Comments Add Comment

शिखरको शतकमा दिल्लीले चेन्नाईलाई ५ विकेटले हरायो

२ कात्तिक, काठमाडौं । शिखर धवनको शतक मद्दतमा दिल्ली क्यापिटल्सले चेन्नाई सुपरकिंग्सलाई पाँच विकेटले हराएको छ ।

आईपीएल क्रिकेट अन्तर्गत गएरातिको खेलमा चेन्नाईले दिएको १८० रनको लक्ष्य दिल्लीले एक बल बाँकी रहँदा हासिल गर्यो । चेन्नाईको टोलीबाट चार पटकसम्म जीवनदान पाएका धवनले नटआउट १०१ रन बनाए । उनी म्यान अफ द म्याच भए ।

यो दिल्लीको नौ खेलमा सातौं जित हो । यो जितसँगै दिल्ली अंक तालिकाको पहिलो नम्बरमा पुगेको छ । चेन्नाईले भने छैटौं पटक हार व्यहोर्यो ।

दिल्लीको शुरुवात खराब थियो । पृथ्वी शा दोस्रो बलमै शू्न्य रनमा आउट भए । उनलाई दीपक चहारले आउट गरेका हुन् ।

दोस्रो ओपनर शिखर धवन लयमा देखिए । उनले दोस्रो ओभरमा साम कुरानको बलमा दुई चौका प्रहार गरे । अर्को ओभरमा उनले दीपक चहारको बलमा चौका हानेका थिए ।

तेस्रो नम्बरमा आएका अजिक्य रहाणे पनि क्रिजमा टिक्न सकेनन् । पहिलो ६ बलमा उनले दुई रन बनाए । सातौं बलमा उनले चौका हाने । तर पाँचौं ओभरमा उनलाई पनि दीपक चहारले पेभेलियन फर्काइदिए । रहाणे मात्र आठ रन बनाएर विदा भए ।

त्यसपछि धवनलाई साथ दिन कप्तान श्रेयस अय्यर आए । तेस्रो विकेटका लागि उनीहरुले ७.२ ओभरमा ६८ रन साझेदारी गरे । श्रेयस व्यक्तिगत २३ रनमा आउट भए ।

१० औं ओभरमा धवनले अर्धशतक पूरा गरे । उनले २९ बलमा ५० रन बनाएका थिए । १० औं ओभरपछि दिल्लीको स्कोर दुई विकेटको क्षतिमा ७६ रन थियो । अब बाँकी १० ओभरमा उसलाई १०४ रन चाहिएको थियो ।

११ औं ओभरमा धवनले साम कुरानको बलमा दुई चौका प्रहार गरे । धवन र अय्यरको साझेदारीलाई १२ औं ओभरमा ड्वेन ब्राभोले तोडिदिए । ब्राभोले अय्यरलाई आउट गरे । अय्यरले २३ बलमा २३ रन बनाए ।

त्यसपछि क्रिजमा आएका मार्कस स्टोइनिसले १४ बलमा २४ रन बनाए । अलेक्स क्यारी ४ रनमा आउट हुँदा अक्षर पटेल २१ रनमा नटआउट रहे ।

जितका लागि दिल्लीलाई अन्तिम ओभरमा १७ रन बनाउनुपर्ने थियो । चेन्नाईका कप्तान महेन्द्रसिंह धोनीले रविन्द्र जडेजालाई बल दिए । जडेजाको पहिलो बल वाइड भयो । अर्को बलमा धवनले एक रन लिए । दोस्रो र तेस्रो बलमा अक्षर पट्टेलले छक्का प्रहार गरे । चौथो बलमा दुई रन बटुले र पाँचौं बलमा फेरि छक्का प्रहार गर्दै पटेलले दिल्लीलाई जित दिलाए ।

यसअघि पहिले ब्याटिङ गरेको चेन्नाइले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १७९ रन बनाएको थियो । चेन्नाइका लागि फाप डु प्लेसिसले ५८ रन बनाए । अम्बाती रायडुले नटआउट ४५ रन बनाए । शेन वाटसनले ३६ र रविन्द्र जडेजाले ३३ रन बनाए । जडेजा नटआउट रहे ।

बलिङतर्फ एनरिच नोर्जेले २ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment