Comments Add Comment

मेसीको तारिफ गर्दै प्रशिक्षकले भने- योभन्दा बढी के आशा गर्नु ?

काठमाडौं । बार्सिलोनाका कोच रोनाल्ड कोइम्यानले मंगलबार आफ्ना सुपरस्टार लियोनल मेसीको प्रदर्शनप्रति सन्तुष्टि व्यक्त गरेका छन् । च्याम्पियन्स लिगको पहिलो खेलमा मेसीले गोलको खाता खोल्दै टिमलाई जितको बाटो देखाएका थिए ।

शनिबार लालिगामा गेनाफेविरुद्ध भोगेको पराजयपछि कोइम्यानले मेसीको आलोचना गरेका थिए । मंगलबार भने मेसीको प्रदर्शन सुधारिएको उनले प्रतिक्रिया दिएका छन् ।

‘मलाई लाग्छ, मेसीको प्रदर्शन अझ राम्रो हुन सक्थ्यो,’ फरेन्क्भारोसविरुद्धको भिडन्तभन्दा अगाडि कोइम्यानले भनेका थिए, ‘तर, उनी खुशी छन्, मिहिनेत गरिरहेका छन् र उनी टिमको कप्तान रहिरहन चाहन्छन् ।’

उनले थपे, ‘मेरो एउटा पनि गुनासो छैन । मेरो करिअरमा पनि थुप्रै खराब क्षणहरु थिए । आज नभए अर्कोपटक गोल हुन्छ । मलाई उनको क्षमतामा कहिल्यै पनि शंका थिएन ।’

नभन्दै मेसीले हंगेरियन क्लवविरुद्ध उत्कृष्ट प्रदर्शन देखाए । बार्सिलोनाले ५–१ ले जितेको खेलमा पहिलो गोल मेसीले पेनाल्टीमार्फत गरेका थिए । उक्त खेलपछि प्रशिक्षक खुशी देखिए ।

म्याचपछि उनले भने, ‘यदि मेसीले आजको जस्तै खेले भने उनीसँग मेरो कुनै गुनासो रहने छैन ।’

‘मेसीले कडा मिहिनेत गरे । उनको गोल पेनाल्टीमार्फत थियो । यदि उनले गोल नहानेको भए पनि म खुशी नै हुन्थेँ किनकी उनले २ वा तीन वटा गोलका लागि पास मिलाएका छन् । यहाँ भन्दा बढी के आशा गर्नु ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment