Comments Add Comment

अपरेसन गरेको महिलाको मृत्युपछि नोबेल मेडिकल कलेजमा तनाव

२७ असोज, विराटनगर । पाठेघरको शल्यक्रियाका लागि भर्ना भएकी महिलाको मृत्युपछि नोबेल मेडिकल कलेजमा मंगलबार दिनभर तनाब भएको छ । आइतबार अस्पताल भर्ना भएकी महिलाको मंगलबार बिहान मृत्युपछि आफन्तले आन्दोलन गर्दा मंगलबार दिनभर अस्पताल क्षेत्र तनावग्रस्त रह्यो ।

सोलुखुम्बुको नेचासल्यान– ४ की ३५ वर्षीया तारादेवी भट्टराईलाई पाठेघरको शल्यक्रिया (अपरेसन)का लागि श्रीमान ओमले आइतबार अस्पताल भर्ना गराएका थिए ।

सोमबार बिहान ९ बजे शल्यक्रिया गर्ने कार्यतालिका थियो । करिब १० घण्टाको अन्तरमा दुईवटा शल्यक्रिया गरेपछि महिलाको मृत्यु भएको भन्दै आफन्तलाई मंगलबार बिहान जानकारी गराइएको थियो । चिकित्सको लापरवाहीका कारण महिलाको मृत्यु भएको दाबि गर्दै आफन्तले शव बुझेका छैनन् ।

आन्द्रा काटेको आरोप

महिलाका श्रीमान ओम भट्टराईका अनुसार पीसीआर जाँचपछि तारालाई आइतबार अस्पताल भर्ना गरिएको थियो । सोमबार बिहान साढे ९ बजे डा. शान्ति सुवेदीको टिमले शल्यक्रिया गरेको थियो । पाठेघरको शल्यक्रिया गर्ने भन्दै अपरेसन थिएटरमा प्रवेश गरेको टोलीले आन्द्रा काटिदिएको उनको आरोप छ ।

‘पाठेघरको शल्यक्रिया गर्दा आन्द्राको ट्यूमर देखिएको भन्दै चिकित्सकले पाठेघर र ट्यूमर फालेको जानकारी गराए’ उनले भने ‘शल्यक्रियाअघि परीक्षण गर्दा ट्यूमर देखिएको थिएन । शल्यक्रियापछि एक्कासी जानकारी गराउँदा अलमलमा परेँ, तर राम्रै भयो भन्दै डाक्टरलाई धन्यवाद दिएँ ।’

अपरेसन थिएटरबाट निकाल्दा श्रीमतीको अवस्था सामान्य रहेको उनले बताए । तर सोमबार बेलुका चिकित्सकले तुरुन्त अर्को अपरेसन गर्नुपर्ने जानकारी गराए । अपरेसन थिएटरमा लैजानका लागि हतार गरेका चिकित्सकले करिब आधा घण्टा पछि अचेत अवस्थामा अक्सिजनसहित बाहिर निकालेर भेण्टिलेटरमा राखेको र मंगलबार विहान मृत्यु भएको जानकारी गराएको ओमले बताए ।

ट्यूमर निकाल्ने बाहनामा चिकित्सकले विरामीको आन्द्रा काटिदिएको उनको दाबी छ । ‘बेलुका रगत रोकिएन भन्दै शल्यक्रिया गर्न लिएर गए’ उनले भने ‘पाठेघरको अपरेसन भने तर जानकारी नदिई आन्द्रा काटिदिए ।’

मृत्युपछि उपचारमा लापरवाही गर्नेलाई कारवाहीको माग गर्दै आन्दोलन गरेको उनले बताए । लापरवाही गर्नेलाई कारवाही नभएसम्म विरामीको शव नउठाउने उनले बताए ।

अस्पताल मौन

शल्यक्रियामा लापरवाहीका कारण विरामीको मृत्यु भएको आरोप लागेपनि नोबेल मेडिकल कलेजले भने कुनै प्रतिक्रिया दिएको छैन ।

अस्पताल प्रशासनले मंगलबार दिउँसो मृतकका आफन्तसँग छलफल गर्ने भनेर बोलाए पनि छलफल गरेन ।

मेडिकल कलेजका प्रबन्धक दिपेश राईले आफू काठमाडौं भएका कारण केही जानकारी नभएको बताए । अर्का प्रबन्धक नारायण दाहालले घटनाका विषयमा बोल्न चाहेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment