Comments Add Comment

राजेशलाई दर्शकले म्यूजिक भिडियोमा रुचाए त ?

नायक राजेश हमालले लकडाउनपछि पहिलो पटक म्यूजिक भिडियोमा काम गरेका होइनन् । उनले, म्यूजिक भिडियोमा यसअघि पनि थुप्रै पटक काम गरेका छन् । चलचित्रको अफरलाई तत्काल स्विकार नगर्ने हमाल राम्रो पारिश्रमिक पाएकै कारण म्यूजिक भिडियोमा देखिएका हुन् ।

नायक राजेश हमालले लकडाउनपछि आफूलाई दर्जन बढी म्यूजिक भिडियोमा अफर आएको बताएका थिए । जसमध्ये, उनले केही म्यूजिक भिडियोमा अभिनय पनि गरिसकेका छन् ।

नायक राजेश हमालले लकडाउनपछि अभिनय गरेको ‘मञ्जरी’ बोलको गीत सार्वजनिक भयो । सार्वजनिक भएको १० दिनमा यो गीतलाई १२ लाख पटक हेरिएको छ । गीतमा प्रतिक्रिया दिने दर्शकले राजेश हमालको प्रशंसा पनि गरेका छन् ।

तर, यो गीतमा प्रकाश सपुत, वर्षा सिवाकोटी जस्ता कलाकार र राजेश हमालको उपस्थिती हुँदा पनि आशातित भ्यूज छैन । राजेश हमाल यो गीतमा पनि स्टारकै भूमिकामा देखिएका छन् । राजेशको उपस्थितीले यो गीतको भिडियोको चर्चा त भयो, तर गीत सार्वजनिक भएपछि आशातित सफलता प्राप्त गरेन ।

५ दिन अगाडि नायक राजेश हमालले अभिनय गरेको ‘संझिएर जिन्दगी’ बोलको गीत रिलिज भएको छ । पुष्पा लिम्बुसँग राजेशले अभिनय गरेको यो गीतलाई ५ दिनमा २५ हजार पटक हेरिएको छ । यो गीत ओएसआर डिजिटलबाट रिलिज भएपनि यसको भ्यूज पनि निकै कम देखिएको छ । राजेश हमालको उपस्थितीले पनि भिडियोलाई खासै फाइदा पुगेको देखिदैन ।

नायक हमालले म्यूजिक भिडियोमा काम गर्दा अडियोमा खासै ध्यान दिएका छैनन् । यस्तै, भिडियोको टिम र मेकिङमा पनि ध्यान दिन आवश्यक छ । राम्रो चलचित्रको प्रतिक्षा गरिरहेका हमालले भिडियोमा आफ्नो उपस्थिती फितलो बनाए भने उनीप्रतिको दर्शकको कौतुहलता कमजोर बन्न सक्छ ।

नायक हमालले मोडल आज्ञा खतिवडासँग काम गरेको ‘जुनमा हेरौं तिमीलाई’ बोलको गीत बुधबार रिलिज भएको थियो । यो गीतलाई सार्वजनिक भएको एक दिनमा ४ हजार पटक मात्र हेरिएको छ ।

राजेशले भिडियो खेल्दा उनका फ्यान खुशी भएपनि आम दर्शकले गीतको स्तर, टिम सबै हेरेर काम गर्न सुझाव दिएका छन् ।

कुनै समय चलचित्रमा निकै राम्रो क्रेज बनाएका हमालले टिम र कथा नहेरी चलचित्रमा काम गर्दा उनको पर्दाको स्टारडम कमजोर बनेको थियो । म्यूजिक भिडियोको हकमा पनि हमालको छनोट गलत भएको खण्डमा उनको स्टारडम फितलो हुन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment