
२७ असोज, काठमाडौं । नेपाल चेम्बर अफ कमर्श ७० औँ वर्षमा प्रवेश गरेको छ । निजी क्षेत्रको पहिलो छाता संगठनको रुपमा २००७ सालमा आश्विन २७ गते स्थापना भएको चेम्बर अफ कमर्श मंगलबारदेखि ७० औं वर्षमा प्रवेश गरेको हो ।
वार्षिकोत्सवका अवसरमा चेम्बरले हरेक वर्ष विशेष कार्यक्रम आयोजना गर्दै आएको थियो । यस वर्ष भने कोरोना भाइरस महामारीका कारण विशेष कार्यक्रम आयोजना नहुने चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले बताए ।
राणा शासन रहेकै बेला स्थापना भएकाले चेम्बरलाई प्रजातन्त्र भन्दा जेठो संगठन पनि भनिन्छ । २०१२ सालमा उद्योग र वाणिज्य सम्बन्धी पहिलो राष्ट्रिय सम्मेलन नेपाल चेम्बरको अगुवाईमा भएको थियो ।
स्थापना कालदेखि नै वाणिज्य क्षेत्रको विकास र आर्थिक समृद्धिका लागि भूमिका खेल्दै आएको चेम्बरले सरकारलाई औद्योगिक, वाणिज्य र अन्य वित्तीय मामिलाका लागि नीति नियम तर्जुमा गर्न सुझाव समेत दिने गरेको छ ।
चेम्बरले निजी र सरकारी क्षेत्रबीच पुलको भूमिका निर्वाह गरिरहेको पनि छ । नेपाल चेम्बर अफ कमर्सले प्रदेश, जिल्ला तथा नगर चेम्बर अफ कमर्स, वस्तुगत संघ, आवद्ध संघ लगायत द्धिपक्षीय वाणिज्य तथा उद्योग संघहरुको प्रतिनिधित्व गर्दछ ।
रजिष्टर्ड फर्महरु, व्यापार र उद्योग क्षेत्रका संघ संस्था, द्धिपक्षीय व्यापार तथा उद्योग संघ चेम्बरसँग आवद्ध रहेका छन् । नेपाल चेम्बर अफ कमर्सले ७० वटा अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्सहरुसंग आर्थिक कृयाकलाप विस्तार गर्न समझदारी पत्र मार्फत सम्बन्ध स्थापित गरेको छ ।
२००७ सालमा ‘वणिक मण्डल’ गठन भई चेम्बरको शुरुवात भएको थियो । पछि २००९ सालमा नेपाल व्यापार संघको नामबाट औपचारिक दर्ता भई २०१० कात्तिकमा भएको प्रथम साधारणसभाले नाम फेरेर चेम्बर अफ कमर्श राखेको थियो ।
प्रतिक्रिया 4