Comments Add Comment

खोकनामा सुरु भयो सिकाली जात्रा

३ कात्तिक, काठमाडौं । दसैं नमनाउने गाउँ भनेर चिनिने ललितपुर महानगरपालिकाको वडा नं २१ मा पर्ने खोकनामा सिकाली जात्रा सुरु भएको छ । दसैंको घटस्थापनाको पर्सिपल्ट (आश्विन शुक्ल तृतीय तिथि)को दिनदेखि सुरु हुने यो पर्वमा रुद्रायणी स्कुलअघि राँगाको बली दिएर जात्रा प्रारम्भ गर्ने गरिन्छ ।

यो जात्राको सुरुवात आश्विन शुक्ल प्रतिपदा(घटस्थापना)को दिनदेखि नै हुन्छ । हरेक दिन नुहाउने र एक छाकमात्रै खाना खाएका कुमार केटाहरूले दुई दिनसम्म गाउँ परिक्रमा गरेर पूजा सामग्री संकलन गर्ने गर्छन् । त्यही पूजा सामग्रीबाट तृतीयाको दिन सिकाली चौरमा गएर पूजा गर्ने चलन छ ।

महानगरपालिकाको वडा नं २१ का वडाध्यक्ष रवीन्द्र महर्जनका अनुसार सोमबार रुद्रायणी स्कुल अघि राँगाको बली दिएर कुमार केटाहरूले सिकाली मन्दिर रहेको सिकाली चौरमा पूजा सामग्री लिएर जाने कार्यतालिका छ ।

एक पटक जात्रा खण्डित भयो भने सदाको लागि जात्रा बन्द हुने भएकोले कोरोना महामारीका बीच पनि जात्रा जारी राख्नु परेको आयोजक समितिले जनाएको छ । वडाध्यक्ष महर्जनले कोरोना भाइरसको महामारीकाबीच जात्रा जारी राख्नुपरे पनि सरकारले तोकेको स्वास्थ्य मापदण्डलाई पूर्ण पालना गरेर जात्रा मनाउने प्रतिबद्धता व्यक्त गरे ।

रुद्रायणी देवता मण्डलले खोकनामा तः गुठी, सालाः गुठी, जउँ गुठीसँग मिलेर सिकाली जात्रा निकाल्ने गर्छ । तृतीयादेखि सुरु हुने जात्रा षष्ठीका दिन देवताका विभिन्न स्वरूपमा मुकुण्डो लगाएका १६ जना र अरू वाद्यवाधक सहित ४६ जना मिलेर खोकना परिक्रमा गर्ने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment