्वीको सबै जमिनको भागमा ५ सय मिटर अग्लो नुनको पत्र बन्दछ ।

समुद्रमा नुन आउने दुईवटा स्रोत छन् । सबैभन्दा धेरै नुन नदीहरुबाट आउँदछ । वर्षाको पानी केही मात्रामा अम्लीय हुन्छ । जब त्यो पानी जमिनका चट्टानहरुमा पर्दछ तब त्यसले चट्टानको माथिल्लो पत्रलाई खियाउँदछ । त्यसबाट निस्कने लवणहरु पानीसँगै नदी हुँदै समुद्रमा पुग्दछन् । यो प्रक्रिया लाखौँ करोडौँ वर्षदेखि चल्दै आएको छ ।

त्यस्तै समुद्रमा नुन आउने अर्को स्रोत पनि छ । त्यो भनेको समुद्रको पिँधमा रहेका छिद्रहरुबाट आउने भूतापीय द्रव्य हो । समुद्रको पिँधमा रहेका चिराहरुबाट समुद्रको पानी भित्र छिर्दछ र त्यो पृथ्वीको केन्द्रसम्म पुग्दछ । त्यहाँ रहेको म्याग्माका कारण भित्र छिरेको पानी तात्दछ । तापका कारण त्यहाँ श्रृंखलाबद्ध रासायनिक प्रतिक्रिया हुन्छ । रासायनिक प्रतिक्रिया सँगै पानीले अक्सिजनको अणुसँगै म्याग्नेसियम र सल्फेट समेत छाड्दछ र म्याग्मामा रहेका फलाम, जस्ता र तामाजस्ता धातु ग्रहण गर्दछ । त्यसपछि धातुयुक्त उक्त तातो तरल पदार्थ पृथ्वीको केन्द्रबाट समुद्रमा निस्किन्छ र समुद्रको पानीसँगै मिसिन्छ ।

समुद्रको पिँधमा हुने विभिन्न खाले ज्वालामुखी विस्फोटका क्रममा पनि ठूलो परिमाणमा लवणहरु पृथ्वीको केन्द्रबाट बाहिर निस्किन्छ र समुद्रको पानीमा मिल्दछन् । यी सबै कारणले गर्दा समुद्रको पानी नुनिलो हुन्छ ।

समुद्रको पानीलाई नुनिलो बनाउने आयनहरुमा क्लोराइड र सोडियम मुख्य हुन्, जसले ८५ प्रतिशत हिस्सा ओगट्दछन् । अरु १० प्रतिशत हिस्सा म्याग्नेसियम र सल्फेटले ओगटेका हुन्छन् भने बाँकी ५ प्रतिशत अन्य विभिन्न आयनहरु रहन्छन् ।

– एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment