Comments Add Comment

दसैंमा दशा नभित्रियोस्

दसैं आइसकेको छ । तिहार र छठ पनि नजिकै आइरहेका छन् । विगतमा दसैं, तिहार, छठ आउँदा परदेशीहरु घर फर्कन्थे । बजारमा रौनक हुन्थ्यो । गरीबले पनि दसैं तिहारमा ऋण नै गरेर भएपनि एकसरो लुगा फेर्ने र मीठो मसिनो खान्थे । तर, यसपटक अवस्था फरक छ ।

कोभिड १९ को महामारीसंगै सरकारले जारी गरेको स्वास्थ्य मापदण्डका कारण धेरै परदेशीहरु घर फर्कन पाएका छैनन् । कैयौंको रोजगारी गुमेको छ । केही परदेशीहरु रित्तो हात घर फिर्नु परेको छ । लकडाउनको समयमा भारतबाट घर फर्किएका नेपाली हात मुख जोर्न समस्या भएपछि चाडबाडको मुखैमा फेरि उतै फर्किएका छन् । धेरैको रोजगारी गुमेकाले अहिले गरीबको कमाइ पनि नहुने र ऋण पनि नपाउने दर्दनाक परिस्थिति बनेको छ ।

बडादसैं नवदुर्गा भवानीको नौ वटा रुपको आरधाना तथा पूजा अर्चना गर्दै आश्विन शुक्ल पक्षमा प्रतिपदादेखि दशमी र त्यसपछि कोजाग्रत पुर्णिमासम्म मानिने विशेष पर्व वा उत्सव हो । दसैंलाई बडा दसैं, दशहरा, विजया दशमी, आयुध पूजा आदि नामले जानिन्छ ।

त्रेतायुगमा यही दिनमा श्रीरामले सीताको हरण गर्ने रावणको बध गरेको सम्झनामा यस चाडलाई विशेष गरी मनाइन्छ । दुर्गापूजाको परम्परा भारतीय भूभागमा पनि पाइन्छ । बङ्गालीहरुको दुर्गापूजाले देशविदेशमा चर्चा पाएको छ । तर, नौ दिनसम्म पूजा गरी प्रसादको रुपमा टीका जमरा लगाउने चलन भने नेपालको विशुद्ध मौलिक परम्परा हो ।

दसैंमा मान्यजनबाट टीका थाप्ने, जमरा लगाउने, आशीष लिने र दक्षिणा लिने परम्परा छ । यसमा हाम्रा जीवनको मूल्य र मान्यता लुकेका छन् । दसैंमा आफूभन्दा ठूला, मान्यजनबाट टीका लगाएर आशिर्वाद लिने चलन छ । यसले मान्यजनप्रति श्रद्धाभाव राख्नुपर्छ भन्ने सन्देश दिन्छ । मान्यजनले दिने आशिष हाम्रा लागि जीवनोपयोगी हुन्छ । मान्यजनले पुरुषका लागि र महिलाका लागि फरक–फरक आशिर्वचन दिने चलन छ । पुरुषका लागि दिइने आशिर्वाद यस्तो हुन्छ–

आयू द्रोण सुते, श्रृयं दशरथे शत्रुक्षयं राधवे,
ऐश्वर्य नहुषे, गतिश्च पवने, मानं च दूर्योधने ।।
दानं सूर्यसुते बलं हलधरे सत्यं च कुन्ती सुते,
विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे ।।

यो आशिषको अर्थ : द्रोणपुत्रको जस्तो लामो आयु होस् । दशरथ राजाको जस्तो श्रेय होस । भगनाव रामको जस्तो शत्रु नास होस् । नहुष राजाको जस्तो ऐश्वर्य होस् । पवनको जस्तो गति होस् । दुर्योधनको जस्तो मान होस् । सूर्यपुत्र कर्णको जस्तो दानवीर होस् । हलधर बलरामको जस्तो बल होस् । कुन्ती पुत्र युधिष्ठिरको जस्तो सत्यवादिता होस् । विदुरको जस्तो ज्ञान होस् । र, भगवान नारायण (विष्णु) को जस्तो कीर्ति वा प्रसिद्धि होस् भन्ने हो ।

त्यस्तै महिलालाई टीका लगाउँदा दिइने आशीष यस्तो छ–

जयन्ती मङ्गला काली भद्रकाली कपालिनी । दुर्गा क्षमा शिवा धात्री स्वाहा, स्वधा नमोऽस्तुते ।

यसको अर्थ : जयन्तीदेखि स्वधासम्म देवीका ११ वटा रुपहरुलाई नमस्कार गर्छु भनिएको हो ।

दसैंलाई असत्यमाथि सत्यको विजयको रुपमा हेरिन्छ । विजयादशमी भगवान रामको विजयको रुपमा मनाइयोस् अथवा दुर्गापूजाका रुपमा, दुवै रुपमा यो शक्ति पूजाको पर्व हो । शसत्र पुजनको तिथि हो । हर्ष एवं उल्लास तथा विजयको पर्व हो । हिन्दु संस्कृति वीरताको पूजक अनि सौर्यको उपाशक हो । व्यक्ति एवं समाजको रगतमा वीरता प्रकट होस् भन्ने ध्येयले दसैंको उत्सव पर्व सुरु भएको हो । यो महाखुसीको पर्व हो । यस दिन पिङ खेल्यो या भुई छोड्यो भने मरेपछि स्वर्ग गइन्छ भन्ने मान्यता समेत रहेको छ ।

दसैं नयाँ लुगा लगाउने, मान्यजनबाट आशिर्वाद लिने, मिठो मसिनो खाने पर्वका रुपमा परिचित छ । मासु खाने दसैंको अर्को विशेषता हो । सधैंभरि खान पाउने भाग्यमानीहरु पनि दसैं भनेपछि बढी मासु खानुपर्छ भन्ने मान्यता राख्छन र खान्छन् पनि । अक्सर अरुबेलामा प्रशस्त पहुँच नहुनेहरुले पनि दसैंका लागि बढी नै मासुको व्यवस्था गर्छन् । बाटोघाटो सरसफाइ, घर सिंगार्ने, लिपपोत वा रङ्गाउने चटारो दसैंको अर्को विशेषता हो । बाल–बालिकाका लागि चङ्गा र पिङ अर्को आकर्षण हो । आपसी प्रेम, सद्भाव, र पारिवारिक जमघट एवं मालश्री धुन बजाएर गीत गाउनु जस्ता विशेषता यो पर्वले बोकेको हुन्छ ।

अहिलेको दसैंको अवस्था भनेको असाधारण अवस्था हो । मान्छेसँग मान्छेले डराउनुपर्ने, मान्छेलाई मुख देखाउन नहुने, एकको हातले अर्कोको हात समाउन नहुने, खुसी र दुःखमा अंकमाल गरी ढाडस दिन नहुने, बिरामी पर्दा सुसारे र मर्दाको बखत मलामी नचाहिने, आफ्नै कारणले आफू र आफ्ना मान्यजन जोखिममा पर्नसक्ने पीडादायी अवस्था छ ।

तर, विडम्वना, यस बर्ष दसैं पर्व सधैंभन्दा अलि फरक ढङ्गले मनाउनुपर्ने अवस्था छ । मुलुकमा विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को संक्रमण बढ्दो गतिमा जारी छ । लामो समयदेखिको बन्दाबन्दीले देशको हरेक क्षेत्र संकुचित भएको छ । नेपालमा दुईजना मात्रै कोरोना संक्रमित हुँदा देशभित्रैबाट कोरोना सर्ने जोखिम कम थियो ।

सीमा नाकामा कडाइ गरी विदेशबाट आउनेको परीक्षण अनिवार्य गर्नुपर्ने अवस्थामा हतार–हतार सरकारले लकडाउन गर्‍यो । तीन महिनासम्म अत्यावश्यक बाहेक कुनै पनि व्यापार व्यवसाय भएनन । नागरिकले काम गर्न पाएनन् । सीमा क्षेत्र ठप्प भयो, बजारमा पैसा खेल्न पाएन । यसको असर अहिले विकराल देखिन थालेको छ । कैयौं नागरिकले रोजगारीबाट हात धुनुपर्‍यो । हजारौं साना तथा मझौला उद्योग बन्द भए । तल्लो वर्गका व्यक्तिलाई निकै ठूलो समस्या बनेको छ । जताततैको बन्दले रोजगार गुम्दा गरीखाने वर्गको छाक बन्द हुने अवस्था आएको छ ।

सामाजिक दुरीको नियम हाम्रो सामुदायिक जीवनको साझा हर्ष र आत्मीय उल्लासको भावनामाथिको प्रहार हो तर बाध्यताबश यो बाटो अपनाउनु परेको सत्य हामीले स्वीकार्नुपर्छ । संक्रमितको दर र मुत्युदर दैनिक बढिरहेको छ । संक्रमित हुनु भन्दा पनि उपचारको अवस्था कस्तो छ हाम्रोसामु छर्लङ्ग छ । आफू आफैं बच्नुभन्दा अरु उपाय केही छैन, अहिले पनि व्यवस्थित क्वारेन्टिन छैनन् । आइसोलेसन नभएर गम्भीर बिरामी पनि घरमै बस्न बाध्य छन्, भेन्टिलेटर छैनन् ।

भएका कतिपय ठाउँमा चलाउने विज्ञ छैनन् । दिनहुँजसो बेडको अभावमा बिरामीले उपचार नपाई मृत्युवरण गर्नुपरेको छ । त्यसैले महामारीबाट बच्न आवश्यक सावधानी अपनाउनुपर्छ । हामीले यसबाट डराउनु भन्दा पनि यसलाई सामान्य ठानेर लापरवाही गर्नु हुँदैन ।

कोरोना महामारीबाट अग्रज पुस्ता बढी जोखिममा पर्ने गरेका छन् । उनीहरुलाई सम्मान गर्ने नाममा उनीहरु नै जोखिममा पर्ने सम्भावना बढी छ । अहिलेको दसैंको अवस्था भनेको असाधारण अवस्था हो । मान्छेसँग मान्छेले डराउनुपर्ने, मान्छेलाई मुख देखाउन नहुने, एकको हातले अर्कोको हात समाउन नहुने, खुसी र दुःखमा अंकमाल गरी ढाडस दिन नहुने, बिरामी पर्दा सुसारे र मर्दाको बखत मलामी नचाहिने, आफ्नै कारणले आफू र आफ्ना मान्यजन जोखिममा पर्नसक्ने पीडादायी अवस्था छ । खुसीको खोजीमा शहर पसेकाहरु कोरोनाको डरले गाउं जान सकेका छैनन् । एकातिर रोजगारी गुम्नु अर्कोतिर कतिपयको परिवार दुईतिर भएका कारण पनि यो दसैं खल्लो भएको छ ।

कोरोनाले संसारलाई रुवाएको छ । त्यसैले जमघट नगरी जो जहाँ छौं त्यहीँ बसेर दसैं मनाऔं । यसपालि दुर्गापूजा घरमै बसेर गरौं । मठ मन्दिर धाउनैपर्छ भन्ने पनि छैन । त्यस्तै मान्यजनबाट आशिर्वाद लिन भेट्नैपर्छ भन्ने पनि छैन । टाढै बसेर पनि आशिर्वाद लिन सकिन्छ । दसैंको बहानामा कसैको घरमा दशा नआओस् । आपसी भेटघाट र मनोरञ्जन ज्यान बचाउन सके फेरि पनि गर्न सकिन्छ । हस्पिटलका बेडमा छट्पटिएका हाम्रा आफन्त अनि खाली बेडको पर्खाइमा घरको एकान्त कुनामा एक्लै तड्पिएका हाम्रा आफन्तलाई छोडेर हामी खुसी पनि हुन सक्ने छैनौं ।

सबै जहाँ छौं, त्यहीँ बसेर मृत आत्माहरुको चिरशान्तिको कामना गर्दै अस्पतालका शय्यामा मृत्युसँग लडिरहेकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरौं । कोरोना मबाट सर्दैन भन्ने भ्रम त्यागौं । म संक्रमित छु, म टाढा बस्नुपर्छ भन्ने सोच राखौं, आफू बचौं र अरुलाई पनि बचाउने काम गरौं । विजयादशमीको टीका, जमरा र आशीषले सबैको जीवनमा उर्जा भरोस, आशीष दिने मुखमा सरस्वतीको बास होस्, हामी सबैको अनुहारमा हर्ष छल्कियोस् । विजयादशमीको अनेकन शुभकामना ।

(वन कृषि विकास बैंक बुटवल शाखाकी बरिष्ठ शाखा प्रवन्धक हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment