Comments Add Comment

बसपार्कमा देखिएन चहलपहल, गाडीवाला भन्छन्– घटस्थापनापछि भिडभाड हुन्छ

२७ असोज, काठमाडौं । सुनसरी घर भएकी रमिता पोखरेल गाउँ जान आइतबार विहानै कोटेश्वर पुगिन् । खोजेकै जस्तो सिट सहजै मिल्यो । पोहोर साल यस्तो सजिलो थिएन ।

‘ओहो मैले त नसोचेकै भयो, कोठाबाट निस्कँदा सिट पाइन्छ कि पाइँदैन भन्ने लागिरहेको थियो’ उनले खुशी हुँदै भनिन्, ‘पोहोर दसैंअघि घर जाँदा धेरै तनाब भएको थियो, यसपालि यति सजिलै हुन्छ भन्ने सोचेकी थिइनँ ।’

पोखरेलले गाउँ जाने टिकटका लागि एक हप्ताअघि कोटेश्वरको काउन्टरमा फोन गरेकी थिइन् । टिकटको पैसा तिर्न पहिले नै आउनुपर्छ कि भनेर उनले फोन गरेकी थिइन् । तर, काउन्टरवालाले एकदिन अगाडि फोन गरे पनि सिट पाइने बताए । अग्रिम बुकिङका लागि काउन्टरमा जानु परेन ।

शनिबार फोन गरेर सिट राखिदिनू भनिन्, काउन्टरवालाले सिट बुक गरिदिए । आइतबार बिहानै कोटेश्वर पुगेर उनी गाडी चढिन् । ‘पोहोर त एकै सिटमा दुईजनालाई टिकट कटाएको रहेछ, निकै लफडा भएको थियो’ उनी भन्छिन्, ‘यसपालि तनाब भएन ।’

पोखरेललाई अर्को तनाब भनेको गाडीभाडाको थियो । दसैंको मुखमा भएका कारण गाडीवालाले अत्यधिक भाडा असुल्छन् भन्ने उनलाई तनाब थियो । कोटेश्वर पुग्ने वित्तिकै उनले सिटमा झोला राखिन् र पैसा बुझाउन काउन्टरतिर लागिन् । काउन्टरवालाले १५ सय रुपैयाँ मात्र भनेपछि उनी ढुक्क भइन् ।

‘एक हजार त अरुबेलाको भाडा हो, दसैंका बेला अलि बढी नै लिन्थे’ उनले भनिन्, ‘१५०० त सरकारले तोकिदिएअनुसारकै ५० प्रतिशत बढी भाडा हो ।’

सरकारले सवारी साधनमा आधा यात्रु मात्रै राखेर ५० प्रतिशत भाडा बढी लिन पाउने बताएको थियो । तर, सोमबारको क्याबिनेट बैठकले  पुरानो निर्णय उल्ट्याउँदै गाडीमा पूरै सीट यात्रु राख्न दिने र पुरानै भाडादर कायम गर्ने निर्णय गरेको छ ।

कोटेश्वरमै रोकिएको अर्को जम्बो हाइसमा रामकुमार यादव दुईवटा सिटमा खुट्टा पसारेर बसेका थिए । उनको पछाडिको सिटमा एकजना अनि अगाडिको सिटमा एकजना थिए । खुट्टा पसारेर बसेका रामकुमार मोवाइलमा व्यस्त छन् ।

सप्तरीको कञ्चरुप जानुपर्ने उनले १४ सय रुपैयाँ भाडा तिरेका रहेछन् । दुई सिटकै लागि पैसा तिरेको भन्दै उनी खुट्टा पसारेर ढल्किएका रहेछन् ।

कोटेश्वरमा सामान्य अवस्थामा पनि गाडीमा निकै चहलपहल हुन्छ । यतिबेला दसैं नजिकिएका बेलामा पनि खासै भीडभाड देखिएन । कोटेश्वरमात्रै होइन, नयाँ बसपार्कमा पनि विगतका वर्षहरुको जस्तो चहलपहल छैन ।

कोटेश्वरको तुलनामा बसपार्कमा सर्वसाधारणको घुइँचो देखियो । काउन्टरहरुमा टिकट काट्नेहरु उपस्थिति राम्रै थियो । कोरोनाबारे सतर्कता भने कम देखियो । लाइन लाग्ने ठाउँ प्रशस्तै भए पनि मान्छे झुरुप्पै बसेका थिए ।

तर, विगतको जति भीड भने नभएको बसपार्क व्यवस्थापनको जिम्मा पाएको ल्होत्से बहुउद्देश्यीय प्रालिका मानव संशाधन व्यवस्थापक (एचआर म्यानेजर) पंकज मल्लले बताए ।

पछिल्लो समय यात्रुहरु नै कम आउन थालेको काउन्टरवालाहरुले सुनाए । साकिरा गाडीको टिकट काट्ने गोपाल घिमिरे अहिले यात्रुहरु दिनप्रतिदिन घटिरहेको सुनाउँछन् । पोहोर साल यतिबेला घिमिरेलाई फोन उठाउन भ्याई नभ्याई थियो । तर, अहिले सिटमा ५० प्रतिशत प्रतिशत यात्रु पुर्याउन पनि गाह्रो परेको उनी सुनाउँछन् ।

‘दसैैं आउनु एक हप्ताअघि भीड बढ्छ’

ल्होत्सेका व्यवस्थापक मल्ल धेरै विद्यार्थीहरु गाउँ गइसकेको हुनसक्ने बताउँछन् । काठमाडौंमा भएकाहरु पनि दसैं लागिसके पछिमात्रै जाने भनेर बसेका कारण अहिले गाडीहरु खाली पठाउनु परेको उनी सुनाउँछन् ।

यतिबेला गाडीहरु सहज तरिकाले गइरहेको भन्दै अलि ढिला गरेर जान खोज्नेहरुलाई पनि चाँडै जान उनले अनुरोध गरे । ‘अहिले धेरै मान्छेहरु अलिपछि घर जाने भन्ने सोचेर बस्नुभएको होला, अहिले धेरै सहज भएकाले म यतिबेला जान आग्रह गर्न चाहन्छु,’ उनले भने, ‘पछि फेरि एकैचोटि धेरै भीडभाड पनि हुन सक्ने भएकाले चाँडै घर जाँदा राम्रो ।’

उनका अनुसार अहिले सरकारले भनेअनुसार नै गाडीहरु सञ्चालन भइरहेका छन् । ५० प्रतिशत मात्रै यात्रु राखेर ५० प्रतिशत बढी भाडा लिइरहेको उनले सुनाए । उनका अनुसार धनगढीका लागि अहिले एसी डिलक्स बसमा २८०० टिकट बिक्री भइरहेको छ । सामान्य समयमा धनगढीको एसी डिलक्स बसमा १८०० रुपैयाँ टिकट लिने गरिएको थियो । अन्यत्र एक हजार लिने ठाउँमा अहिले १५०० रुपैयाँ लिएर टिकट बिक्री भइरहेको उनले सुनाए ।

मल्लजस्तै कोटेश्वरका काउन्टर सञ्चालक घिमिरे पनि दसैं आउनु एक हप्ताअघि भीड बढ्ने अनुमान गर्छन् । उनी भन्छन्, ‘अब घटस्थापनापछि अफिस पनि बिदा हुन्छन्, व्यवसायहरु पनि बन्द हुन थाल्छन् । सायद त्यसपछि अलि चहल–पहल बढ्छ कि ।’

तस्वीरः आर्यन धिमाल

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment