Comments Add Comment

अमेरिका-चीन द्वन्द्व बढ्नुका आठ कारण

१ कात्तिक, काठमाडौं । विश्वका दुई शक्तिशाली मुलुक अमेरिका र चीनको सम्बन्ध यतिबेला इतिहासकै नाजुक अवस्थामा छ । चार वर्षअघि अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प नियुक्त भएपछि बिस्तारै तनावको दिशातर्फ उन्मुख द्विपक्षीय सम्बन्ध झनै बिग्रँदो छ ।

सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपति निर्वाचनमा नै ट्रम्पले चीन विरोधी नीति लिएका थिए । सोही नीति कार्यान्वयन गर्दै जाँदा चीनसँगको अमेरिकाको सम्बन्ध बिग्रेको हो । त्यसैले पनि ट्रम्प यस मामिलामा त्यति चिन्तित देखिदैनन् ।

त्यसो त चीनसँग अमेरिकाको पहिला पनि राम्रो सम्बन्ध भने थिएन । तर, ट्रम्पको आगमनले भने यो सम्बन्ध थप चिस्याउने काम गर्‍यो । यहाँ अमेरिका-चीन सम्बन्ध अहिलेसम्मकै कमजोर अवस्थामा आउनुका कारणहरु यहाँँ प्रस्तुत गरिएको छः

व्यापार युद्ध

अमेरिका-चीनको सम्बन्ध चिस्याउने सबैभन्दा ठूलो कारण व्यापार युद्ध हो । अमेरिकाको सबैभन्दा ठूलो व्यापारिक सम्बन्ध रहेको चीनसँग उसको व्यापार घाटा पनि धेरै छ । त्यसैले ट्रम्पले व्यापारघाटा घटाउने नीति लिए र केही कदमहरु चाले तर चीनले आफ्नो नीतिमा कुनै पनि परिवर्तन ल्याएन । त्यसपछि सन् २०१८ देखि अमेरिका र चीनले विभिन्न चरणमा एकअर्कामाथि अतिरिक्त भन्सार शुल्क लगाउँदै आएका छन् ।

बीबीसीका अनुसार अहिलेसम्म अमेरिकाले चीनबाट आउने पाँच खर्ब ५० अर्ब डलरभन्दा बढी मूल्यका चिनियाँ सामग्रीमा र चीनले पनि एक खर्ब ८५ अर्ब डलरभन्दा बढीका अमेरिकी सामग्रीमा अतिरिक्त भन्सार शुल्क लगाएका छन् ।

लामो समयको रस्साकस्सीपछि गत जनवरी १५ मा दुई मुलुकको बीचमा पहिलो चरणको व्यापार सम्झौता भएको थियो । तर, यो सम्झौता पनि कोरोना भाइरस (कोभिड-१९) को महामारीको कारण पालना हुन सकेको छैन । यसै क्रममा अमेरिकाले चिनियाँ प्रविधि कम्पनीमाथि प्रतिबन्ध पनि लगाइसकेको छ । त्यसैले व्यापार र प्रविधिका विषयमा दुई देशबीच द्वन्द्व बढिरहेको छ ।

मानव अधिकारको मुद्दा

अमेरिका-चीनबीच मानव अधिकारको विषयमा पनि विवाद रहेने गरेको छ । पछिल्ला वर्षहरुमा अमेरिकाले यो मुद्धालाई झनै चर्काएको छ । अमेरिकाले सिन्चियाङ प्रान्तमा रहेका वीगुर मुस्लिमहरु माथि चिनियाँ अधिकारीले ज्यादती र दमन गर्दै आएको आरोप लगाउने गरेको छ । यद्यपि चीनले भने उक्त आरोप अस्वीकार गर्दै आफ्ना नागरिकको मानव अधिकारको विषयमा आफू संवेदनशील रहेको भन्दै आफ्नो बचाउ गर्दै आएको छ ।

दक्षिण चीन सागरको विवाद

अमेरिकाले चीनमाथि दक्षिण चीन सागरमा आफ्नो दादागिरी देखाउने गरेको आरोप लगाउने गरेको छ । दक्षिण चीन सागरमा चीन, ताइवान, फिलिपिन्स, इन्डोनेसिया, मलेसिया र भियतनामले आफ्नो दाबी गर्दै आएका छन् । यसै क्रममा पछिल्लो समय अमेरिकाले दक्षिण चीन सागरमा आफ्नो निगरानी बढाएको छ । दक्षिण चीन सागरमा निगरानी गर्ने क्रममा अमेरिकाले गत सेप्टेम्बरमा ६० ओटा जासुसी विमान चीन नजिकै पठाएको साउथ चाइना मर्निङ पोस्टले उल्लेख गरेको थियो ।

कोरोना भाइरस

कोरोना भाइरस (कोभिड-१९) को महामारी चीनबाट सुरु भयो । यो महामारी सुरु भएपछि यसअघिको नराम्रो सम्बन्धलाई भुलेर अमेरिका र चीनले एकसाथ यसविरुद्ध लड्ने अपेक्षा गरिएको थियो ।

तर, यो महामारीले दुई मुलुकको सम्बन्ध थप नराम्रो बन्न पुग्यो । सुरुमा भाइरसको उत्पत्तिको विषयमा देखिएको विवाद देखिएको थियो । पछिल्लो केही समययता ट्रम्पले चीनले महामारीको मूल्य चुकाउनुपर्ने बताउँदै आएका छन् । तर, चीनले भने ट्रम्पको दाबी निराधार रहेको बताउँदै आएको छ । यतिसम्म कि अमेरिकी राष्ट्रपतिले यसलाई चिनियाँ भाइरस समेत भने ।

त्यस्तै महामारीको समयमा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले पनि चीनको साथ दिएको भन्दै अमेरिकाले डब्ल्यूएचओबाट बाहिरिने र उसलाई दिँदै आएको कोष पनि रोक्ने निर्णय गरिसकेको छ ।

ताइवान मुद्दा

कोरोना महामारीमा चीनसँग निकट रहेर पनि यसको नियन्त्रणमा सफल रहेको ताइवान पनि अमेरिका-चीन सम्बन्ध नराम्रो बन्नुको एक कारण हो । विशेषगरी उसले कोरोनाविरुद्ध पाएको सफलता समग्र विश्वले अनुकरण गर्न सक्ने भन्दै उसलाई डब्ल्यूएचओमा प्रवेश दिनुपर्ने अमेरिकाले बताउँदै आएको छ । तर, चीनले ताइवानलाई आफ्नो हिस्सा बताउँदै आएको छ । डब्ल्यूएचओमा संयुक्त राष्ट्रसंघको सदस्य भएका मुलुकले मात्र सामेल हुन पाउँछन् ।

चीनले आफ्नो एक चीन नीति अन्तर्गत ताइवानलाई आफ्नो एक हिस्साको रुपमा छान्न आफूसँग दौत्य सम्बन्ध कायम रहेका मुलुकलाई आग्रह गर्दै आएको छ । तर, अमेरिकाले भने उक्त नीति अस्वीकार गर्दै आएको छ । जसले दुई मुलुकको सम्बन्ध थप चिसिएको हो ।

हङकङको सुरक्षा नीति

कोरोना महामारीकै बीचमा चीनले हङकङका लागि नयाँ सुरक्षा कानुन ल्यायो । यो सुरक्षा कानुनमा गरिएको व्यवस्थामा हङकङका नागरिकहरुमाथि थप केही अंकुश लगाइएको छ भने हङकङमा चीनको प्रभाव कायम राख्न एक कार्यालय पनि स्थापना गरिएको छ । जुन कार्यालयका अधिकारीले स्थानीय कानुन पनि मान्नुपर्दैन ।

यो कानुन सन् १९९७ मा हङकङ बेलायतले चीनलाई सुम्पिँदा भएको सम्झौताको उल्लंघन भएको भन्दै अमेरिका र बेलायतले विरोध गरिरहेका छन् । यद्यपि चीनले भने हङकङमा जारी आन्दोलन नियन्त्रण र शान्ति स्थापनाको लागि यो नियम आवश्यक रहेको भन्दै आफ्नो कदमको बचाउ गर्दै आएको छ ।

तिब्बत मुद्दा

यसैबीच पछिल्लो समय अमेरिका र चीनको बीचमा तिब्बतको मुद्दामा विवाद देखिएको छ । बुधबार अमेरिकी विदेशमन्त्रीले तिब्बतको लागि मानव अधिकार दूत नियुक्त गरेसँगै दुई मुलुकको बीचको विवाद झनै बढेको हो । अमेरिकाले यो कदमको चीनले विरोध गर्दै अमेरिकाले तिब्बतको स्थायित्व नचाहेको आरोप लगाएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ । साथै अमेरिकाले अनावश्यकरुपमा आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप गरेको चीनको आरोप छ ।

हिन्द महासागर रणनीति

अमेरिकाले अगाडि बढाएको इन्डोप्यासिफिक रणनीति अमेरिका र चीनबीच द्वन्द्व बढ्नुको अर्काे कारण हो । विशेषगरी एसिया प्यासिफिक क्षेत्रमा चीनको प्रभावलाई कम गर्न अमेरिकाले यो रणनीति ल्याएको हो । चीनले यसको व्यापक विरोध गरिरहेको छ । त्यस्तै चीनले आफ्नो बेल्ट एण्ड रोड इनिशिएटिभ (बीआरआई) परियोजनालाई जवाफ दिन एमसीसी परियोजना ल्याएको बताइरहेको छ ।

अमेरिका-चीनबीच बढ्दो द्वन्द्व कम्तीमा अमेरिकी निर्वाचनसम्म कायम रहने देखिन्छ । त्यसपछि राष्ट्र्रपतिमा को निर्वाचित हुन्छ, त्यसले धेरै विषय निर्धारण गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment