Comments Add Comment

युवा हस्तक्षेप जरूरी भो

कतिपय शब्द सन्दर्भको परिभाषा बदल्ने गरी युवा हस्तक्षेप हुन ढिला भइसक्यो । सचेत युवाहरूले अब राजनीतिमा खुल्ला हस्तक्षेप गर्नुपर्छ र गर्नेछन् ।

हामीले विश्वास गरेको दुनियाँले स्वीकार गरेको र पुँजीवादपन्थीहरूसँग पौंठेजोरी खेलीरहेको भौतिकवादको शानदार भनाइ के हो भने हरेक चिजको उत्पति, विकास र विनास स्वयंभित्र रहेको हुन्छ । सायद वर्तमानमा त्यही टकराइरहेकोले होला कि यत्रतत्र सर्बत्र बेथिति, बेइमान र अव्यवस्था मडारिरहेको छ ।

यस्तो चरम बेथिति कसरी रहिरहन सम्भव छ र ? रहीरहे आगामी परिस्थिति कति पेचिलो बन्ला ? पुरानो पुस्ताप्रति गुनासो गरेर, आलोचना गरेर अब बस्ने हैन । अब पुरानो पुस्ताबाट प्रगतिशिल परिवर्तन सम्भव छैन । आज हैन हिजोसम्म जे बहादुरी देखाउनुभयो त्यसका लागि आभारी हुनै पर्छ । धन्यवाद दिनैपर्छ । तर अब उहाँहरूबाट सम्भव छैन । उहाँहरूले अगाडि जान चाहानुभएको छैन र चाहे पनि सक्नुहुन्न । यसर्थ सचेत युवाहरू अगाडि आउनुपर्‍यो र आउने छन् । बेथिति यति उत्कर्षमा पुग्यो कि सायद यसले अर्को उर्जावान नेतृत्व जन्माउँदैछ ।

कहाँ मात्रै छैन बेथिति ?

कुशासनले सीमा नाघ्यो । परिणाम दैनिक ७/८ जना बलात्कृत हुन्छन् । सर्वसाधारण उपचारको पहुँच बाहिर भएर मरिरहेका छन् । आपराधिक घटना बढोत्तरी भएको छ । बढ्दो बेरोजगारी यथावत छ । धनीहरु झन् धनी हुँदैछन् । गरिबहरु झन् कङ्गाल बन्दैछन् । भनसुनको शासन हिजो भन्दा बढेको छ । दैनिक अर्बौं रकम बाहिरिएको छ । युवा विदेशिने क्रम यथावत छ । घट्ने घटाउने कुनै मेलो सुरू भएको छैन । लुट खसोट यथावत छ । यतिसम्म कि पैत्रिक सम्पति अंशबण्डा गर्दा वा एक आना जग्गा खरिद बिक्री गर्दा मालपोत तिर्नुपर्छ तर खरबौंको एनसेल बेचबिखन गर्दा कर नतिरी पास हुन्छ । ७० लाख रुपैयाँ घुस प्रकरणमा राजनारायण पाठकले राजिनामा दिए पुग्छ । एउटा सुब्बालाई एक हजार घुस मागिएको प्रकरण खडा गरेर बिना उजुरी दोषी करार गर्दै ४०/४५ दिन कस्टडीमा राखिन्छ । आत्महत्यापछि निर्दोष देखाइन्छ । श्रीमती हत्या गरी काटकुट पार्ने रन्जन कोइरालालाई बीचमै उन्मुक्ति दिलाइन्छ । करोडौं खर्च गरेर पाठ्यपुस्तक छपाइन्छ, पछि त्रुटि भयो भनेर वितरणमा रोक लगाइन्छ । देश दिन दुगुणा रात चौगुणा पराधिनता ब्यहोरीरहेको छ । दुई रूपैयाँ मूल्य घटाउन सक्दैन बरू महँगीले सीमा नाघेको छ । कृषि प्रधान देशमा किसानले पैसा तिरेर मल किन्न पाउँदैनन् । बाली उठाउने बेलामा बंगलादेशसँग मल सापटी मागेको नाटक रचिन्छ । शिक्षा र स्वास्थ्य फर्काउनै नसक्ने गरी बिक्री गरिएको छ । राज्य दोब्बर, तेब्बर कर अशुल्छ, नागरिकको कुनै कुराको जिम्मेवारी लिँदैन ।

जनताले रूचाएका र काममा अब्बल साबित भएका कुलमानको नियुक्ति गरिँदैन । खतिवडा र कोइरालाहरू पटक पटक नियुक्त हुन्छन् । थिति विधि हराएको छ । ०६२/०६३ को आन्दोलनले माग गरेका र संविधानले व्यवस्था गरेका संवैधानिक आयोगहरू मृत अवस्थामा छन् । उद्योगधन्दा खुल्दैनन् । उत्पादनका क्षेत्र साँघुरो बन्दैछ । अरू त परै जावस् राम्रो रोजगारी सृजना गर्ने र राज्यको आम्दानी बढाउने रूग्ण उद्योग खरीढुंगा म्याग्नेसाइट दुई तिहाइको सरकारले सञ्चालनमा ल्याउन सक्दैन । अष्टलक्ष्मी शाक्य, सोमप्रसाद पाण्डे, कर्ण थापा, महेश बस्नेत उद्योग मन्त्री छँदा पटक पटक लावालस्करसहित भ्रमण गरेर सञ्चालनमा ल्याउँछौं भने पनि सञ्चालनमा आउन सकेको छैन । कति ढाँटनु ?  जनताको गरिबीपनमा कति खेल्नु ? अब तामा, फलाम, ग्यास, युरेनियम उद्योगको हावा कुरा कति सुन्नु ? कमिसनको गोलचक्करमा फसेर टावर, रेल, सुरूङका हल्ला फैलाइन्छ । आदि ।

तसर्थ यो सब सायद आउँदो पुस्ताको अवसर बनेको छ । यद्यपि यि सबै कुरा भएको भए आउँदो पुस्ताले अरू गर्थ्योहोला । र पनि यो व्यवस्थापन राजनीतिबाटै हुने हो । त्यस कारण त अब सचेत युवा सोचविचार गरेर राजनीतिक मैदानमा आउनुपर्छ र आउने पनि छन् ।

चुनौतीको सामना हिजोको पुस्ताले गरेकै हो । राणा शासनविरूद्ध युवाहरूले स्वस्फूर्त वा संगठित तवरले बिद्रोह गरेकै हुन् । अन्याय अत्याचारकाविरूद्ध जनताको शासनका लागि २००१ साल असार ७ मा पर्खाल नाघेर भाग्दा गणेशमान सिंह भर्खरकै हुनुहुन्थ्यो । र उहाँहरू जस्तै युवाहरूले यसअघि नै छातीमा गोली थाप्नुभएको थियो । यि सबै जिउँदो घटनाको परिणाम भयो ७ साल र प्रजातन्त्र । भलै शासनको रूप धेरै बदलिएन । आजको परिवर्तनको जग २८ साल थियो सायद । कलिला युवाहरूले संगठित विद्रोहको राँको झोसे त्यसबेला । ०३३ चैत्र १२ मा कलिलो उमेरमा २०/२२ का ठिटाहरूले त्यो कालरात्रीमा जेल तोडेर क्रान्तिको आँधी तुफान ल्याउन सफल भए । जनयुद्ध र जनविद्रोह त्यस्तै युवाहरूको पहलकदमी र बलमा भयो । ०५७ चैत १७ मा गोरखा जेल ब्रेक गर्दा छ जना महिला युवा नै हुनुहुन्थ्यो । जनताको शासनका लागि यस्ता हजारौं रोमान्चित घटना भएका छन् फलस्वरूप त्यस्ताखाले शासन व्यवस्थाहरु ढले ।

आज परिस्थिति फेरिएको छ । विज्ञान र प्रविधिले कयौं गुणा फड्को मारेको छ । आजको बेथिति र अन्यायकोविरुद्ध आवाज बुलन्द गर्न, संगठित हुन सहज छ । तर्क तथ्य बलशाली रूपमा संप्रेशन गर्ने स्थिति छ । एउटा जनवादी गीत सुन्न वा क्रान्तिकारी बैठक गर्न झ्यालढोका थुन्न नपर्ने परिस्थिति विद्यमान छ । सचेत नागरिकको पंक्ति ठूलो छ । न्यायप्रेमीको जमात बढ्दो छ । मात्र भरपर्दो बलशाली विज्ञान र प्रविधिमा निपुण युवाहरूको पहलकदमीको खाँचो छ । भलै सबै जनताको नाममा लुट्ने रहेछन् भन्ने एउटा मानक बनेको छ । इमान्दार, अनुशासित रूपमा जनताको लागि बलीबेदीमा चढेको अनुभूति गर्ने बित्तिकै ति मानकहरू भत्कने छन् ।

फेरि एकपटक बलिदानीपूर्ण संघर्षको माग गर्यो समयले । सिंगापुरका लिक्वान यु, पाकिस्तानका इमरान खान वा नेपालका एकबेलाका वीपी, पुष्पलाल, मदन भण्डारी ,सीपी, केपी, माधव, प्रचण्डको खोजी गर्यो ।

त्यो जोखिम आजका युवाहरूले नै उठाउनुपर्छ । व्यक्ति म हामीमा रूपान्तरित हुने, निस्वार्थ, देश र जनताको स्वार्थलाई नै आफ्नो स्वार्थ देख्ने, ठान्ने युवाहरूले पहलकदमी लिनु आवश्यक छ । बहाल रहेका पार्टीका युवाहरूले पनि आफूलाई यस्तो पहलकदमीका लागि तयार गर्नैपर्छ । तर पार्टीमा रहेका युवाहरूमा यो चेतना कम पाइन्छ । कतिपय युवाहरूसँग राजनीतिक कुरा गर्दा उनीहरू यति वर्षपछि मेयर हुने, अध्यक्ष हुने, माननीय हुने बताउनुहुन्छ । मानौं कि सकारात्मक परिवर्तन,आमुल परिवर्तन अर्थात राजनीतिक, आर्थिक, साँस्कृतिक परिवर्तन भनेकै उनी अमुक पदमा वा लाभको पदमा पुग्नु हो । यो चेतनाले गर्दा युवा उमेरमै दास बन्ने, चाकडी गर्ने, त्यही अमुक पद केन्द्रीत भएर राजनीतिमा सामेल भएको पाइन्छ ।

०३३ वा ०५७ वा यस्तै विभिन्न समयमा जेल तोड्ने वा विभिन्न क्षेत्रबाट संघर्षमा समर्पित हुने पंक्तिको दिमागमा यस्तो अपेक्षा थियो र ? त्यस्तो हुन्थ्यो भने त्यो तहको समर्पण हुने थिएन । तसर्थ त्यस्तो नभइ मात्र परिवर्तन, सकारात्मक परिवर्तन वा आमूल परिवर्तन, फेरि पनि परिवर्तनका लागि समर्पित युवाहरूले संघर्ष संगठित गर्न जरूरी छ । सफलता नजिकै छ । टाढा छैन । आज विभिन्न स्थानबाट विभिन्न रूपमा संघर्ष संगठित भइरहेकाछन्, गरिरहेछन् भलै सुसुप्त किन नहोस्, सुरूमा सुसुप्त नै हुने हो । छैन भनेपनि अब समयले, संघर्षले जन्माउनेछ । जसले नव नेपाल निर्माण गर्नेछ । जहाँ अघि भनिएका हरेक क्षेत्रमा परिवर्तन हुनेछ, भएको हुनेछ जसलाई हामीले बनाएको समाजवाद भनेर गौरव बोध गर्न पाउनुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment