Comments Add Comment
कोभिड-१९ का योद्वा- २ :

संक्रमितको साथी : भक्तपुरको ‘आरएनए- १६’

४ कात्तिक, काठमाडौं । भक्तपुर, सिद्धपोखरीका अरूण सैंजूका छिमेकीहरू अझै पनि उनको घर अगाडि सडकमा देखिँदैनन् । लकडाउन सकिए पनि सैंजूका घरअगाडिको सडक प्रायः सुनसान देखिन्छ ।

आक्कलझुक्कल भेटिने छिमेकीले अरुणलाई भन्थे, ‘हामी दिनभर घरमै बस्छौं, तपाईं दिनभरि अस्पताल डुलेर आउनुहुन्छ । कोरोनाबाट टोललाई बचाउन त तपाईंकै घर सार्नुपर्ने भयो ।’

कोरोना संक्रमितहरूलाई अस्पताल पुर्‍याउन या मृतक संक्रमितलाई दाहसंस्कारका लागि आर्यघाट लैजान अरुण खटिएका हुन्थे । ‘मानिसहरूले घरमै रहेकी मेरी आमालाई समेत यहीखालको व्यवहार गरे’, उनी भन्छन्, ‘तर, गर्नैपर्ने कर्तव्य गरिरहेकाले विचलित नभई आफ्नो काम लागिरहृयौं ।’

उनी ‘आरएनए- १६’ का संयोजक हुन् । काठमाडौं उपत्यकामा सक्रिय यो यस्तो स्वंयसेवक समूह हो, जसलाई कोरोना महामारीमा अस्पताल, प्रहरी, सेना सबैले सहयोग माग्यो ।

यो पनि पढ्नुहोस आपतकालका जब्बर डाक्टर अनुप

२०७२ सालको महाभूकम्पका घाइतेहरूको उद्धारबाट सुरु भएको आरएनए- १६ को यात्रा कोभिड- १९ सम्म आइपुग्दा दक्ष जनशक्ति सहितको बलियो दस्ता बनेको छ । समूहमा रोप एक्पर्ट, जंगल सर्भाइवल एक्सपर्ट, गोताखोर, नर्स र अग्नि नियन्त्रकदेखि सञ्चारसम्मका जनशक्ति छ । सात जनाको ‘कोर टिम’ रहेको यो समूहसँग दुईवटा गाडी र ३० लाख रुपैयाँभन्दा बढीको उद्धार सामग्री छन् ।

कोरोना महामारीमा यो समूहले ३ जेठमा आरडीटी पोजेटिभ आएका व्यक्तिलाई जनस्वास्थ्य कार्यालय, च्यामासिङबाट टेकुस्थित शुत्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुर्‍याउने पहिलो जिम्मेवारी पायो । समूहबाट अरुण र राजेश गाइजू परिचालित भए ।

त्यसअघि उनीहरूले विदेशबाट आएका १४ जनालाई एअरपोर्टबाट टेकु अस्पताल पुर्‍याएका थिए । यसपटक भने आरडीटी पोजेटिभ आएका व्यक्ति भएकाले उनीहरू पीपीई सेट लगाएर तयार भए, सम्वन्धितलाई गाडीमा राखेर टेकु अस्पतालतिर हान्निए । गाडी सैंजूले हाँके । त्यसबेला अतिरिक्त सावधानी अपनाएको बताउँदै उनी भन्छन्, ‘त्यो केसले संक्रमितको उद्धार गर्न साहसी बनायो ।’

त्यही दिन धुलिखेल अस्पतालमा २९ वर्षीय सुत्केरीको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भयो । उनी नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने पहिलो व्यक्ति थिइन् । यो खबरले देशभर त्रासको तरङ्ग फैलायो । दुई दिनदेखि मृतकको शव अस्पतालमै थियो । कोरोना पुष्टि भएपछि शव उठाउनै समस्या भयो । ‘त्यो मृत्युबारे सुनेकै थियौं, तर हामी जानुपर्छ जस्तो लागेको थिएन’, अरुण भन्छन्, ‘जिल्ला प्रशासन कार्यालय काभ्रे र नेपाली सेनाबाट पनि फोन आएपछि तयार भएर गयौं ।’

पीपीई सेट लगाएर साँझ सात बजेतिर अरुण र राजेश धुलिखेलतर्फ लाग्दा सडक सुनसान थियो । उनीहरू पुग्दा अस्पतालको लाश घरमा पनि कोही थिएन । उनीहरूले मृतक संक्रमितको अन्त्येष्टि गर्ने तालिमसमेत लिएका थिए, तर डमीमा । अब वास्तविक शवको व्यवस्थापन गर्नुपर्ने भयो । ‘हामी कोरोनाबाट मृत्यु भएको वास्तविक शवअगाडि पहिलो पटक उभिएका थियौं’, त्यो क्षण सम्झिँदै राजेश भन्छन्, ‘शव राखेको ठाउँ सुत्केरीको अत्यधिक रक्तश्रावको कारण भिजेको थियो । शवलाई प्लास्टिकले राम्रोसँग बेरिएको पनि थिएन ।’

यस्तो देख्दा उनीहरूलाई मनको बाघले नखाने कुरै भएन । तर प्रतिबद्व सिपाहीहरू कोरोना विरूद्वको लडाइर्ंमा त्यो रणभूमिमा पुगिसकेका थिए, जहाँबाट डराएर र्फकने अवस्था थिएन । उनीहरूले संक्रमित सुत्केरीको रक्ताम्य शवलाई बिस्तारै ‘थ्री लेयर प्याकेजिङ’ गरे, गाडीमा राखे । अरुणले स्टेयरिङ हृविल समाए । अघिअघि लाग्यो नेपाल प्रहरी र सेनाका दुईवटा गाडी । पछ्याउनेमा धुलिखेल अस्पतालकै एम्बुलेन्स थियो, जसमा मृतकका श्रीमान र आफन्त थिए ।

‘आर्यघाटमा ल्याएर नौ बजेतिर उनको अत्येष्टि गरिसक्दा थारै राहत भयो’, अरुण सम्झन्छन्, ‘त्यसपछि सल्लाघारी चौरमा पीपीई सेट डिस्पोजका साथै सेनिटाइज गरेर क्वारेन्टिन बस्न आधा रातमा धुलिखेल अस्पताल नै पुग्यौं ।’

उनीहरू नपुग्दै अस्तालमा ‘आतंक’ सुरु भइसकेको थियो । अस्पतालमा भर्ना भएका बिरामीहरू धमाधम निस्कन थाले । ‘हामीलाई पनि ढुंगा हान्छन् कि भनेर रातारात घ्याम्पे डाँडामा रहेको जिपलाइनको अफिसमा गएर बस्यौं’, अरूण भन्छन्, ‘हामी आएको थाहा पाएपछि त्यहाँका पनि दुई-तीन जना भागे ।’

अर्को दिन गाउँलेहरूको समूह कराउँदै आए । अरुण भन्छन्, ‘अरूको उद्धार गर्न निस्केका हामीलाई नै उद्धार गर्न पर्‍यो ।’ नेपाली सेनाको टोलीले दुई कोभिड हिरोलाई सूर्यविनायकस्थित सेनाको वीरदल गण ल्यायो र क्वारेन्टिनमा राख्यो । उनीहरुले इन्टरनेट त के फोन नै राम्रोसँग नटिप्ने ठाउँमा १२ दिनसम्म एक्लाएक्लै काटे ।

त्यो अनुभवको आलोकमा राजेश भन्छन्, ‘संक्रमितहरू त्यही मनोविज्ञानमा हुन्छन्- बेवास्ता, एक्लोपन, मानसिक तनाव हुन्छ । कतिले दुर्व्यवहार समेत बेहोर्नुपर्छ । कति संक्रमितले तनावकै कारण कोरोनासँग हारेका हुन सक्छन् ।’

अरुण र राजेश क्वारेन्टिन अवधि पुरा गर्दा ‘आरएनए- १६’ का ल्याब टेक्निसियन जिया जोशी र स्टाफ-नर्स पुनम कर्मचार्यले भक्तपुर अस्पतालअगाडि चौरमा पाल टाँगेर स्बाव संकलन थालिसकेका थिए । सुदिपराज पाण्डेले गाडी व्यावस्थापनको जिम्मा लिए । त्यस्तै, विनोद पौडेल क्षेत्रीले सूचना, न्युज किजूले जनसम्पर्क र रञ्जन ढुंगेलले दैनिक प्रशासनिक व्यवस्थापनको जिम्मेवारी सम्हाले ।

क्वारेन्टिनबाट निस्किँदा अरुण र राजेशलाई प्रहरीले सञ्चार सेट (वाकीट्वाकी) दियो । संक्रमितबारे आएको सूचना प्रहरीबाट पुष्टि भएपछि आइसोलेसनतिर दौडाउने निधो भयो । उनीहरू फेरि रातसाँझ संक्रमितको उद्धारमा जुटे ।

लकडाउनको अवधिसँगै संक्रमितहरू थपिँदै गए । पछि त दैनिक १० जना संक्रमितलाई अस्पताल पुर्‍याउन परेको राजेश बताउँछन् । यसरी खट्ने क्रममा समाजको नमिठो व्यवहार त कति हो कति ! भक्तपुरमै अस्पतालबाट डेरा फर्किएकी एक नर्सलाई टोलै उठेर ढुंगाले हाने । ‘ढुंगा हानेर कोठाको झ्याल नै फुटाएका थिए । हामी पुग्दा उनीभित्र एक्लै रोइरहेकी थिइन्’, अरुण भन्छन्, ‘हामीले हतारहतार गाडीमा राखेर उनलाई भगाउनुपर्‍यो ।’

यस्ता थुप्रै हर्कतहरू भए । ‘आरएनए- १६’ का सदस्यहरूले ठिमीमा छिमेकीहरूले हैरान पारेको अर्की नर्सलाई पनि उद्धार गर्‍यो । ‘यति दुव्र्यवहार गरेछन् कि ती नर्सले आत्महत्याको प्रयास समेत गरिछन्’, अरुण भन्छन्, ‘हामीले उनलाई त्यहाँबाट निकालेर भावनात्मक रूपमा पनि बलियो पार्यौं ।’

एकपटक काठमाडौं, नैकापका एक महिला संक्रमितलाई खरिपाटी आइसोलेसन सेन्टरमा लैजानुपर्ने भयो । संक्रमितका आमा-बाबु दुबैजना मृगौला रोगी थिए, त्यसैले संक्रमितलाई जति सकिन्छ छिटो परिवारबाट अलग पार्नुपर्ने थियो । राजेश र अरुणले राति १२ बजे उनलाई खरिपाटी पुर्‍याए । त्यो बेलासम्म खरिपाटीमा महिला संक्रमित थिएनन् । त्यसमा पनि उनीहरुले काम गर्नुपर्‍यो ।

‘आरएनए- १६’ ले अहिलेसम्म भक्तपुरमा सातवटा कोरोना संक्रमित शव व्यवस्थापन गरेको छ । २०९ जना संक्रमितलाई अस्पताल र आइसोलेसन पुर्‍याएको छ ।

अरुण जगातीको एउटा वर्कसपमा बसेर आफ्नो टिमको कोभिड अनुभव सुनाइरहेका छन् । उनी ‘सर्च एण्ड रेस्क्यु’का लागि बढी उपयुक्त हुने गरी गाडी ‘रिमेक’ गर्न वर्कशप आएका हुन् । उनले बोकेको वाकीटकी बेलाबेला बोलिरहेको छ । मोवाइलमा फोन आइरहेको छ । कुराकानी रोकेर उनले फोन रिसिभ गरे ।

पहिलो फोनमा एक महिलाले काउन्सिलङबारे सोधेकी थिइन् । दोस्रो फोन पनि महिलाकै थियो । उनी कुनै अस्पतालबाट बोल्दै थिइन् । अरुणले सुनाएअनुसार फोन गर्ने महिला, उनका श्रीमान र एउटा छोरोमा कोरोना पुष्टि भएको रहेछ । तर, कोरोना संक्रण नभएका अर्का छोरालाई कसैले घर पुर्‍याउन नमानेकाले मदत मागेकी रहिछिन् । अरुण भन्दै थिए, ‘हाम्रो गाडी मर्मतमा छ, तर तपाईंको छोरालाई घर पुर्‍याउन हामी त्यहाँ आउँछौं, ढुक्क हुनुस् ।’

उनले सुदिपराज पाण्डेलाई फोन गरेर त्यो अभिभारा सुम्पिए । ‘आरएनए- १६’ मा आबद्ध सात युवा सदस्य कोभिड-१९ विरूद्व कसरी लागेका छन् भन्ने कुरा बुझ्न यो पर्याप्त छ । उनीहरू पीसीई सेट लगाउने, शव व्यवस्थापन गर्नेदेखि उपचारका क्रममा अपनाउनुपर्ने सावधानीबारे प्रशिक्षण पनि दिँदै हिँडेका छन् ।

‘गलत तरिकाले पीपीई सेट लगाउँदा र शवलाई राम्रोसँग र्‍यापिङ नगर्दा संक्रमण झन् फैलिन्छ’, अरुण सैंजू भन्छन्, ‘सही ढंगले प्रोटोकल पालना भए कोरोनालाई चाँडो नियन्त्रण गर्न सकिन्छ । संक्रमितलाई पनि सही काउन्सिलिङ चाहिन्छ ।’

कोभिड-१९ रोकथाममा हदैसम्म अनिणिर्त रहेको भन्दै सरकारको आलोचना भइरहेको र कोरोना फैलिरहेको अवस्थामा सकृय रहेको स्वंयसेवक समूह ‘आरएनए- १६’ को उद्देेश्य छ- हरेक प्रदेशमा प्राविधिक क्षमतासहितको सशक्त टिम निर्माण ।

तस्वीर र भिडियो : आर्यन धिमाल/अनलाइनखबर

(नोट : योद्धा त्यही हो, जसले जस्तोसुकै महाविपत्तिमा पनि लडाइँबाट पीठ फर्काउँदैन र कर्तव्यमा आफूलाई अविचलित राख्छ । नेपालमा कोरोना भाइरसको महासन्त्रास बढिरहेका बेला फ्रन्टलाइनमा खटिएका हरेक चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, सफाइकर्मी र सुरक्षाकर्मीहरु तिनै महायोद्धा हुन्, जसले विगत ८ महिनादेखि आफ्नो ज्यानको परवाह नगरी अरुको ज्यानको उपचार गरिरहेका छन् ।

अग्रमोर्चाका उभिएका यिनै योद्धाहरुको सम्मानार्थ अनलाइनखबरले ‘कोभिड-१९ का महायोद्धा’ श्रृंखला सुरु गरेको छ । यो श्रृंखलामा हामीले डाक्टर, नर्स र सुरक्षाकर्मीदेखि सफाइकर्मीसम्म फ्रन्टलाइनमा खटिएका प्रतिनिधिमूलक पात्रहरुलाई समावेश गर्ने नीति लिएका छौं – सम्पादक)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment