Comments Add Comment

‘समृद्धिका आधार’ खोज्न हिँड्दा ऋणमा चुर्लुम्म !

कृषि अभियन्ता जीवनप्रसाद राई भन्छन्- मेरो पुस्तक बैंकर र लगानीकर्ताले पढिदिऊन्

१ कात्तिक, काठमाडौं । नेपाली कृषि–पर्यटनको सम्भावना बुझ्न ७ वर्ष, ९ महिना, १९ दिन लगाएर देशका ७७ वटै जिल्ला भ्रमण गरेका जीवनप्रसाद राईले निचोडका रूपमा ‘समृद्धिका आधार’ नामक पुस्तक लेखे । २०६७ माघ १२ गतेदेखि २०७४ मंसिर ५ सम्म देशको कुनाकाप्चा घुम्दा देखेका प्राकृतिक स्रोत, कृषि र पर्यटनको अवस्था र भेटेका किसानहरूको वयानबाट आफूले नेपालको हरेक ठाउँ सम्भावनायुक्त पाएको उनले पुस्तकमा उल्लेख गरेका छन् ।

पुस्तकको नाम सुन्दा नेपाल समृद्ध बनाउने आधार के के हुन् भन्ने विषयमा लेखिएकोजस्तो लागे पनि उनले कृषि र कृषि-पर्यटनलाई समृद्धिको आधार भनेका छन् र पुस्तक यसैको सेरोफेरोमा छ ।

यो मूलतः यात्रा विवरण भएको हुनाले राईले ७७ जिल्लाको आफू पुगेको ठाउँ, त्यहाँको कृषि व्यवसाय, कृषिमा सम्भावनाको अवस्था, किसानको सफलता, सम्बन्धित गाउँठाउँको प्राकृतिक सम्पदा र पर्यटकीय सम्भावनाबारे सरसरती वयान गरेका छन् । उनको पुस्तक कुनै खेती, कुनै कृषि व्यवसायी र उनीहरूको सफलता वा असफलतामा केन्द्रित छैन । आफू पुगेको ठाउँको कृषि, किसानको मेहनत र प्राकृतिक सम्पदाको अवस्था छोटोमा उल्लेख गरेर उनले नेपालको हरेक ठाउँ सम्भावनाहरूले युक्त रहेको बुझाउन खोजेका छन् ।

आफ्नै खर्चमा देशको कृषिको अवस्था बुझ्न निस्कनु सह्रानीय काम हो । यस उपक्रममा ३२ लाख रूपैयाँ र ७ वर्ष ९ महिना समय खर्च भएको लेखकले बताएका छन् । यसरी व्यक्तिगत खर्चमा देश विकासको पहल गर्नु धेरैका लागि असम्भव कुरा हो र कतिपयले त यसलाई पागलपनकै संज्ञा दिन पनि सक्छन् । तर, जीवनप्रसाद राईले यो काम पूरा गरेर देखाएका छन् ।

हाल धनकुटामा तेखिमे कृषि परामर्श फर्म सञ्चालन गरिरहेका राई पाख्रिबास नगरपालिकामा– ५ मा कफीका लाख विरूवा उत्पादनमा पनि लागिपरेका छन् । यसबाहेक धनकुटा नगरपालिकामा एभोकाडो पकेट क्षेत्र विस्तार कार्यक्रममा पनि उनी लागेका छन् ।

पुस्तकबारे कुरा गर्न टेलिफोन गर्दा उनी कृषिसम्बन्धी तालिममा थिए । देश घुम्दा लिएको ऋणको ब्याजले थिच्चिँदा आफू निकै अप्ठेरोमा परेको, भ्रमण सकेको दुई वर्षमा आफ्नै आम्दानीबाट ६/७ लाख ऋण तिरेको र अब तीन वर्षमा सबै ऋण तिरिसक्ने लक्ष्य राखेको राईले बताए ।

प्रस्तुत छ ‘समृद्धिका आधार’ पुस्तक र लेखकको देश भ्रमणको सेरोफेरोमा रहेर अनलाइनखबरकर्मी विनोद ढकालले गरेको कुराकानी :

७ वर्ष देश घुम्दाको निश्कर्ष के रह्यो ?

मैले मुख्यतः तीन कुरा फेला पारें । पहिलो मानव स्रोत । देश भ्रमणका क्रममा धेरै मानवीय स्रोत वा मानव प्रतिभा फेला पारें । मैले भेटेका धेरै ऊर्जावान मानिस र प्रतिभा लगानी अभावले खुम्चिएर बसेका छन् ।

प्राकृतिक रूपमा उपलब्ध स्रोत–साधनको अधिकतम उपयोग पनि समृद्धिको अर्को आधार हो । पानी, वन र वनस्पति, यहाँको खानपान र संस्कृतिको उपयोग र परिचालनको अथाह सम्भावना छ ।

तेस्रोमा यी दुबै कुराको व्यवस्थापन कुरा आउँछ । मानव स्रोत र प्राकतिक स्रोतको सही व्यवस्थापन गरेर मुलुकलाई समृद्ध बनाउन सकिन्छ ।

तपाईंले देश भ्रमण गर्दा कतिपय सफल र कतिपय असफल कृषक भेट्नुभयो, उनीहरू के कारणले ‘सफल’ र ‘असफल’ रहेछन् ?

निरन्तर एउटै काममा लागिरहेकाहरू सफल छन् । तर, सहरमा अरू नै व्यवसाय गर्ने र गाउँमा कृषि व्यवसाय पनि गर्न खोज्ने, कृषिमा प्रशस्त अनुदान छ भनेर काम गर्न खोज्नेहरू कम सफल वा असफल भएका छन् ।

तपाईंको यो पुस्तक किसानका लागि कत्तिको सर्वसुलभ होला ?

कृषि व्यवसायमा लागेकाहरूले पुस्तक किनेर पढ्न आर्थिक रूपले समस्या छैन । कुखुरा, बंगुर, गाई पालेर बस्ने, व्यावसायिक तरकारी खेती, कफी, फलफूल खेती गर्नेहरूले राम्रै आम्दानी गरिरहेका छन् । उनीहरूलाई यो किताब किन्न केही समस्या हुँदैन । तर, दूर–दराजमा पुस्तकहरू पुर्याउने संयन्त्र नै नहुँदा कृषकको हातमा किताब पुग्न गाह्रो छ ।

सहरमा लगानी गर्ने क्षमता भएका उद्योगी, व्यवसायी, बैंकहरू छन् । मेरो किताब उनीहरूका लागि पनि उपयोगी छ । खासमा मैले गरेजस्तो खोज, अनुसन्धानमा उनीहरूले लगानी गर्नुपथ्र्यो । तर, गरेका छैनन् र गर्दैनन् पनि । त्यसैले यो पुस्तक उनीहरूका लागि निकै महत्त्वपूर्ण र प्रभावकारी हुन्छ । उनीहरूले मेरो पुस्तक पढिदिऊन् भन्ने चाहना छ ।

तपाईंले सिंगो देश घुमेर देखेका विषय यो पुस्तकमा उल्लेख भएजति मात्रै हो ?

यो त यात्रा संस्मरणमात्र हो । देश भ्रमणमा देखेका कुराहरू विस्तारमा लेख्नुपर्नेछ । मैले एभोकाडो, केशर, ट्रोफल, टिमुर, रिठ्ठा, चिउरीजस्ता धेरै खेतीको विषयमा यो पुस्तकमा संक्षिप्तमात्र लेखेको छु । त्यसको खेती कसरी गर्ने, राष्ट्रिय–अन्तर्राष्ट्रिय बजार कस्तो छ, त्यसको प्रशोधन कसरी गर्ने, केके समस्या छन् भन्ने विषयमा विस्तृतमा लेख्नुपर्नेछ ।

अब हरेक तीनवटा फलफूल वा कृषि व्यवसायको छुट्टै एउटा पुस्तक लेख्ने योजना छ । देश भ्रमणका देखेका कृषि–पर्यटनसँग सम्बन्धीत विषय, भौगोलिक, जनसांखिक अवस्था र खानपानको विषय समेट्न अरू सातवटा पुस्तक लेख्नुपर्छ ।

यात्राका क्रममा खाएको, पिएको, सुखद–दुखद क्षण र अनुभूति बढी लेख्नुभएको छ, यसले किसानलाई कसरी उत्प्रेरित गर्ला ?

देशभरका प्रतिबद्ध किसानलाई एकै ठाउँमा समेट्न मैले आफ्नै खर्चमा देश भ्रमण गरेँ । जुम्लाको गोविन्द शाहीलाई भेट्न गाडी चढेर गएँ, व्यक्तिगत पैसा र समय खर्च गरेँ । उहाँले गर्नुभएको केशर खेतीबारे पुस्तकमा थोरै भए पनि उल्लेख गरेँ । संक्षिप्तमा भए पनि ७७ वटै जिल्लाका किसानबारे उल्लेख गरेको छु । उहाँहरूले महत्वपूर्ण काम नगरेको भए म खर्च गरेर पुग्ने थिइनँ । आफ्नो विषय पुस्तकमा समेटिँदा उहाँहरूलाई प्रोत्साहन नै मिल्ला ।

नयाँ मान्छेले पुस्तक पढेरै व्यवसाय गर्न त नसक्ने रहेछ नि ?

कृषि क्षेत्रमा अथाह सम्भावना छ । त्यससम्बन्धी ज्ञान मेरो पुस्तकले दिन्छ । कसैलाई व्यवसाय नै सुरु गर्न भने थप परामर्श आवश्यक पर्छ ।

तपाईंको पुस्तकले खिचेको ‘शब्दचित्र’ नै देशको समग्र कृषिको अवस्था हो ?

सरकारी स्रोत–साधन प्रयोग गर्न पाएको भए धेरै कुरा समेट्न सक्थें । मलाई ऋण लाग्ने थिएन, घुम्न सहज हुन्थ्यो, सम्भवतः आम्दानी पनि हुन्थ्यो । तर, व्यक्तिहरूको ऋण लिएर काम धेरै समेट्न सकिन, धेरै ठाउँमा पुग्न सकिनँ भन्ने लाग्छ । धेरै कुरा समेट्ने कोसिस भने गरेको छु ।

कृषिका विषयमा लेखिएका धेरै पुस्तक प्राविधिक खालका छन् । कृषिमा किन कम लेखिएको होला ?

नेपालमा धेरै मान्छे जागिर खान कृषि विषय पढ्छन् । जागिर खान सकेसम्म विदेश पलायन हुन्छन् । कृषि पढेकाहरू ७० प्रतिशत त नेपाल बस्दैनन् । कृषि पढेको मान्छेले नेपाली कृषिमा सम्भावना नै देख्दैन । म कृषि नपढेको मान्छे यसमा लागें र अथाह सम्भावना देखें ।

कृषि पढेकाहरूले प्राविधिक कुरामात्र लेख्छन् । ती पुस्तकमा उत्प्रेरणा, उत्साहका कुरा हुँदैन । नेपालमा कृषि विषयमा धेरै कुरा निराशाजनक मात्र हुन्छन् । मन्त्रीले यति करोड खायो, यति करोड अनुदान किसानले पाएनन्, विचौलियाले खायो भन्नेजस्ता कुरा धेरै आउँछन् ।

यस्ता कुराले किसानलाई निरूत्साहित बनाउँछ । बाख्रा–गाई पालेर गाउँमा जम्न लागेको मान्छेको कानमा कुरा भरिदियो भने सबथोक बेचेर विदेश जान कस्सिन सक्छ । उसलाई त यो जातको घाँस रोप्नुस्, यस्तो बाख्रा पाल्नुस् भनेर आशा जगाउनुपर्छ । मेरो पुस्तकमा त्यो पाउनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment