Comments Add Comment

मुस्ताङबाट हिँडाइयो ६ हजार च्यांग्रा, किसानको गोठमै महंगियो भाउ

२९ असोज, काठमाडौं । कोभिड-१९ का कारण कोरला नाका ठप्प भएपछि दशैंमा मुस्ताङ्गे च्यांग्राको भाउ महंगिएको छ ।

तिब्बतबाट च्यांग्रा ल्याउन नपाउँदा मुस्ताङमा एउटै च्यांग्राको भाउ प्रतिगोटामै पाँच देखि ७ हजारसम्मले महंगिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई कार्यालय मुस्ताङले जनाएको छ ।

गतवर्ष किसानले २२ हजार प्रतिगोटामा बिक्री गरेको च्यांग्राको भाउ यसपटक २७ हजार भन्दामाथि पुगेको आयोजना कार्यन्वयन इकाइ प्रमुख सुधीर थापाले जानकारी दिए ।

मूल थलोमै महंगो भएपछि बजारमा च्यांग्राको भाउ अझै बढ्न सक्ने उनको अनुमान छ । बिहीबारसम्म यसवर्ष मुस्ताङमा हुर्केका जम्मा ६ हजार च्यांग्रा बिक्रीका लागि पठाइएको थापाले बताए ।

‘यस वर्ष मुस्ताङमा धेरै च्यांग्रा भएनन्, जम्मा ६ हजार च्यांग्रा तलतिर पठाइएको छ, अब मुस्ताङमा च्यांग्रा सकिए,’ थापाले भने ।

सामान्य अवस्थामा व्यापारीहरुले दशैंलाई लक्षित गर्दै तिब्बतबाट च्यांग्रा ल्याउने गरेकोमा यस वर्ष यस्तो नभएको थापाको भनाइ छ ।

कोभिड-१९का कारण चीनले लामो समयदेखि नाका ठप्प बनाउँदा च्यांग्रा मुस्ताङ आउन नपाएको मुस्ताङ्गका स्थानीय विष्णु थकालीले बताए ।

‘किसानले पनि विभिन्न बहानामा धेरै च्यांग्रा पाल्न सकेनन्, पालेकाहरुले धेरै भाउ पाए,’ उनले भने ।

सामान्य अवस्थामा मुस्ताङ र तिब्बतबीच वर्षको दुई पटक व्यापार हुने गरेकोमा कोरोनाका कारण यस वर्षको व्यापार नभएको जिल्ला समन्वय समिति मुस्ताङका उपाध्यक्ष राजेन्द्र शेरचन बताउँछन् ।

जेठ र साउनमा हुने मेलामा नेपाली वस्तु तिब्बतीयनहरुले किन्ने र च्यांग्रा तथा खसीको पाठा नेपालीहरुले किनेर पाल्ने गरेको भएपनि यसवर्ष त्यो मेला हुन नपाएको शेरचनको भनाइ छ ।

यसवर्ष मुस्ताङमा भेडा नभएको र च्यांग्राको भाउ पनि होलसेलमै २७ हजार भन्दा बढी भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment