११ जेठ, काठमाडौं । लगातार लामो समयसम्मको ड्युटीका कारण आवासीय चिकित्सक(रेजिडेन्स डाक्टर) को शारीरिक तथा मानसिक स्वास्थ्यमा गम्भीर असर परिरहेको भन्दै नेपाल मेडिकल काउन्सिलले अस्पताल र शिक्षण संस्थालाई ड्युटी आवर व्यवस्थित गर्न निर्देशन दिएको छ ।
काउन्सिलमा लगातार ३६ घण्टासम्म ड्युटीमा खटाएको गुनासो आएपछि काउन्सिलले ड्युटी समयलाई व्यवस्थित गर्न सोमबार विज्ञप्ति निकालेको हो ।
काउन्सिलले अत्यधिक कार्यबोझका कारण चिकित्सकमा मानसिक तनाव, शारीरिक थकान, निद्राको अभाव तथा आत्महत्यासम्मका जोखिम बढिरहेको उल्लेख गर्दै यसले बिरामीको उपचार प्रणालीमै नकारात्मक प्रभाव पार्ने जनाएको छ ।
नेपाल मेडिकल काउन्सिलले ल्याएको ‘रेगुलेसन फर पीजी मेडिकल एजुकेसन एमडी–एमएस प्रोग्राम २०१७’ मा स्नातकोत्तर तहका रेजिडेन्सलाई २४ घण्टा ड्युटी हप्तामा दुई वटाभन्दा बढी लगाउन नपाइने भनेर प्रष्ट उल्लेख छ ।
यसभन्दा बढी ड्युटी गराइएमा त्यो नियमविपरीत हुने काउन्सिलको भनाइ छ ।
‘रेजिडेन्ट चिकित्सकलाई हप्तामा नियमित ड्युटी बाहेक सामान्यता बढी दुई पटक मात्र २४ घन्टाको ड्युटीमा खटाउन सकिने व्यवस्था छ,’ विज्ञप्तिमा भनिएको छ, ‘ यस नियमको मर्म विपरित लगातार अत्याधिक कार्यबोझ दिन उपयुक्त हुँदैन ।’
चिकित्सा शिक्षाको स्नातकोत्तर तह अध्ययन गरिरहेका आवासीय चिकित्सकले अध्ययनसँगै विशेषज्ञ चिकित्सक निगरानी रहेर बिरामीको सेवा गर्नुपर्ने हुन्छ ।
आवासीय चिकित्सकले अस्पतालमा भर्ना भएका र आकस्मिक उपचारका लागि आएका बिरामीको स्वास्थ्य जाँच गर्ने, भर्ना गर्ने, विभिन्न वार्डमा जिम्मेवारी लिएर काम गर्नुपर्ने, डिस्चार्ज गर्नेलगायत काममा निरन्तर खटिनुपर्छ । बिरामी भर्ना गरेर राख्नुपर्ने इन प्यासेन्ट वार्ड र सर्जरी सेवा विभागहरूमा कार्यरत आवासीय चिकित्सकले बढी समय ड्युटी गर्नुपर्छ ।
एक आवासीय डाक्टर भन्छन्, ‘खाना खाने, शौच गर्ने र रातको समयमा कुनै अनपेक्षित घटना भएन भने एकाध घण्टा ब्रेक हुन्छ । नभए ३६ घण्टामा ३४–३५ घण्टा नै काम गर्ने अपेक्षा हुन्छ ।’
देशभर सञ्चालित विश्वविद्यालय, प्रतिष्ठान तथा मेडिकल कलेजहरूमा अध्ययनरत एमडी, एमएस तथा एमडीएस तहका रेजिडेन्ट चिकित्सकलाई लामो समयसम्म निरन्तर काममा लगाउने प्रवृत्ति बढिरहेको भन्दै त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको काउन्सिलका निमित्त रजिस्ट्रार डा. दीपेन्द्र पाण्डेले बताए ।
‘रेजिडेन्ट चिकित्सकलाई लगातार २४ देखि ३६ घण्टासम्म ड्युटी गराउने प्रचलनले उनीहरूको स्वास्थ्यमा प्रतिकूल असर पार्नुका साथै बिरामी सुरक्षामा समेत चुनौती सिर्जना गरेको देखिन्छ,’ डा. पाण्डे भन्छन् ।
चिकित्सकलाई पर्याप्त विश्राम, निद्रा र व्यक्तिगत समय सुनिश्चित गर्नुपर्ने उल्लेख गर्दै अत्यधिक ड्युटीले निर्णय क्षमता कमजोर हुने, उपचारमा त्रुटि बढ्ने र बिरामी सुरक्षामै असर पर्ने निष्कर्ष काउन्सिलले निकालेको छ ।
एनएमसी कोड अफ एथिक्स एन्ड प्रोफेसनल कन्डक्ट–२०१७ को दफा ८ व्यवस्थाअनुसार प्रत्येक चिकित्सकले उचित शारीरिक तथा मानसिक अवस्थामा रहेर मात्रै सेवा दिनुपर्ने उल्लेख छ ।
काउन्सिलले शिक्षण संस्थाहरूलाई रेजिडेन्ट चिकित्सकको सुरक्षा, मानसिक स्वास्थ्य र कार्यस्थल वातावरणलाई प्राथमिकतामा राख्न निर्देशन दिएको छ ।
नेपालका धेरै सरकारी तथा निजी शिक्षण अस्पतालमा रेजिडेन्ट चिकित्सकले अत्यधिक कार्यबोझ खेप्दै आएको गुनासो बारम्बार उठ्दै आएको छ ।
चिकित्सकहरूले लगातारको ड्युटी, न्यून विश्राम र उच्च तनावका कारण आफूहरू शारीरिक तथा मानसिक रूपमा थकित हुने गरेको बताउँदै आएका छन् । केही वर्षयता रेजिडेन्ट चिकित्सकमा डिप्रेसन, बर्नआउट र आत्महत्याका घटनाबारे समेत हुँदै आएको छ ।
काउन्सिलको विज्ञप्तिमा भनिएको छ, ‘सबै शिक्षण संस्थाले आफ्ना रेजिरेन्ट चिकित्सकलाई ड्युटी रोस्टर प्रचलित नियम अनुकूल हुने गरी परिमार्जन गर्नुपर्नेछ । लगातार २४ घण्टाको आकस्मि ड्युटीपश्चात अनिवार्य विश्रामको व्यस्थापन मिलाउनुपर्ने छ ।’
प्रतिक्रिया 4