Comments Add Comment

दैलेखका दुई स्थानमा सवारी दुर्घटना, तीन जनाको मृत्यु, १५ घाइते

४ कात्तिक, सुर्खेत । दैलेखमा मंगलबार भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने अन्य १५ जना घाइते भएका छन् ।

मंगलबार दिउँसो छुट्टाछुट्टै स्थानमा बस र टिपर दुर्घटना हुँदा ३ जनाको मृत्यु हुनुका साथै अन्य १५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी अनुपम श्रेष्ठले जानकारी दिए ।

तल्लो डुङ्गेश्वर गाउँपालिकाको जिरो प्वाइन्ट नजिक बान्द्रेमा बा ४ ख ६७७१ नम्बरको टिपर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मुत्यु भएको छ भने एकजना गम्भीर घाइते भएको उनले बताए । घाइतेलाई थप उपचारको लागि सुर्खेत पठाइएको डीएसपी श्रेष्ठले बताए । ‘घटना बारे थप विवरण आउन बाँकी छ । स्थानीय प्रहरी घटना स्थलतर्फ गइसकेको छ । जिल्लाबाट थप प्रहरी पनि पठाएका छौं,’ डीएसपी श्रेष्ठले भने ।

यस्तै सडकमा रोकेर राखिएको टिपरमा बस ठोक्किँदा मंगलबार दिउँसो थप एकजनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतको वीरेन्द्रनगर घर भएका बस चालक ललित नेपाली रहेको डीएसपी श्रेष्ठले जानकारी दिए ।

डीएसपी श्रेष्ठका अनुसार सुर्खेतबाट दैलेखको जम्भुकाँध जाँदै गरेको ना ३ ख ५५१९ नम्बरको बस कर्णाली राजमार्गको तल्लो डुङ्गेश्वरमा टिपरसँग ठोक्किएको थियो । दुर्घटनामा अन्य १४ जना यात्रु घाइते भएका छन् । घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment