Comments Add Comment

विराटनगरका निजी अस्पतालले लिन थाले कोराना उपचार शुल्क, सरकारीमा निःशुल्क

विराट र न्यूरोको शुल्क छोइनसक्नु, नोबेलको तोक्न बाँकी

विराट मेडिकल कलेज /फाइल तस्वीर

४ कात्तिक, विराटनगर । संघीय सरकारले कोरोना संक्रमितको उपचार खर्च व्यहोर्न नसक्ने भन्दै हात उठाएपछि विराटनगरका निजी अस्पतालले शुल्क लिन थालेका छन् ।
विराटनगरमा निजी क्षेत्रबाट नोवेल मेडिकल कलेज, विराट मेडिकल कलेज, न्यूरो अस्पतालले कोभिड-१९ अस्पताल सञ्चालन गरेका छन् । प्रदेश सरकारले कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्र सञ्चालन गरिरहेको छ ।

कोशी बाहेक अन्य अस्पतालले कात्तिक २ गतेयता शुल्क लिन थालेका छन् । कोशी अस्पताल कोभिड-१९ को शुल्कका विषयमा प्रदेश सरकारले निर्णय गरेको छैन् ।
अर्काे निर्णय नभएसम्मका लागि पुरानै निर्णय (निःशुल्क) यथावत रहने प्रदेश १ सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले जानकारी दिए ।

न्यूरो अस्पताल विराटनगरले कोरोना संक्रमितको उपचारका लागि सामान्य लक्षण देखिएका बिरामीका लागि जनरल वार्डमा दैनिक ६६२५ शुल्क तोकेको छ । न्यूरोको आईसीयूको दैनिक शुल्क १५ हजार तोकिएको छ । भेन्टिलेटरमा बस्नु परे थप १५ हजार शुल्क तिर्नुपर्ने छ ।

‘अस्पतालले तोकेको शुल्कमा चार पटकको खाना र अन्य सुविधा जोडिएको छ,’ न्यूरो अस्पताल विराटनगरका प्रशासकीय अधिकृत सुरेश आचार्यले भने, ‘सामाजिक विकास मन्त्रालयले पत्र पठाएपछि २ गतेबाट नै शुल्क लिन थालिएको छ ।’

न्यूरोले ११ भदौंदेखि कोभिड १९ अस्पताल सञ्चालन गरिरहेको छ । २३ भदौमा प्रदेश १ सामाजिक विकास मन्त्रालयसँगको सम्झौता पछि निःशुल्क सेवा सुरु भएको थियो ।

प्रदेश सरकारले सम्झौता कार्यान्यन नगर्न पत्र पठाएपछि शुल्क लिन थालएको आचार्यले जानकारी दिए । न्यूरोमा ४९ वटा बेड सञ्चालनमा छन् ।

विराट मेडिकल कलेजले कोरोना संक्रमितको उपचारका लागि जनरल वार्डमा उपचारका लागि ८ हजार रुपैयाँ शुल्क तोकेको छ ।

आईसीयूको उपचार शुल्क जनरलभन्दा तीन गुणा बढी छ । विराट मेडिकल कलेज कोभिड-१९ को आइसोलेसन इञ्चार्ज सुनिल देवका अनुसार आईसीयूको दैनिक शुल्क ३५ हजार र भन्टिलेटरमा बस्नु परे थप १५ हजार शुल्क लाग्नेछ । ‘बिरामीको खाना, डाक्टर राउण्डसहित सबै गरेर जनरल वार्डमा प्रत्येक दिन ८ हजार रुपैयाँ शुल्क तोकिएको छ,’ उनले भने, ‘आइतबारबाट शुल्क लिन थालिएको हो ।’

विराट मेडिकल कलेजमा १३० वेडको कोभिड-१९ अस्पताल छ । जसमा १८ वटा आईसीयू र ७ वटा भेन्टिलेटरको सुविधा छ । लक्षणसहितका संक्रमित बढेका कारण विराटका आईसीयू भरिएका छन् ।

नोवेल मेडिकल कलेजले बुधबार शुल्क निर्धारण गर्ने कलेजका प्रबन्धक नारायण दाहालले जानकारी दिए । ‘सरकारको निर्णयपछि उपचार शुल्क लाग्छ ,’ उनले भने, ‘शुल्क कति लिने भन्ने निर्धारण भएको छैन् । छलफल चलिरहेको छ, बुधबार टुंगो लाग्छ ।’

सरकारीमा निःशुल्क तर बेड पाइँदैन

प्रदेश १ सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीका अनुसार निजी अस्पतालले शुल्क लिए पनि प्रदेश सरकारले सञ्चालन गरेको कोशी अस्पाल कोभिड-१९ उपचार केन्द्रमा शुल्क लिने निर्णय भएको छैन् ।

संघीय सरकारको नयाँ निर्णयपछि शुल्क लिन नलिने विषयमा छलफल नभएको जानकारी दिए । ‘अरु अस्पतालको हकमा निर्णय कार्यान्यन भइसक्यो,’ सचिव कार्कीले भने, ‘यो अस्पतालको हकमा पुरानै निर्णय कायम छ,’ प्रदेश सरकारले छलफलपछि थप निर्णय गर्ने उनले बताए ।

प्रदेश सरकारले सञ्चालन गरेको अस्पताल निःशुल्क भए पनि अस्पतालमा बेड पाउन मुस्किल छ । ७० वटा बेड रहेको उपचार केन्द्रमा बेड नपाउँदा महँगो शुल्क तिरेर निजी अस्पताल जाने गरेका छन् ।

मन्त्री भन्छन्-निजीमा शुल्क लाग्छ

प्रदेश १ सामाजिक विकासमन्त्री जीवन घिमिरे जिल्ला अस्पताल र प्रदेश सरकारले सञ्चालन गरेको कोभिड अस्पतालमा उपचार शुल्क नलिने बताए । ‘१४ वटै जिल्ला अस्पताल र प्रदेशको कोरोना अस्पतालमा शुल्क लाग्दैन्,’ उनले भने, ‘निजीमा जाने हो भने शुल्क तिनुपर्छ ।’

निजी अस्पतालले लिने शुल्कका बारेमा प्रदेश सरकारले अनुगमन गरी एकरुपता कायम गर्ने उनले बताए । ‘हिजो १५ हजार लिनेले आज ३० हजार लिन पाउदैनन्,’ उनले भने, ‘हामी अनुगमन गर्छाैं एकरुपता कायम गर्ने प्रयत्न गछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment