Comments Add Comment

एकैदिन ५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टि

५ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५ हजार ७४३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा २० हजार ७४२ नमुना परीक्षण गर्दा २१५१ महिला र ३५९२ पुरुषमा संक्रमण पुष्टि भएको हो । यो नेपालमा कोरोना संक्रमण देखिए यता एकै दिनमा पुष्टि भएको सबैभन्दा धेरै संक्रमित संख्या हो ।

यससँगै कुल संक्रमितको संख्या १ लाख ३९ हजार १२९ पुगेको छ, जसमध्ये ७९१ जनाको मृत्यु भएको छ भने ९९ हजार ६०५ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २९९६ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभर ४४ हजार ४७६ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये २६९ जनाको आईसीयू र ८७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

कहाँ कति थपिए संक्रमित ?

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र ३१०७ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका २३९१ जना, ललितपुरका ५४३ र भक्तपुरका १७३ जना छन् ।

मोरङका ३६५ जना, रुपन्देहीका २४१, कास्कीका १७५, सुनसरीका १६०, चितवनका १४७, झापाका १२०, सुर्खेतका ११८, बाँकेका १०९, दाङका १०८, धादिङका ९८, मकवानपुरका ८५, सिन्धुपाल्चोकका ५६, दार्चुलाका ५३, काभ्रेका ५०, डोटीका ४३, नवलपुरका ४०, कैलालीका ३७, कपिलवस्तुका ३४, तनहुँ र पर्वतका ३२/३२ जना, धनुषाका ३०, गोरखा, बाग्लुङ र सल्यानका २९/२९ जना, दैलेखका २६ र बझाङका २५ जनामा संक्रमण देखिएको छ ।

सिराहाका २२ जना, बर्दियाका २१, नुवाकोट, नवलपरासी र पाल्पाका २०/२० जना, दोलखाका १८, सप्तरी र प्युठानका १७/१७ जना, कालीकोटका १६, इलाम, बारा, रौतहट र स्याङ्जाका १४/१४ जना, पर्साका १३, कञ्चनपुरका १२, सर्लाहीका ११, जुम्लाका १०, गुल्मीका ९, उदयपुर, महोत्तरी, रामेछाप, लमजुङ र अर्घाखाँचीका ६/६ जना, सिन्धुलीका ५, ओखलढुंगा, संखुवासभा, रुकुम पूर्व, जाजरकोट, अछाम र डडेलधुराका ४/४ जना, पाँचथर र हुम्लाका ३/३ जना, भोजपुर, रसुवा, म्याग्दी, रोल्पा र बैतडीका २/२ तथा खोटाङका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

परीक्षण बढ्यो, त्यसैले धेरै संक्रमित भेटिए

२४ असोजमा एकैदिन ५ हजार ८ जनामा संक्रमण पुष्टि भयो । नेपालमा कोरोना संक्रमण देखिएयता एकैदिनमा भेटिएको सबैभन्दा धेरै संक्रमित संख्या थियो ।

असोज २५ गते नेपालमा २ हजार ७१ जनामा संक्रमण देखिएको थियो, २६ गते ४ हजार ४७ पुग्यो, २७ गते ३ हजार ५५६ र २८ गते २ हजार ६३८ मा झर्यो । कात्तिक ४ गतेसम्म कुनै पनि दिन नयाँ संक्रमितको संख्या ५ हजार नजिक पुगेको थिएन। ५ कात्तिकमा संक्रमितको संख्या झण्डै ६ हजार नजिक पुग्यो ।

पछिल्लो तीन साता (१८ भदौदेखि ५ कात्तिकसम्म) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिक घोषणा गरेको संक्रमितको संख्या हेर्दा लाग्छ, संक्रमण निरन्तर बढेको छैन ।

तर दैनिक परीक्षण गरिएको नमुना र संक्रमितको संख्यालाई एकै ठाउँमा राखेर हेर्दा थाहा हुन्छ,संक्रमणको अवस्थामा उचार चढाव आएको छैन ।

जुन दिन परीक्षणको संख्या घटेको छ, त्यो दिन संक्रमितको संख्या पनि घटेको देखिएको छ र जुन दिन परीक्षण नमुना बढ्छ, त्यो दिन संक्रमितको संख्या पनि बढेको छ ।

हेर्नुस् ग्राफः

पछिल्लो २४ घण्टामा उपत्यकाका निजी प्रयोगशालामा परीक्षणको संख्या बढेको छ । बुधबार भएको २० हजार ११८ स्वाब परीक्षण गरेकामा स्टार अस्पतालमा २२३० नमुना, काठमाडौं मेडिकल कलेजमा १९४५ र बी एण्ड बी अस्पतालमा ९६६ सहित ९ हजार १८८ नमुना निजी प्रयोगशालामा परीक्षण भएको देखिन्छ ।

सरकारी प्रयोगशालाहरुमा हुने परीक्षण पनि अरु दिनको तुलनामा केही बढेर १० हजार ९३० पुगेको छ । यसअघि २४ असोजमा ५००८ जनामा संक्रमण पुष्टि हुँदा सरकारी प्रयोगशालामा १० हजार ९७५ परीक्षण भएको थियो । नभए सामान्यतया सरकारी प्रयोगशालामा हुने परीक्षण ७-८ हजार हाराहारी मात्र हो ।

जनस्वास्थ्य विज्ञहरुका अनुसार संक्रमण बढिरहेको बेला भइरहेको परीक्षण निकै अपर्याप्त छ । सरकारले दैनिक २५ हजार पीसीआर टेष्ट गर्ने क्षमता छ भनेपनि त्यसअनुसार टेष्ट नहुनु गलत भएको उनीहरु बताउँछन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम भने मापदण्डअनुसार परीक्षण भइरहेको दाबी गर्छन् । मापदण्डमा नपरेका व्यक्तिको पनि स्वाब संकलन गरेर परीक्षण गर्नुको कुनै अर्थ नरहेको उनको कथन छ । मन्त्रालयले पनि सम्भावित संक्रमितको मात्र परीक्षण गर्ने नीति बनाएको उनी बताउँछन् । ‘मापदण्डमा नपरेका व्यक्तिको नमुना लिई परीक्षण गराए छानबिन गरी कारबाही हुनेछ’ गौतमले भने ।

उपत्यका बाहेक ११ जिल्लामा संक्रिय संक्रमित धेरै

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा संक्रियको संख्या २३ हजार नाघेको छ । काठमाडौंमा सबैभन्दा धेरै १८ हजार ८३ जना छन् भने ललितपुरमा २९८९ र भक्तपुरमा १३०८ छन् ।

उपत्यका बाहेक ११ जिल्लामा संक्रिय संक्रमितको संख्या ५०० बढी छ । झापामा ६१५, मोरङमा २७७६, सुनसरीमा २६६७, काभ्रेमा ५५३, मकवानपुरमा ११४० चितवनमा १०७४ र रुपन्देहीमा १९७३ सक्रिय संक्रमित छन् । यस्तै कास्कीमा ७१३, दाङमा ७२०, सुर्खेतमा ७९६ र कैलालीमा ६३९ संक्रिय संक्रमित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment