Comments Add Comment

वृद्धवृद्धालाई खोप दिनु किन सजिलो छैन ?

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप निर्माणका लागि थुप्रै कम्पनीले काम गरिरहेका छन् । छिटोभन्दा छिटो खोप ल्याउने उनीहरुको प्रतिबद्धता छ ।

तर खोप निर्माण सफल भएपनि ठूलो जनसंख्यामा कसरी पुर्‍याउने भन्ने समस्या उत्पन्न हुन्छ । कोरोना संक्रमणको सबैभन्दा धेरै जोखिम डाक्टर, नर्स र स्वास्थ्यकर्मीहरुलाई हुन्छ, त्यसैले उनीहरुलाई सबैभन्दा पहिला सुरक्षा दिनुपर्ने हुन्छ ।

कोरोनाको बढी जोखिममा रहेको समूह वृद्धवृद्धा पनि हुन् । तर उनीहरुमा प्रतिरोधी क्षमता विकास गर्न त्यति सजिलो छैन ।

क्यानडाको ग्युलेफ विश्वविद्यालयमा खोप विज्ञानका प्राध्यापक रहेका श्यान शरीफ भन्छन्, ‘हामीसँग वृद्धवद्धाहरुका लागि बनाइएको खोपको संख्या निकै कम छ । पछिल्लो सय वर्षमा अधिकांश खोप बालबालिकालाई ध्यानमा राखेर बनाइएको छ ।’

उनका अनुसार विश्वमा ७० वर्षभन्दा बढी उमेरका मानिसलाई ध्यानमा राखेर निर्माण गरिएको खोप दादुराको हो ।

म्यानिन्जाइटिस र प्यापिलोमा भाइरसजस्ता केही रोगको खोप युवाको लागि बनाइएको थियो । त्यसका साथै अधिकांश खोप बालबालिकालाई ध्यानमा राखेर निर्माण गरिन्छ ।

वृद्धवृद्धाको शरीरको प्रतिरक्षा प्रणालीको असर

शरीफ भन्छन्, ‘बालबालिकासँग जोडिएका रोगबारे हामीलाई धेरै जानकारी छ । तर युवा जवा वृद्ध मानिसहरुको विषयमा भने हामीसँग त्यति धेरै अनुभव छैन ।’

उनका अनुसार वृद्ध मानिसहरुलाई खोप दिनु किन कठिन छ भन्ने बुझ्न पहिला शरीरको रोग प्रतिरक्षा प्रणालीको विषयमा जानकारी राख्नु जरुरी हुन्छ ।

वृद्ध मानिसहरुको प्रतिरक्षा प्रणाली पनि बूढो भइसकेको हुन्छ । मानिसको अन्य अंगजस्तै उमेरको असर प्रतिरक्षा प्रणालीमा पनि पर्छ । यस्तो अवस्थामा उमेरका साथै धेरै कोषहरुले आफ्नो काम सही तरिकाले गर्न सक्दैनन् ।

प्रतिरक्षा प्रणाली निकै जटिल किसिमको हुन्छ । यो प्रणालीका धेरै कोषहरु एकअर्कासँग मिलेर काम गर्छन् । यदि यो प्रणालीमा कुनै पनि कोषले काम गरेन भने त्यसको असर समग्र प्रतिरक्षा प्रणालीमा पर्छ ।

यदि तपाईंलाई कुनै भाइरसले संक्रमित बनाउँछ भने प्रतिरक्षा प्रणालीको पहिलो तह त्यसमाथि आक्रमण गर्न शुरु गर्छ । श्वासप्रश्वासको रोगको लागि यो काम फोक्सो, श्वासनली वा नाकको मद्दतले गर्न सक्छ ।

सेता रक्त कोषले भाइरसमाथि आक्रमण गर्छ र त्यसलाई नष्ट गर्छ । सेता रक्त कोषले भाइरसलाई नष्ट गरेसँगै त्यसलाई इम्युन कोषमा पठाउँछ, जसलाई टी–सेल भनिन्छ । यो प्रतिरक्षा प्रणालीको ‘स्मरण शक्ति’को रुपमा रहन्छ ।

टी–सेलले आफैं भाइरसलाई देख्न सक्दैन । तर यसले भइरसलाई पहिचान गर्न सक्ने क्षमता राख्छ, जसको कारण दोस्रोपटक त्यही भाइरसले आक्रमण गरे टी सेलले प्रतिरक्षा प्रणालीलाई सचेत गराउँछ । यसले दोस्रो तहलाई सक्रिय पार्न र प्रतिरक्षा प्रणालीलाई अझै राम्रो बनाउन सक्छ ।

रोग प्रतिरक्षा प्रणालीले कसरी काम गर्छ ?

टी सेल धेरै किसिमका हुन्छन् । किलर टी सेल वा साइटोटोक्सिनले हाम्रो शरीरमा रहेको संक्रमित कोषमाथि आक्रमण गर्छ । यसले भाइरस फैलिने गति कम गर्न सक्छ ।

हेल्पर टी सेलले बी सेलको सहयोग गर्छन्, जुन दोस्रो किसिमको प्रतिरक्षा प्रणाली हो । बी सेल आफैं भाइरससँग लाड्न सक्छ । तर सही किसिमले काम गर्न यसलाई टी सेलको आवश्यकता पर्छ । बी सेलले शरीरमा एन्टिबडी निर्माण गर्न सक्छ ।

सबैभन्दा प्रभावकारी एन्टिबडीको लागि भने बी सेलले टी सेलसँग एक जटिल प्रक्रियाबाट अघि बढ्नुपर्ने हुन्छ । खोप विशेषज्ञको चिन्ता वृद्धवृद्धामा उमेर बढी हुनाले यी सबै कोषहरुको बीचको नाजुक सन्तुलनमा थप अवरोध आउन सक्छ कि भन्ने नै हो ।

वृद्ध मानिसको प्रतिरक्षा प्रणाली कस्तो हुन्छ ?

इन्सब्रुक विश्वविद्यालयका बिरट्ज वेनबर्गर भन्छन्, ‘तिनीहरु साइटोकोइन्स (प्रोटिन, जुन प्रतिरक्षा कोषहरुको बचिमा सञ्चारको लागि सहायक हुन्छन्)को एक फरक सेट उत्पादन गर्छन् । मैले बुझेअनुारको ध्यान दिनुपर्ने सबैभन्दा महत्वपूर्ण पक्ष कुनै पनि कोषले आफ्नै शक्तिले काम गर्न सक्दैनन् ।’

यदि सेता रक्तकोषले काम गर्न सकेन भने टी सेल पनि सही रुपमा सक्रिय हुन सक्दैनन् । यस्तोमा बी सेलबाट पनि कोषहरुलाई कम सहयोग प्राप्त हुन्छ र कम एन्टिबडीको असर त्यसले गर्ने प्रतिक्रियामा पर्छ ।

वेनबर्गर भन्छन्, ‘प्रतिरक्षा प्रणालीको सबै फरक फरक हिस्सालाई कसरी एकसाथ काम गर्नका लागि तयार पार्ने भन्ने विषयमा पनि ध्यान दिनुपर्ने हुन्छ ।’

शरीफ थप्छन्, ‘हामीसँग हाम्रो अनुकूल प्रतिरक्षा प्रणालीमा बी सेल र टी सेलको एक सीमित संख्या हुन्छ र समयसँगै हामीले त्यसमध्ये केहीलाई गुमाउँदै जान्छौं । जसको कारण कालान्तरमा समस्या उत्पन्न हुन सक्छ ।’

‘हामीले नयाँ भाइरसको सामना गर्दा हाम्रो प्रतिक्रियाको क्षमता पनि सीमित हुन्छ’, शरीफको भनाइ छ ।

यद्यपि सबै मानिसको प्रतिरक्षा प्रणालीले एकैनासले काम गर्दैन । केही मानिसलाई वंशाणुगत गुण, आफ्नो शरीरको स्याहार गर्ने तरिका लगायतका विभिन्न कारणले प्रतिरक्षा प्रणाली पनि त्यसैअनुसारको हुन्छ ।

यद्यपि धेरै उमेर हुनुको केही फाइदा पनि हुन्छ । हाम्रो रोग प्रतिरक्षा प्रणालीमा उमेरसँगै केही सुधार पनि हुँदै जान्छ । शरीफ भन्छन्, ‘हामीले धेरै किसिमको भाइरसको सामना गरिसकेका छौं भने हामीसँग इम्युन मेमोरी हुन्छ । अर्थात् रोग प्रतिरक्षा प्रणालीले रोगलाई चिन्न सक्छ । यस्तोमा नयाँ कीटाणुसँग लड्नु हाम्रो शरीरका लागि कठिन कार्य हुँदैन ।’

सार्स–कोभ–२ हामीले कहिल्यै पनि सामना नगरेको भाइरस हो । त्यसैले हाम्रो शरीरमा यससँगै जोडिएको कुनै मेमोरी छैन । उमेर ढल्किएका मानिसहरुसँग पनि यसअघि सामना गरिसकेका रोगको सामना गर्ने प्रतिरक्षा प्रणाली धेरै राम्रो हुन्छ, तर नयाँ रोगको सामना भने गर्न सक्दैनन् । त्यसैले अहिले कोरोनाविरुद्ध धेरै किसिमको औषधिको प्रयोगात्मक परीक्षण भइरहेका छन् ।

अहिले अमेरिकामा पाँच किसिमका औषधिलाई आपतकालीन प्रयोगको अनुमति दिइएको छ । अहिलेसम्म यी सबै औषधिको प्रभावकारिताको पुष्टि नभइसकेकाले निकै गम्भीर मामिलामा मात्र यसको प्रयोग भइरहेको छ । त्यसैले खोप आउनुभन्दा पहिला वृद्ध मानिसहरुलाई यस किसिमका औषधिको प्रयोगले फइदा पुग्न सक्छ । औषधि आउन कति समय लाग्छ भन्ने थाहा छैन तर आशाको किरण भने देखिएको छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment