News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल मेडिकल काउन्सिलले काठमाडौंको ठमेलस्थित गैरकानुनी रूपमा सञ्चालित एसटीडी ट्रिटमेन्ट क्लिनिकलाई तत्काल सिलबन्दी गरी बन्द गर्न सम्बन्धित निकायलाई सिफारिश गरेको छ।
- काउन्सिलले क्लिनिकमा कार्यरत चिकित्सकहरूले लाइसेन्सबिना र दर्ता नभएका उपाधिको प्रयोग गरी उपचार गरेको पाइएपछि कारबाही प्रक्रिया अघि बढाएको छ।
- क्लिनिकको फार्मेसी र औषधिको स्रोतबारे अनुसन्धान गर्न काउन्सिलले औषधि व्यवस्था विभागलाई पत्राचार गरेको छ।
३० साउन, काठमाडौं । नेपाल मेडिकल काउन्सिलले काठमाडौं महानगरपालिका-२६, ठमेलमा सञ्चालित ‘एसटीडी ट्रिटमेन्ट क्लिनिक’लाई तत्काल सिलबन्दी गरी बन्द गर्न सम्बन्धित निकायलाई सिफारिस गरेको छ।
काउन्सिलले क्लिनिकविरुद्ध परेको उजुरीका आधारमा गठित छानबिन टोलीको प्रतिवेदन तथा नेपाल मेडिकल काउन्सिल ऐन, २०२० र नियमावली, २०२४ बमोजिम निर्णय गर्दै कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ।
काउन्सिलले स्वीकृति नलिई गैरकानुनी रूपमा सञ्चालन गरिएको उक्त क्लिनिक’लाई तत्काल सिलबन्दी गरी बन्द गराउन तथा त्यसका डिजिटल तथा मेडिकल रेकर्डहरू नियन्त्रणमा लिनसमेत सिफारिस गरेको छ।
काउन्सिलका अनुसार क्लिनिकमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीसम्बन्धी विभिन्न विषयमा समेत कारबाही प्रक्रिया अघि बढाइएको छ। एक जना चिकित्सकले म्याद समाप्त भएको लाइसेन्स प्रयोग गरी कार्यक्षेत्रबाहिर गई उपचार गरेको पाइएपछि स्पष्टीकरण मागेर कारबाही प्रक्रिया अघि बढाइएको काउन्सिलले जनाएको छ।
त्यस्तै, अर्का एक चिकित्सकले काउन्सिलमा दर्ता नभएको उपाधि प्रयोग गरी भ्रम सिर्जना गरेको पाइएपछि उनीविरुद्ध पनि कारबाही प्रक्रिया अघि बढाइएको छ।
एक जना विदेशी चिकित्सकको शैक्षिक योग्यता र संलग्नतासम्बन्धी आधिकारिक अभिलेख तथा थप जाँच भइरहेको काउन्सिलले जनाएको छ। त्यस्तै, एक जना चिकित्सकले दाबी गरेको प्रशिक्षण प्रमाणपत्रको आधिकारिकता अध्ययन भइरहेको छ।
क्लिनिकमा दर्ता तथा इजाजतपत्रबिना कार्यरत स्वास्थ्य सहायकलगायतका स्वास्थ्यकर्मीलाई कारबाहीका लागि सम्बन्धित विषयगत परिषद्हरूमा सिफारिस गरिएको पनि काउन्सिलले जनाएको छ।
त्यस्तै, गैरकानुनी रूपमा सञ्चालन गरिएको फार्मेसी र औषधिको स्रोतबारे विस्तृत अनुसन्धान गरी आवश्यक कारबाहीका लागि औषधि व्यवस्था विभागमा लेखी पठाइएको काउन्सिलले जनाएको छ।

प्रतिक्रिया 4