+
+
Shares

२६ देशका १७६ सगरमाथा आरोही काठमाडौं आउँदै

एभरेस्ट अलायन्स नेपालको आयोजना तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहकार्यमा दोस्रो एभरेस्ट समिटर्स समिट जेठ २७ गते काठमाडौंमा आयोजना हुँदैछ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ११ गते २०:२६

११ जेठ, काठमाडौं । दोस्रो संस्करणको ‘एभरेस्ट समिटर्स समिट–२०२६’ मा सहभागी हुन २६ देशका १७६ सगरमाथा आरोही काठमाडौंमा आउने भएका छन् ।

एभरेस्ट अलायन्स नेपालको आयोजना तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहकार्यमा दोस्रो एभरेस्ट समिटर्स समिट जेठ २७ गते काठमाडौंमा आयोजना हुँदैछ ।

जसमा यसवर्ष विश्वका २६ देशका १७६ सगरमाथा आरोहीलाई विशेष पदक र प्रमाणपत्रसहित सम्मान गरिने एभरेस्ट अलायन्स नेपालका अध्यक्ष सुदर्शन नेपालले बताए ।

‘हामीले गतवर्षदेखि सगरमाथा आरोहीलाई सम्मान गर्ने उद्देश्यले यो कार्यक्रम सुरुआत गरेका थियौँ’, उनले भने, ‘पहिलो संस्करण भव्य रूपमा सम्पन्न हुनुले नै यसको महत्व र दायरा प्रष्ट पारेको छ ।’ समिट नेपालको मात्र नभई विश्वव्यापी मञ्च बनिसकेको उनले दाबी गरे ।

‘यसपटक नेपाल सरकारको प्रत्यक्ष सहकार्य र समन्वय रहेकाले हामी थप उत्साहित भएका छौँ,’ उनले भने ।

हिमालयको भविष्यका लागि एकजुट आवाज भर्ने र विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहीहरूको अद्वितीय साहस र योगदानलाई कदर गर्ने उद्देश्यले समिट गर्न लागिएको आयोजकले जनाएको छ । यसबाट नेपालको पर्वतीय पर्यटनलाई विश्वमाझ अझ उच्च राख्न र साहसी आरोहीको सम्मानका लागि मद्दत पुग्ने आयोजकको विश्वास छ ।

यो संस्करणमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थिति रहनेछ । राष्ट्रपति पौडेलले ‘समिटर्स ब्रेकफास्ट’ मा सरिक भई आरोहीहरूसँग साक्षात्कार गर्ने कार्यक्रम तय भएको छ । –रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?