Comments Add Comment

समय जति कम खेर फालिन्छ, त्यति धेरै पैसा कमाइन्छ

समयको व्यवस्थापन र मुलुकको विकास

‘मैले समयको अन्तर्निहित महत्त्व बुझेकी एकजना महिलाबारे सुनेको थिएँ । उनका श्रीमान एक सिपालु चर्मकार र असाध्यै उत्कृष्ट कालीगढ थिए । तर, समय बितेको पत्तै पाउँदैनथे । व्यर्थै भए पनि उनकी श्रीमतीले सधैं उनलाई ‘समय नै पैसा हो’ भन्दै सिकाउँथिन् । तर, उनले सधैं श्रीमतीको कुरालाई मजाकमा उडाए । हरेक रात पेरिस क्लकलाई सराप्दै बसे र अन्तत: त्यसले उनलाई बर्बादीतर्फ डोर्‍यायो ।’

समयको महत्त्व दर्शाउने यो किस्सा सन् १७१९ मा एम्ब्रोस फिलिप्सले बेलायती पत्रिका ‘द फ्री-थिंकर’मा उल्लेख गरेका हुन् । सन् १५७२ मा नै थोमस विल्सनले ग्रीक दार्शनिक प्लुतार्कको बखत नै पुरानो भएको भनिएको ‘टाइम इज प्रिसियस’ भन्ने उक्तिलाई ‘अ डिस्कोर्स अपन युजुरी’ भन्ने आफ्नो निबन्धमा उल्लेख गरिसकेका थिए ।

तर, ‘टाइम इज मनी’ भन्ने उक्ति भने सन् १७४८ मा बेन्जामिन फ्राँक्लिनले ‘एडभाइस टु अ योंग ट्रेड्सम्यान: रिटन बाइ एन ओल्ड वन’ भन्ने निबन्धमा उल्लेख गरेपछि बढी प्रचलित हुँदै आएको छ । उनले यसमा अल्छ्याइँको अवसर लागतलाई उजागर गर्न खोजेका छन् । उनी भन्छन्- यदि तिमी धनी बन्नु छ भने समय र पैसा दुवै खेर नफाल बरु दुवैको उच्चतम प्रयोग गर ।

यसैगरी थुप्रै विद्वानहरू र सफल व्यवसायीहरूले समयको महत्त्वबारे उल्लेख गरेका छन् । अर्थशास्त्री मिल्टन फ्रिडम्यानले जब मूल्यको सञ्चयका रुपमा पैसाको सिद्धान्तको प्रचलन ल्याए पैसाको महत्त्व झन् बढेर गयो । जब वस्तुको उपयोग मूल्यभन्दा विनिमय मूल्यले प्रश्रय पाउन थाल्यो, कामको समयको आधारमा श्रमको मूल्य (ज्याला) तोकिन थाल्यो । ‘टाइम इक्वेल्स् मनी’ अर्थात् समय पैसासँग बराबर हुन्छ भन्ने श्रमको एक मुख्य नियम हाबी हुँदै आयो ।

भनिन्छ- समय जति कम खेर फालिन्छ, त्यति धेरै पैसा कमाउन सकिन्छ । यो नियम मुलुकको सामाजिक–आर्थिक विकासमा पनि लागू हुन्छ । नेतृत्व र नागरिकहरूले जति धेरै समयको सदुपयोग गर्न सक्छन् उनीहरूले त्यति धेरै समय मुलुकको निम्ति सोच्न र काम गर्न सक्छन्, जसले मुलुकको विकासमा गति दिन सक्छ ।

यसरी अर्थशास्त्र, विज्ञान, समाजशास्त्र लगायतका सबै विधामा समयको महत्त्वको गणना गरिएको हुन्छ । यसकारण अमेरिकाको कार्निज मेलोन युनिभर्सिटीका कम्प्युटर साइन्सका प्रोफेसर र्यान्डी पाउस समयलाई एकमात्र अर्थपूर्ण वस्तुको रुपमा मान्दछन् । ऐतिहासिक चिन्तनका आधारमा भन्दा प्लेटो, न्यूटन, आइन्स्टाइन जस्ता विद्वानहरुले समयलाई भौतिक र वस्तुगत मानेका छन् भने अरिस्टोटल, कान्ट, जाँ लक्, डेभिड ह्युमहरू भने समयलाई विषयगत र मनोवैज्ञानिक रुपमा लिएका छन् ।

डेभिड रिकार्डोले वस्तुको मूल्यको मापन श्रम समयमा नापिने भौतिक (मूर्त) श्रमको मात्राको आधारमा हुने बताएका छन् । कार्ल मार्क्सका निम्ति भने समय (अमूर्त) श्रमको परिमाण मापनको इकाई तथा मूल्यको विस्तारको आवधिक आयाम हो । मार्क्सवादीहरूका अनुसार वस्तुको मूल्य त्यसको उत्पादनको निम्ति (सामाजिक हिसाबले) आवश्यक श्रम समय सहितको उपज हो, जुन अवधि र लगनशीलतामा भर पर्छ र कार्य समयमा नापिन्छ । नवउदारवादीहरूका अनुसार भने समय वस्तुभन्दा महङ्गो हुन्छ र आर्जन गर्नको निम्ति उपभोगमा भन्दा काममा बढी समय दिनुपर्छ ।

मुलुकको विकासको योजना निर्माण, कार्यान्वयन, अनुगमन र मूल्यांकन सबै तहमा समयको ख्याल र उचित व्यवस्थापन गरिनुपर्दछ । अन्तत: समय र शक्तिको व्यवस्थापनको स्पष्ट र व्यवहारिक रणनीति नै कुनै कामको सफलताको खास कडी हुन सक्छ ।

यसअलावा अहिले समयको महत्त्वलाई निरपेक्षभन्दा पनि जीवनको सापेक्षतामा बुझ्ने प्रचलन पनि आएको देखिन्छ । समय नै पैसा हो भन्दैमा आराम नलिइकन अन्धाधुन्ध काम गरिरहनु भन्ने अर्थमा बुझ्नु नहुने बरू यसको उचित व्यवस्थापन महत्त्वपूर्ण हुने तर्कहरू आइरहेका छन् ।

एकजना सिलिकन भ्यालीका व्यवसायीले भनेका छन्- दिगो आयको स्रोत बनाऊ, ‘कमभन्दा कममा गुजारा गर’ र ‘कडा परिश्रम गर’ तर कामको अवधि (घण्टा) घटाउने उद्देश्य राख ।

सन् १९ औं शताब्दीको आर्थिक विकास र नयाँ प्रविधिको विकासले त यसलाई झन् फरक बनाइदिएको छ । कामको समयको अवधिमात्र नभै नतिजामा जोड दिन थालिएको छ । प्राप्त समयमध्ये कति समयलाई उचित ढंगले उपयोग गरिएको छ, कति भविष्यनिम्ति लगाइएको छ र कति खेर फालिएको छ, त्यो नै सबैभन्दा महत्त्वपूर्ण हुन गएको छ ।

समयको व्यवस्थापनको महत्त्व

इथियोपियाका एकजना प्रसिद्ध एथलेटिक्स खेलाडी हैली गेब्रे-सेलासीले सरकारी कर्मचारीहको एउटा भेलामा भनेका रहेछन्- खेलमा रातो रेखामा पुग्ने बेलाको एक माइक्रोसेकेन्डले दशौं लाख डलरको फरक पार्दछ ।

यो भनाइले समयको व्यवस्थापनको महत्त्व राम्ररी दर्शाएको छ । यो कुरा विकसित वा विकासोन्मुख जुनकुनै मुलुकको सुशासन र विकासको योजना निर्माण र कार्यान्वयनमा पनि उत्तिकै महत्त्वपूर्ण रहन्छ । खासगरी अविकसित मुलुकहरूमा समयको महत्त्व र व्यवस्थापनलाई नजरअन्दाज गरिएको पाइन्छ जसका कारण उनीहरू आफ्नो लक्ष प्राप्तिमा अपेक्षाकृत सफलता हात पार्न सकिरहेका छैनन् ।

अमेरिकी लेखक जिग जिग्लारका अनुसार समयको अभाव हुने होइन बरु त्यसको व्यवस्थापनको किनकि हामी सबैसँग दिनमा २४ घन्टाको समय छ । समयको व्यवस्थापन यसकारण जरुरी छ कि हरेक व्यक्तिलाई उसले आँटेका सबै कामको निम्ति समय अपुग हुनसक्छ ।

त्यसैगरी, समयको अधिकतम प्रयोग साधनमात्र हो, साध्य त अधिकतम लक्ष्यको प्राप्ति नै हो । अर्थात, सफलताले समयको उचित व्यवस्थापन गर्ने होइन बरु समयको उचित व्यवस्थापनले सफलतातर्फ डोर्याउँछ । समयको सही चाँजोपाँजो अर्थात् योजनाबद्ध व्यवस्थापनविना गरिएका कामको गुणस्तर र नतिजा कमजोर हुने, निर्धारित समयमा काम सम्पन्न नहुने, त्यससँग सम्बन्धीत अर्को काममा समेत बाधा पुग्न जाने हुन्छ ।

रसमय व्यवस्थापनका सिद्धान्तहरू

समयलाई कसरी व्यवस्थित गर्ने र कामलाई सहजतापूर्वक सम्पन्न गरी उत्कृष्ट नतिजा कसरी हात पार्ने भन्ने सम्बन्धमा पन्ध्रौं शताब्दी देखिकै अर्थशास्त्री, समाजशास्त्री, व्यवसायी, राजनैतिक नेता, लेखक आदिले थुप्रै सिद्धान्त अघि सारेका छन् ।

त्यसमध्ये प्यारेटोको ‘२०/८० को नियम’, स्टेवेन कोवेको ‘द बकेट अफ रक्स थ्योरी’, आइसेनावरको ‘टाइम मेनेजमेन्ट ग्रिड’, एडविन लकको ‘गोल सेटीङ थ्योरी’, जोसेफ र ह्यारीको ‘जोहरी विन्डो प्रिन्सिपल’ आदि प्रचलित छन् ।

इटालियन अर्थशास्त्री तथा समाजशास्त्री विल्फ्रेडो प्यारेटोले भनेका छन् कि सम्पत्ति र प्रभावको हिसाबले समाज दुई किसिमले वर्गीकृत भएको छ- माथिल्लो २० प्रतिशत समेट्ने ‘अल्पसंख्यक प्रभावशाली (Vital few)’ र तल्लो ८० प्रतिशत समेट्ने ‘बहुसंख्यक मामूली (Trivial many)’

प्यारेटोको यो सिद्धान्त सम्पत्तिको वितरण र आर्थिक गतिविधिको हकमा मात्र नभई समयको व्यवस्थापनमा पनि लागू हुन्छ । यसले कामको प्राथमिकता र समयको बाँडफाँड बारेमा उपाय सुझाएको छ ।

समयको अधिकतम प्रयोग साधनमात्र हो, साध्य त अधिकतम लक्ष्यको प्राप्ति नै हो । अर्थात, सफलताले समयको उचित व्यवस्थापन गर्ने होइन बरु समयको उचित व्यवस्थापनले सफलतातर्फ डोर्याउँछ ।

यस सिद्धान्तअनुसार, आफ्ना काममध्ये २० प्रतिशत बढी महत्त्वका कामको निम्ति ८० प्रतिशत समय छुट्टयाउनु राम्रो हुन्छ भने ८० प्रतिशत कम महत्त्वका कामको लागि २० प्रतिशत समय खर्चिनुपर्छ । अमेरिकी लेखक तथा शिक्षाविद डा. स्टेवेन कोवेको द बकेट अफ रक्स थ्योरीअनुसार, जसरी बाल्टीमा ढुंगा भर्दा पहिले ठूला ढुंगा र त्यसको अन्तरमा साना ढुंगा अनि बालुवा र सबभन्दा पछि पानी हाल्नुपर्छ, त्यसैगरी सबभन्दा पहिले महत्त्वपूर्ण कामहरू र त्यसपछि कम महत्त्वका र अन्तिममा मात्र खास महत्त्व नभएका कामहरू गर्नुपर्छ ।

अमेरिकी पूर्वराष्ट्रपति ड्वाइट डी. आइसेनावरले भनेका छन्- जुन महत्त्वपूर्ण छ त्यो विरलै जरुरी हुन्छ र जुन जरुरी छ त्यो विरलै महत्त्वपूर्ण हुन्छ ।

उनले समय व्यवस्थापनको सन्दर्भमा चार भाग भएको एउटा ‘टाइम मेनेजमेन्ट म्याट्रिक्स’अघि सारेका छन् । जुन यसप्रकार छ:

क) जुन काम महत्त्वपूर्ण र जरुरी छ त्यो गरिहाल ।

ख) जुन काम महत्त्वपूर्ण छ तर जरुरी छैन भने त्यसको निम्ति समय छुट्टयाउने निर्णय गर ।

ग) जुन काम महत्त्वपूर्ण छैन तर जरुरी छ त्यो काम अरु कसैलाई हस्तान्तरण गर ।

घ) जुन काम महत्त्वपूर्ण र जरुरी दुवै छैन त्यस्ता कामहरू तिम्रो कामको सूचीबाट हटाऊ ।

अमेरिकी लेखक तथा शिक्षाविद डा. स्टेवेन कोवेले पनि समय व्यवस्थापनको सन्दर्भमा यस म्याट्रिक्सको महत्त्वमाथि जोड दिएका छन् । यसैगरी अमेरिकी साइकोलोजिस्ट जोसेफ लाफ्ट र ह्यारी इंगमले समूहमा काम गर्दा द्वन्द्व र असमझदारीको कारण कामको उत्पादकत्व घट्न नदिन र समय व्यर्थ हुन नदिन सहकर्मीबीच खुल्ला छलफल र सुझाव आदानप्रदान हुन सक्ने र आपसी विश्वास पैदा गराउने आपसी सञ्चारको महत्त्वसहितको जोहरी विन्डो मोडेलको विकास गरेका छन् ।

त्यसैगरी स्पष्टता, प्रतिवद्धता, चुनौती र सुझावहरू सहितको विशिष्ट लक्ष र उद्देश्यले काममा जाँगर पैदा गर्छ र त्यसले उचित समय व्यवस्थापनमा मद्दत गर्छ भन्दै सन् १९६८ मा अमेरिकी साइकोलोजिस्ट एडविन लकले लक्ष्य निर्धारणको सिद्धान्त गोल सेटिङ थ्योरीको प्रतिपादन गरेका छन् । जुन विकास योजना निर्माणको सन्दर्भमा अत्यधिक प्रयोगमा छ । यसकै आधारमा लक्ष्य निर्धारणका सन्दर्भमा स्मार्ट गोल (विशिष्ट, मापनयोग्य, प्राप्त गर्न सकिने, वास्तविक र समय तोकिएको) विधि प्रचलनमा आएको छ ।

नेपालमा समय व्यवस्थापन र आर्थिक विकास

कुनै पनि मुलुकको विकासमा समयको उचित व्यवस्थापनसहित उत्पादनका साधन, उत्पादक जनशक्ति र पूँजीको समुचित उपयोगको ठोस योजनाको महत्त्वपूर्ण भूमिका हुन्छ । यो कुरा विकसित र उदीयमान मुलुकहरूले पुष्टि गरिसकेका छन् । नेपालजस्ता अविकसित मुलुकमा भने अझै पनि समयको महत्त्वलाई नजरअन्दाज गरेको पाइन्छ । जसका कारण सही लक्ष निर्धारण नगरिने, निर्धारित लक्ष वर्षौंसम्म पूरा नहुने र मुलुकमा आर्थिक समृद्धि तथा सुशासन कमजोर भैरहने अवस्था विद्यमान देखिन्छ । समय व्यवस्थापनका प्रचलित सिद्धान्तसँग मुलुकमा देखिएका व्यवहारलाई हेर्दा पटक्कै मेल खाँदैन ।

प्यारेटो २०/८० को सिद्धान्तभन्दा ठीक विपरित नेपालमा ८० प्रतिशतभन्दा बढी समय अनुत्पादक काममा खर्च गरिएको पाइन्छ । राजनीतिक पार्टीभित्र नेता र कार्यकर्ताको अन्दाजी ८० प्रतिशतभन्दा बढी समय अनावश्यक गुटबन्दीमा खर्च भएको देखिन्छ । त्यसमाथि थप केही समय भेटघाट र शिलान्यास र उद्घाटनजस्ता सानातिना औपचारिक कार्यक्रममा खर्च हुन्छ । जसको कारण मुलुकको नीतिनिर्माण र अध्ययन अनुसन्धानजस्ता महत्त्वपूर्ण काममा २० प्रतिशतभन्दा निकै कम समय लगाइएको हुन्छ ।

यसको नतिजास्वरूप अव्यवहारिक लक्ष र समयसीमा सहितको नीति तथा योजना निर्माण, विवाद/द्वन्द्व र कमजोर सुशासनको अवस्था पैदा भएको छ । अनुत्पादक बैठक भेलाहरू धेरै हुने, घन्टौं ढिला हुने कारण र आपसी आरोप–प्रत्यारोपमा उर्जावान समय धेरै खर्च भइरहेको छ । मुलुकका प्रमुख दलहरू नेकपा भित्रको चरम द्वन्द्व र कांग्रेस पार्टीभित्रको उत्कर्ष विवाद र नेताको कार्यशैली यसको पछिल्लो उदाहरण बनेको छ ।

अधिकांश व्यवसायीहरू मुलुकमा दीगो व्यवसाय र राष्ट्रिय पूँजीको विकास कसरी गर्ने भन्ने चिन्तनभन्दा बढी समय व्यापारमा अनुचित मुनाफा आर्जन र करछली कसरी गर्ने भन्ने योजना बनाउन र त्यसको निम्ति राजनैतिक नेतृत्वलाई आफ्नो प्रभावमा कसरी पार्ने भन्नेमा लगाउँछन् । कैयौं कर्मचारी र दलका कार्यकर्ता आफ्नो क्षमता विकास र उत्कृष्ट कार्यसम्पादनको प्रयासभन्दा चाकडी, चाप्लुसी गर्न बढी समय खर्च गर्ने गरेको पाइन्छ । पारदर्शीता कायम गर्ने योजनामा भन्दा भ्रष्टाचारको योजना निर्माण र कार्यान्वयन, आरोप–प्रत्यारोप र सफाइको निम्ति नै बढी समय लगाएको देखिन्छ ।

नेपालको सन्दर्भमा आइसेनावरको ‘टाइम मेनेजमेन्ट म्याट्रिक्स’ पनि खास काम भएको देखिँदैन । हरेक नेतृत्वले कामको सूची तयार गर्ने बानीमा त कमी छँदैछ, तर कार्यान्वयनको सूचीबाट हटाउनुपर्ने कामहरु पहुँचको आधारमा सबभन्दा पहिले गरिएका पाइन्छन् । त्यसैगरी, आफूले लिनैपर्ने मुख्य जिम्मेवारी लिने र आफूले नगरे पनि हुने कामको जिम्मेवारी अरुलाई हस्तान्तरण गर्नेभन्दा पनि सबै काम भ्याईनभ्याई आफूले जिम्मा लिने ‘मल्टीटास्किङ’ प्रवृत्ति हाबी छ ।

एकै व्यक्तिले धेरै पद/जिम्मेवारी लिन पाउँदा आफूलाई गौरवान्वित र प्रतिष्ठित ठान्ने प्रवृत्ति समाजका हरेक क्षेत्रमा हाबी देखिन्छ । परिभाषित कामबाहेक थप कामको अनुरोधलाई खुला खुलस्त ढंगले अस्वीकार गर्न सक्ने दृढता/क्षमता पनि नेतृत्वमा कमै देखिन्छ । बरु लोकप्रियताका लागि धेरै आश्वासन दिने र डेलिभरी भने कम गर्ने कारण नेतृत्वप्रति नागरिकमा वितृष्णा पैदा भइरहेको छ । अर्कोतर्फ बढी जिम्मेवारीको कारण नेतृत्व दिक्क, थकित र विचलित भएको अवस्था पनि देखिन्छ । त्यस्तै, धेरै पछि गरे हुने कामको कार्यान्वयन सस्तो लोकप्रियताको निम्ति अघि गर्ने गरेको पनि पाइन्छ ।

समयको ख्याल नराखी विना प्राथमिकता निर्धारण धेरै योजनाहरू एकैपटक कार्यान्वयनमा लैजानेजस्ता लक्षनिर्धारण र कार्यान्वयनमा भएका कमजोरीका कारण कैयौं महत्त्वपूर्ण योजनाहरू वर्षौंसम्म पूरा हुन सकिरहेका छैनन् । फलस्वरूप योजनाको बढ्दो उत्पादन लागत र प्रतिफलको नोक्सानी गरी मुलुक दोहोरो घाटामा परेको देखिन्छ । यसरी, नेपालको सन्दर्भमा प्राथमिकता निर्धारण गर्ने कोवेको ‘बकेट अफ रक थ्योरी’ र लकको ‘गोल सेटिङ थ्योरी”को प्रभाव योजना–निर्माण र कार्यान्वयनमा कमै देखिन्छ ।

संगठनभित्र उत्पन्न हुने द्वन्द्व कम गरी सामूहिक प्रयासलाई फलदायी बनाउन आपसी विश्वास र समझदारीको वातावरण सबल बनाउन संगठनभित्र प्राथमिकतापूर्ण ढंगले उचित समय निर्धारण गरी छलफल गर्ने, स्वस्थ आलोचना/आत्मालोचना गर्ने र कमजोरीलाई सच्च्याउने प्रतिवद्धता व्यक्त गर्ने कुरा त झन् हरेक दलभित्र निकै विरानो भइसकेको छ ।

यसरी उत्पन्न द्वन्द्वलाई आपसी सूचनाको प्रसारका माध्यमबाट समाधान गर्ने ‘जोहरी विन्डो मोडेल’को अवलम्वनभन्दा गुटबन्दी, घमण्ड र शक्तिको आडमा पेल्ने र द्वन्दलाई लम्ब्याउनाले मुलुकले समय एवं स्रोतको बढी खर्च र उत्पादकत्वमा ह्रास व्यहोरिरहनु परेको छ ।

यसरी समय व्यवस्थापनका सिद्धान्तलाई नेतृत्वले अवलम्बन गर्न नसक्दा मुलुकले समय, स्रोत र जनशक्तिको अधिक खर्च, न्यून उत्पादन तथा गुणस्तरहीन विकास, कमजोर सुशासनको नियति भोग्नुपरेको, त्यसको फलस्वरूप स्रोत र अवसरको कमी, त्यसको निम्ति संघर्ष हुँदै अन्तत: कमजोर समय व्यवस्थापनको दुश्चक्रमा फसिरहनु परेको छ ।

माथिका सबै कुराबाट के बुझ्न सकिन्छ भने समय बचत गर्ने चिज होइन बरू बुद्धिमत्तापूर्ण ढंगले खर्च गरिने कुरा हो । आफूलाई प्राप्त भएको समयलाई नै सदुपयोग गर्नुपर्ने हुन्छ । गर्नुपर्ने क्रियाकलापको पूर्वगामी विश्लेषणले व्यक्तिमा समय-बचत गर्ने बानीको विकास गरिदिन्छ । समयको उचित व्यवस्थापनको निम्ति निरर्थक कामहरूको पहिचान गर्नु र त्यस्ता कामहरूलाई बेवास्ता गर्नु आवश्यक हुन्छ । देख्दा महत्त्वपूर्ण देखिने तर खास सोच, लक्ष र मूल्य–मान्यता नभएका, योजनाविहीन, अनुत्पादक र महत्त्वहीन कार्यहरूले काम दोहोर्याउनु पर्ने, असन्तुष्टि र विवाद सिर्जना गर्ने, समय खाने अवस्था सिर्जना हुन्छ । जसले लामो भेटघाट र बैठकको आवश्यकता, अधिक आश्वासन र न्यून सेवाप्रवाहको स्थिति र मुख्यकाममा उल्झन पैदा गर्ने हुन्छ । कम फाइदाजनक र समय बर्बाद गर्ने खालका यस्ता फजूल कामहरुले तोकिएका कामलाई पन्छाउने वा ढिलासुस्ती गराउने हुनाले त्यसबाट बचेर नै समयको उचित व्यवस्थापन गर्न सकिन्छ । अमेरिकन लेखक मार्क ट्वाइनले भनेझैं ‘इट द फ्रग फर्स्ट’ अर्थात् सबभन्दा मुश्किल र नगरी नहुने काम सबभन्दा पहिले गर्नुपर्छ, जसले पछिल्ला कामहरूलाई धेरै सहज अनुभूति गराइदिन्छ ।

ठूलाठूला सपना देख्ने नाममा ‘स्मल इज द बेस्ट वे’ अनि ‘स्मल इज ब्युटीफुल’ भन्ने तथ्यलाई बिर्सनु हुँदैन । अल्पकालीन परिमाणभन्दा दीगो उत्पादकत्व वृद्धिको लक्षसहित समयको व्यवस्थापनमा लाग्नुपर्छ । मुलुकको विकासको योजना निर्माण, कार्यान्वयन, अनुगमन र मूल्यांकन सबै तहमा समयको ख्याल र उचित व्यवस्थापन गरिनुपर्दछ । अन्तत: समय र शक्तिको व्यवस्थापनको स्पष्ट र व्यवहारिक रणनीति नै कुनै कामको सफलताको खास कडी हुन सक्छ ।

( डा. पन्त नेसनल इन्स्टिच्युट फर रिसर्च एण्ड डेभलपमेन्टका अध्यक्ष हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment