Comments Add Comment

२५ वर्षपछि सुदूरपश्चिमका पहाडी विमानस्थलमा नियमित हवाई उडान 

२६ असोज, काठमाडौं । दुई दशकभन्दा बढी समय बन्द भएको बैतडी विमानस्थलमा मंगलबार नियमित उडानका दौरान समिट एयरको जहाज अवतरण गर्दैछ । समिट एयरले धनगढी विमानस्थललाई आधार बनाएर सुदरपश्चिमका दूर्गम भेगमा नियमित उडान थाल्दैछ ।

यससँगै सुदुरपश्चिमको पहाडी क्षेत्रमा २०३५ सालबाटै नियमित सेवा दिएको सरकारी कम्पनी नेपाल वायुसेवा निगम भने यो हवाई बजारबाट बाहरिँदैछ । निगमले आन्तरिक उडानमा जहाज अभावका कारण यस भेगका विमानस्थलबाट उडान झिकेको लामो समय भइसकेको छ ।

बैतडी विमानस्थल २०३६ सालमा धुलै धावनमार्ग निर्माण गरी सञ्चालनमा आएको थियो । यो विमानस्थलमा नेपाल वायुसेवा निगमले २०५२ सालसम्म नियमित उडान गरेको थियो ।

तर, यात्रु अभाव तथा जहाजको समेत कमीको कारण देखाउँदै निगमले हात झिक्यो । सो स्थान अब समिट एयरले लिएको छ ।

सेवा बन्द भएको २५ वर्षपछि यो विमानस्थलमा अब धनगढीबाट समिट एयरले साताको एक (मंगलबार) नियमित उडान गर्ने तालिका सार्वजनिक गरेको छ ।

उता, २०३५ सालमै बनेको बझाङ विमानस्थलमा पनि समिटले साताको दुई उडान गर्ने गरी उडान तालिका बनाएको छ । यो विमानस्थल २०६५ सालबाट बन्द भएको हो । द्वन्द्व कालमा समेत नियमित जहाज उडेको विमानस्थल यात्रु अभावको कारण देखाउँदै बन्द गरिएको थियो ।

२०६६ सालमा यहाँबाट नेपाल एयरलाइन्सले कार्यालय नै बन्द गरि फर्किएको थियो । समिट एयरले बझाङमा साताको दुई -मंगलबार र शुक्रबार) नियमित उडान गर्नेछ ।

उता, डोटीको दिपायल विमानस्थलमा समेत अब समिट एयरले नियमित उडान गर्ने गरी तालिका सार्वजनिक गरेको छ । यहाँ २०६३ सालसम्म जहाज उडिरहेको थियो ।

तर, सडक यातायातले छोएसँगै यात्रु नहुने भन्दै नेपाल एयरलाइन्सले यहाँबाट पनि उडान झिक्यो । जसले गर्दा यस भेगका यात्रुलाई आकस्मिक अवस्थामा समस्या पर्ने गरेको थियो ।

अब धनगढीबाट साताको एक -शुक्रबार) दिन समिटको जहाज डोटी जानेछ ।

यसअघि अघिल्लो साता संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले एकै दिन तीन वटा विमानस्थलको निरीक्षण गरेका थिए ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको समन्वयमा भएका भएको परीक्षण उडान सफल भएसँगै समिटले नियमित उडानको तालिका सार्वजनिक गरेको हो ।

यसअघि धुले मैदानका रुपमा रहेका यी विमानस्थलमा प्राधिकरणले एकैपटक कालोपत्रे शुरु गरेको थियो ।

आन्तरिक पर्यटक लक्षित

विगतमा सडक यातायातको पहुँच बढेको कारण देखाउँदै यी विमानस्थलबाट नियमित उडान झिकिएको थियो । अर्को कारण नेपाल एयरलाइन्सले आन्तरिक उडानलाई प्राथमिकतामा समेत राख्न सकेन ।

सोहीकारण ऊसँग अहिले पर्याप्त जहाज समेत छैनन् । सुदुरपश्चिममा पर्यटक भित्राउन प्रयास गरिरहेका अभियन्ता किशोर खड्का अब दुर्गम भेगका विमानस्थल यात्रु अभावकै कारण बन्द गर्नुपर्ने अवस्था नरहेको बताउँछन् ।

पछिल्लो समय सुदुरपश्चिमको आकर्षक गन्तब्य खप्तडमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण छ । नियमित जहाज चल्ने हो भने खप्तड जाने यात्रुबाटै विमानस्थलहरुले पर्याप्त यात्रु पाउने अवस्था रहेको उनको भनाइ छ ।

यसबाहेक सडक यातायात अहिले पनि जोखिमपूर्ण छ । बिरामी, सुत्केरीले सकसपूर्ण यात्रा गर्नुपर्छ । त्यसबेला जहाज भएमा धेरैको अकाल मृत्यु बच्न सक्ने उनी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment