Comments Add Comment

विना तामझाम गोरखाको फूलपाती हनुमानढोका पठाइयो

७ कात्तिक, गोरखा । गोरखा दरबारको फूलपाती हरेक वर्षजस्तै यस वर्ष पनि काठमाडौंको हनुमानढोका पठाइएको छ । शुक्रबार बिहान आठ बजे दसैँघरबाट निकालिएको फुलपाती बा १ झ ३३२१ नम्बरको गाडीमा चुडानिधि तिवारीसँग पठाइएको हो ।

तर कोभिड–१९ का कारण अघिल्लो बर्षजस्तो स्थानीय सहभागी गराएर हर्षाैल्लासका साथ फूलपाती पठाउन नसकिएको गोरखा दरवार हेरचाह अड्डा प्रमुख हरि भुसालले बताए । ‘अघिल्ला बर्षहरुमा बिहानै देखि स्थानीयको भीडभाड हुन्थ्यो, तामझामका साथ फुलपाती पठाइन्थ्यो,’ उनले भने, ‘तर अहिले कोरोनाले गर्दा स्थानीयहरुलाइ सहभागीता गराएनौ, परम्परालाइ निरन्तरता दिने हिसावले सामान्य ढंगबाट फुलपाती पठायौ ।’

मास्क र सेनिटाइजर लगायतका स्वास्थ्य सुरक्षा मापदण्ड समेत अपनाइएको उनले बताए । दरवारबाट रामशाह चौतारा हुदै सतीपीपलको फुलपाती चौतारासम्म हिँडाएर फुलपाती लग्ने प्रचलन रहेपनि यो बर्ष भने दरवारबाटै गाडीमा चढाएर पठाइएको उनले जानकारी दिए ।

हनुमानढोका पठाइएको फूलपाती पस्लाङ आसपासको वनजंगलबाट संकलन गरिएको दरवारका पूजारी शारदा भट्टराई बताउछन् । ‘हिजो साँझ नगरपालिका कार्यालयदेखि तल रहेको चुच्चेढुङ्गामा बेलको पूजा भयो, पूजामा जानुभएका सुसारेहरुले आज विहान तीन÷चार बजे पस्लाङको वनबाट नवपत्तिकाको सामान जुटाएर यहाँ ल्याउनुभयो, केही हनुमान ढोका पठायौ, केही दरवारमा राखेका छौ,’ उनले भने ।

नवपत्तिकामा बेल, दारिम, अशोका, धान, सामा, केरा, हलेदो, उखु र जयन्ती फुल पर्ने उनले बताए । तर कोरोनाका कारण विगत बर्षहरुमा जस्तो हर्ष उल्लास नभएको उनले जानकारी दिए ।

पहिले धादिङको जीवनपुर, नुवाकोट हुँदै पैदल बाटोबाट फूलपाती हनुमानढोका पुर्‍याउने प्रचलन थियो । २०६६ सालदेखि यो क्रमलाई तोडेर मोटरबाटोको प्रयोग गर्न थालिएको गोरखा दरवार हेरचाह अड्डाले जनाएको छ । राज्य एकीकरणको क्रममा पृथ्वी नारायण शाहले काठमाडौ माथि बिजय प्राप्त गरेर राजधानी बनाएसँगै गोरखाको फूलपाती हनुमानढोका लाने प्रचलन शुरु भएको विश्वास छ ।

शुक्रबार बेलुका चार बजे बाजागाजासहित हर्ष बढाइँका साथ गोरखा दरबारमा पनि फूलपाती भित्र्याइने बताइएको छ । जंगलबाट खोजेर ल्याएको फूलपाती सतीपीपलको फूलपाती चौतारामा जम्मा गर्ने र हर्ष बडाइका साथ गोरखा दरवारको दशै घरमा भित्र्याइने दरवार हेरचाह अड्डा प्रमुख भुसालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment