Comments Add Comment

कविता : फिर्ता

फिर्ता गर्नुछ सबै–सबै
जसरी
फोक्सोले फिर्ता गर्छ श्वास वायुमण्डलमा
मुटुले फिर्ता पठाउँछ रगत धमनीहरूलाई
हृदयले फिर्ता लिन्छ/दिन्छ मायाको उच्छवास

फिर्ता गर्नु भनेको बाँच्नु पो हुँदो रहेछ
मलाई पनि फिर्ता गर्नुछ सबै–सबै
र बाँच्नुछ चैनको जुनि

कवि नरेन्द्रकुमार नगरकोटी

फिर्ता गर्नुछ विवाहको प्रस्तावसहितको प्रियसीको प्रेमपत्र
फिर्ता गर्नुछ परिवार, समाज र राज्यको बन्धन
सुखसयलका नाममा प्राप्त सबै–सबै भ्रमका जालो
प्रविधिले दिएका ‘इन्स्टान्ट नुडल्स क्वालिटी’का सुविधा
सबैसबै फिर्ता गर्नुछ

साथमा यो कविता पनि फिर्ता गर्नुछ कविहृदयलाई

फिर्ता गर्न मन छ
सबैसबै प्रमाणपत्र–
जसले कहिल्यै बस्न सकेन कुनै पनि ज्ञानको साक्षी
फिर्ता दिनुछ सबै ज्ञानशक्ति, सीप र दक्षता
जसको बदलामा मैले कहिल्यै दिन सकिनँ गुरुदक्षिणा
गर्न सकिनँ गुरुको आदर

मलाई फिर्ता गर्नुछ नागरिकताको प्रमाणपत्र
र अनागरिक हुनुको बोधबाट लिनुछ मुक्ति
मतदाता परिचय पत्र फिर्ता गरेर
बन्नुछ ‘नो भोटर’ र हेर्न मन छ
मैले भोट नगरेको शासक कस्तो हुने रहेछ
अनुमतिपत्रहरू फिर्ता गरेर विमति गर्नुछ यो समाज र व्यवस्थासँग
फिर्ता गर्नुछ हकदाबी हुनसक्ने सबैसबै ठाउँबाट मेरो नाम
फिर्ता लिनुछ सबैसबै उम्मेद्वारीको योग्यता
र स्वतन्त्र हुन नपाउनुको पीडाबाट स्वतन्त्र हुनुछ
बाँकी सबै कागजपत्र फिर्ता गरेर
सबैसँग चुक्ता गर्नुछ हिसाब–किताब
र, बेहिसाब बाँच्नुछ निस्फिक्री भएर

फिर्ता लिनुछ सबै–सबै दर्ताबाट मेरो नाम
र मुक्त गर्नुछ सबै–सबैलाई मेरो नामको बन्धनबाट
फाल्नुछ मेरो थर र जातको अहमबाट
हुर्केर ठूलो भएको रुखको जरै उखेलेर
फिर्ता गर्नुछ स्कुलको हाजिरकापीमा लेखिएको मेरो पूरा नाम–थर
खोपकार्डमा लेखिएको मेरो वतन फिर्ता गर्नुछ
तिर्नुछ,
गुन गुनिलाहरूलाई
रिन साहुहरूलाई/गरिब साथीहरूलाई/मनकारी स्वजनहरूलाई
तिर्नुछ सबैसबै सबैलाई
र, विश्वभरिको जुनसुकै रिनबाट उन्मुक्त भएर मुस्कुराउनुछ

र, फिर्ता लिनुछ
मेरो शुद्ध जिन्दगीबाट बचेखुचेको
प्रेम र करुणाले भरिपूर्ण जिन्दगी !

फिर्ता गर्न सक्दिनँ आमाको माया
फिर्ता गर्न सक्दिनँ पिताको स्नेह
फिर्ता गर्न सक्दिनँ धरतिको समर्पण

बदलामा दिन सकूँ चोखो प्रेम र उच्च सम्मान
आमालाई
पितालाई
र धरतीलाई

फिर्ता गर्न सक्दिनँ यो उमेर
र पनि, जिउन सकूँ
बालापन महसुस हुने एउटा प्राकृतिक जीवन !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment