Comments Add Comment

कथा : सरोकार

म एउटा कविता सम्झने कोसिस गरिरहेको छु । आफैंले लेखेको । चालीस वर्षअघिको । कुनै बेला चाहिन सक्छ, यो सम्झेर दराजमा जतनका साथ राखेको थिएँ । मेरो दराजमा किताबहरू व्यवस्थित किसिमले राखिएका छैनन् । धेरै किताब, भद्रगोल अवस्था । खोजेँ । खुब खोजेँ । डेढ घण्टा बित्यो । थाकेँ । पाउँन सकिनँ ।

म बरण्डामा बसेको छु । तिनी देखा परिन् । तिनी बाहिरबाट आइरहेकी थिइन् । तिनको अनुहार हँसिलो थियो ।

‘बुबा ! म पास भएँ ।’ तिनी भन्छिन् ।

‘बधाई छ । मेहनतको फल प्राप्त भयो ।’ म भन्छु ।

‘यो एक महिना मैले खुब मेहनत गरेँ । कतै गइनँ । राति दुई बजेसम्म पढेँ । अस्पतालमा एक महिना बिदा लिएँ ।’

‘हाँस्न त्यसै पाइँदैन ।’

‘हो बुबा, अहिले मेरो आँखामा आँसु हुन्थ्यो ।’

‘यो तपाईंको अन्तिम अध्ययन होइन ?’

‘अन्तिम त जीवन रहेसम्म केही पनि हुँदैन । एमबीबीएस पास गर्दा खुब मेहनत गरेको थिएँ । अब पढ्दिनँ यस्तो लागेको थियो । साथीहरू एमडीको तयारीमा लागे । इर्ष्या जाग्यो । प्रतिस्पर्धामा उत्रिएँ । सफलताले बोलायो । पछि लागेँ । यहाँसम्म आएँ । भोलिको बारेमा केही भन्न सकिँदैन ।’

‘यो त गर्वको विषय हो । अहिलेको कुरा मैले गरेको । तपाईंको भनाइ सही हो ।’

‘धन्यवाद बुबा !’

‘तपाईंको परिवारमा कति जना हुनुहुन्छ ?’

‘पाँच जना । हामी तीन दिदी–बहिनी, बा र आमा ।’

‘बुबा के गर्नुहुन्छ ?’

‘बुबाको आफ्नै किलनिक छ । व्यस्त हुनुहुन्छ । बिहानदेखि बेलुकासम्म खट्नुहुन्छ ।’

‘तपाईंले पनि बुबाकै पेशा अपनाउनु भएछ ।’

‘मैलेमात्र होइन मेरा बहिनीहरूले पनि यही लाइन समातेका छन् ।’

‘तपाईंको परिवार नै प्रतिभाशाली रहेछ ।’

‘ठीकै छ बुबा । दिक्क मानेर त्यसै बस्नुपर्ने अवस्था छैन ।’

‘मैले त तपाईंको आमाको बारेमा कुरा गर्न बिर्सेछु ।’

‘आमाको भूमिका त महत्त्वपूर्ण छ बुबा । घरको सबै रेखदेख उहाँले नै गर्नुहुन्छ । घरको व्यवस्थापक भनौं कि संरक्षक उहाँ नै हो ।’

‘यो पनि ठूलो कुरा हो । आमाले घर हेरिदिएकाले नै तपाईंको बुबाले बिरामीको हेरचाह ढुक्कले गर्न पाउनुभएको छ ।’

‘अनि बुबाको कमाइ त राम्रै होला ।’

‘ठीकै छ । गरिब देख्नुभयो भने पैसा लिनुहुन्न । उल्लटो ओखती पनि दिनुहुन्छ ।’

‘सेवा–भाव सबैसँग हुँदैन ।’

‘उहाँको आफ्नै सिद्धान्त छ । उहाँको साथीभाइ, मित्र भनेको नै तिनै बिरामी हुन् । हामीलाई यस्तो लाग्छ ।’

‘तपाईंको बुबा–आमा एकपल्ट पनि यहाँ आउनुभएको छैन ?’

‘समय नै निकाल्न सक्नुभएको छैन । विरामीहरूले समय लिएका हुन्छन् । तिनीहरूलाई छोड्न सक्नुहुन्न ।’

‘मान्छेले आफनो जीवनलाई कतै न कतै अल्झाएको हुन्छ । खुसी लाग्यो । तपाईं भोलिदेखि नै काममा जाने होला ?’

‘जानै पर्‍यो नि बुबा । एक महिना भयो नगएको ।’

यो त हिजोको कुरा थियो । यो त हिजोको स्थिति थियो । आज उनी घरअगाडि झोला लिएर देखा परिन् ।

‘बुबा म त घर जान लागेकी । केही दिन आउन्नँ ।’

‘के भयो त्यस्तो ?’

‘बुबा बित्नुभयो…’

‘अहो ! कस्तो खबर सुनाउनुभयो । हिजोमात्र बुबाको बारेमा हामीले त्यति लामो कुरा गरेका थियौँ । कहिले बित्नुभयो ?’

‘हिजो राति ।’

‘के थियो त्यस्तो ?’

‘केही थिएन । हिजोसम्म किलिनिकमा विरामीको सेवा गर्दै हुनुहुन्थ्यो । मृत्युबाट मान्छेलाई जोगाइ रहनुभएको थियो । आफूचाहिँ जोगिन सक्नुभएन । हृदयघात भयो ।’

‘उहाँको उमेर कति भयो ?’

‘साठी वर्ष ।’

‘यो त जाने उमेर नै होइन त ?’

‘हामीले त कल्पना नै नगरेको ।’

‘कल्पना गर्ने त कुरै भएन ।’

‘बुबाले हाम्रा लागि यतिको गर्नुभयो । विरामीको त्यतिको सेवा गर्नुभयो । उहाँका लागि हामीले गर्ने कर्तव्य थाहा थियो । गर्न नै पाइएन ।’

‘भवितव्य ।’

हामीले बुबाका लागि केही गर्ने मौका नै पाएनौं । तिनले एउटै कुरा बारबार दोहोर्याएकी थिइन् । शव्दहरू सीमित थिए । अझ आँसु निकाली ।

‘कसरी जाने ?’

‘एउटा साथीलाई मोटर भनेकी छु । लिएर आउँछ । उनकै मोटरमा जान्छु ।’

ढोकामा मोटर आइसकेको थियो । तिनी मोटर चढिन् । मैले तिनीलाई हात हल्लाएर वाइवाइ गरेँ । के यो मेरो कविताको जन्मघर हो ?

०००

आफ्नो घरको वरण्डा मेरो स्थायी विश्रामस्थल भएको छ । साधनास्थल भने पनि हुन्छ । घरबाट बाहिर ननिस्केको धेरै दिन भएको छ ।

यो तलका कोठा खाली भएको ६ महिना बितिसकेको छ । कोठा खोज्न एकाध मान्छे आउँछन् । पहिले यस्तो हुँदैनथ्यो । खाली हुन पाएको छैन, मान्छे आइहाल्थे । खाली नै हुन नपाउने । अहिले भने गजब भएको छ । ती कहिलेकाहीँ हेर्न आउनेले पनि केही न केही खोट देखाउने ।

कोठा छोडेर जाने मित्रले कहिल्यै खोट देखाएनन् । गुनासो गरेनन् । मेरो घरमा बस्न पाएकोमा नै खुसी थिए । कृतज्ञ थिए । ती निःशुल्क बसेका थिएनन् । प्रचलित मूल्यभन्दा कममा बसेका थिएनन् । तपाईंहरू केही दिन बस्नोस् अनि यो घरको महत्त्व थाहा पाउनु हुनेछ, यो कुरा भन्नुको मतलव भविष्यको सुनौलो सपना देखाएर वर्तमानमा भुल्नु हो । शोषण गर्नु हो ।

खाली कोठामा म गएको छु । कोठाको रङ ठाउँठाउँमा खुइलिएको छ । झ्यालको सेतो रङ पाप्रा उक्किएको छ । झ्यालहरू लाग्दै नलाग्ने । झ्यालमा राखिएको जाली खापामा प्वाल परेको । वर्षात् रोकिएको भन्ठानिएको थियो । अहिले पाँच दिन भयो । परेको पर्यै छ । कोठामा स्विच हेरेँ । जम्मै हल्लिएका । जुनसुकै बेलामा पनि सट हुन सक्ने ।

म डराएँ– यस्तो हुँदा पनि ती कोठा छोडेर जाने मित्रले किन गुनासो नगरेका ? घरको तल्लो तलाको पेटी चारैतिर उक्एिको । बाथरुमका धाराबाट तपतप पानी चुहिरहेको थियो ।

भित्र कोठाको छत पनि रसाएको । छिमेकीको घरमा दुई महिनादेखि काम गरिरहेको केटालाई श्रीमतीले बोलाएकी छन् । त्यो केटाले सबै काम गर्न तयार भएको छ । हामीले खोजेको यस्तै मान्छे थियो । धाराको काम गर्नेले बिजुलीको काम गर्दैन । बिजुलीको काम गर्नेले धारा मर्मत गर्दैन । त्यसमाथि त्यो केटाले सहयोगी पनि मागेको छैन ।

केटा बिहान दश बजे आउँछ र बेलुका सात बजे जान्छ । श्रीमती उसको छेउमा बसेकी छन् । पहिले कामदारलाई खाजा दिने गरेका थिएनौं । अहिलेको अवस्था अर्कै छ । त्यो कुरा उसलाई पनि थाहा छ । दुई बजेको छ । कुनै पनि समयमा उसलाई सहयोग चाहिन सक्छ । यतिका बिग्रँदा पनि कोठामा बस्नेले कहिल्यै गुनासो किन नगरेका होलान् ? आफूले बसेको ठाउँ प्यारो हुन्छ । तिनीहरू भने बढी सहनशील रहेछन् । प्यारो हुँदैमा खोटप्रति आँखा चिम्लनु ठीक होइन ।

तिनले रोटी बनाइन्, तरकारी बनाइन् । त्यो केटालाई खाजा खान बोलाइन् । तिनी र ऊसँगै बसेर खाजा खाए । जुँठो भाँडा आफैंले माझ्यो । तुरुन्तै काममा लाग्यो ।

‘तिमीलाई आफनो कोठामा पुग्न कति समय लाग्छ ?’ मेरी श्रीमतीले भनी ।

‘आधा घण्टा ।’ ऊ बोल्यो ।

‘तिमी घर पुग्दा त साँझ परिसकेको हुन्छ । घरको किनमेल कसले गर्छ ?’

‘बुढीले ।’

‘सबै किनमेलको जिम्मा तिनकै हो ?’

‘हो ।’

‘तिमीहरू कति जना बस्छौ ?’

‘चारजना । दुई छोरा र हामी । तिनीहरू पनि हुर्किसकेका छन् ।’

के तिनीहरू पढिरहेका छन् ?

‘जेठोले आठ कक्षा पढ्दा नै छोड्यो र काम गर्न थाल्यो । कान्छो अझै पढिरहेको छ ।’

‘तिम्री श्रीमती घरमा नै बस्ने हो ?

‘तिनी घरबेटीको काम गर्छिन् ।

‘घरको काम के दिनभर नै हुन्छ ?

‘हुँदैन । भाँडा सफा गर्ने हो । भान्छा पुछ्ने हो । सफा गर्ने हो कोठाहरू । लुगा धुने हो ।’

‘एउटालाई त यो काम पर्याप्त रहेछ । त्यसबापत् के दिन्छन् त ? ’

‘बस्नका लागि कोठा पाएका छौं । ’

‘कोठा कति छ ? ’

‘दुई ।’

‘राम्रै रहेछ । तिम्रो सानो परिवारलाई पर्याप्त रहेछ । ’

‘काम पाउँदा त केही छैन । काम नपाउँदा भने अप्ठ्यारो ।’

‘तिमीले आफनो गाँउको कुरा कहिल्यै गरेनौ ।’

‘गाउँमा बुढा बा र आमा हुनुहुन्छ । उहाँहरूलाई पनि रकम पठाउनुपर्छ । ’

‘तिमीहरूको गाँउमा जग्गा छैन ?’

‘छ । खाना पुग्दैन ।’

‘अब तिम्रो योजना के छ ?

‘गाँउमा जाने ।’

‘तिमी यहाँ आएको कति भयो ?’

‘बीस वर्ष । केके न गर्छु भन्ने थियो । अब त काम नै नपाइ रित्तो हात फर्कन पर्ने भयो ।’

मेरो घरको यो टालटुलको काम पाँच दिनमा सकिन्छ भन्ठानेको थिएँ । दश दिन लाग्यो । ऊ परिवारसहित गाउँ जान लागेको छ । दुःख लाग्यो । मैले उसँग हिसाब मागेँ । उसले बतायो । अलिकति बढी नै । मैले जानीजानी मिलान गरिनँ । दिएँ । के यो मेरो कविताको कर्मघर हो ?

बेलुकाको सात बजेको छ । म आफनो ओछ्यानमा पल्टेको छु । श्रीमती भान्छामा छिन् । म टेलिभिजन खोल्छु । टेलिभिजन तथ्यांक बताइरहेको छ । बाढीबाट मर्नेको । कोभिड–१९ बाट मर्नेको । डेंगूबाट मर्नेको । राति निद्रा लाग्दैन । मलाई कविताको चिन्ता छ ।

म बिहान घुम्न गएँ । मेरो मनले कविता सम्झन कोसिस छोडेको छैन । म फर्कंदा पसिनाले निथु्रक्क भिजेको थिएँ । पानी खाएँ । बैठकमा बसेर योग गरेँ । कालो चिया खाएँ । वाहिर घाम आएको छ । म वरण्डामा बसेर कलिलो घाम तापिरहेको छु । माथिबाट उनी झोला लिएर निस्केका छन् । उनको पछि श्रीमती छिन् । उनले आज सोह्र श्राद्ध गर्ने कुराको जानकारी हिजो नै दिएका थिए । बितेका वर्षहरूमा पनि उनले गरेका हुन् । त्यतिखेर उनी यो घरमा गर्दैनथे । विहानै गोकर्णमा जान्थे । सकेर घरमा आउँथे । आफना नातागोतालाई खाना खुवाउँथे । यो वर्ष भने उनले भर्चुअल गर्ने योजना बनाएका थिए । नातागोता बोलाउने त कुरै भएन ।

‘म त घर जान लागेको । उनले भने ।’

‘हो र ?’

‘मेरो काकाको छोराले आत्महत्या गरेछ’, उनी निस्के ।

‘जवान थियो । पढेलेखेको थियो ।’ श्रीमतीले भनिन् ।

के मेरो कविताको मामाघर हो कि क्या हो यो ? मेरो मोवाइलको घण्टी बज्यो ।

‘दाइ हो ?’

‘म फलानो नमस्कार ।’

‘नमस्कार ।’

‘दाइ पाइयो कविता ?’

‘पाइयो ।’

‘एकदम ठीक भयो दाइ । यो कार्यक्रम अब रमाइलो हुने भयो ।’

ठीक दुई बजे मेरो रिकर्डिङ सुरु भयो । यो काम एकदम सजिलो थियो । म आफनो बैठक कोठामा बसेको थिएँ । म कतै जान परेन । उनी आउन परेन । आधा घण्टामा सकियो । चौथो दिनमा प्रसारित भयो । प्रसारित हुनु अघि फेरि पनि उनले नै सूचना दिए । भइसकेपछि भने मैले नै उनलाई फोन गरेँ ।

‘धन्यवाद ! कस्तो लाग्यो मेरो कविता ?’

‘गजब । ताजा । राम्रो । जुम्ली स्याउजस्तो मीठो ! स्वादिलो’ उनले भने ।

एउटा प्रशंसक भेटिए । म गदगद् भएँ । एक हप्ताको तनावले निकास पाएको थियो ।

(नयाँ बानेश्वर, काठमाडौं)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment