Comments Add Comment

मदिरा महात्म्य : खाने मुखलाई जुँगाले नछेकेपनि

मदिरा पिउनेलाई वाहाना कति-कति । पिउनकै निम्ति अनेक जुक्ति निकाल्छन् । थोरै पिउँछन् । थोरै पिएपछि तलतल मेटिदैन । फेरी थप्छन् । थप्दै जान्छन् । लट्ठ हुन्छन् । भए-नभएका कुरा गर्छन्, गर्न हुने-नहुने हर्कत गर्छन् । जब अर्को बिहान होस खुल्छ, तब आत्मआलोचना गर्दै नम्रतापूर्वक भन्छन्, ‘यो रक्सी भन्ने जात राम्रो होइन । भो, अब पिउन छाड्छु ।’

तर, केही क्षण वा केही घण्टापछि उनको कुरा फेरिन्छ । जिब्रोले फेरी मदिराको स्वाद खोज्छ । पिउने मुड चल्छ । मुड चल्योपछि कसको के लाग्छ ? खाने मुखलाई जुँगाले छेक्दैन । अनेक वाहाना निकाल्न थाल्छन् ।

–‘यसो चाडपर्वमा त हो पिउने, अरुबेला कहाँ पाइन्छ र ?’

–‘हिजोको धङधङ्ती मेट्न थोरै पिउनुप¥यो ।’

–‘चिल्लोचाप्लोले पेट ढुस्स भयो, थोरै पिउँदा निको हुन्थ्यो कि ।’

–‘आज एकदिन पिउँछु, त्यसपछि बन्दा ।’

–‘पिउने बानी परिहाल्यो, चट्ट छाड्न हुँदैन बिरामी भइन्छ । थोरै पिउनुप¥यो ।’

–‘ठिक्क पिउनुपर्छ औषधि पो हुन्छ त ।’

–‘यसो साथीभाईको मन राख्नका लागि पनि आज चाहि पिउनुप¥यो ।’

मदिरा पिउने हरेकलाई थाहा छ, यो स्वास्थ्यबर्द्धक पेय होइन । बरु यस्तो पेय हो, जसले स्वास्थ्यलाई हानी गर्छ । खासगरी यसले कलेजोमा क्षति पु¥याउँछ । मदिरा पिउनसाथ केही त्यस्ता अनुभव गर्न सकिन्छ, जसले भित्री अंगमा गडबडी भएको जनाउ दिन्छ । यसले तुरुन्त देखाउने असर भनेको पाचन तन्त्रको समस्या हो । आज टिल्ल मातेर सुत्नुहोस्, भोलिपल्ट तपाईंको पेट खराब हुन्छ ।

पियक्कडहरुलाई थाहा छ, मदिरा पिउनु हुन्न । तर, उनीहरुलाई कुनै अर्ति-उपदेशले छुँदैन । त्यसैले मदिराको जतिसुकै दुर्गुण बताएपनि उनीहरु जवाफ फर्काउँछन्, ‘नपिएर को अजम्बरी भएको छ र ? अरु मदिरा छुँदै नछुने फलानो हेरौं, औषधि खाएर बाँच्नु परेको छ ।’

मदिरा संसारभर पिइन्छ । राजादेखि रैतीसम्मले पिउँछन् । विद्वानदेखि मूर्खसम्मले पिउँछन् । चिन्तकले पिउँछन्, चिकित्सकले पिउँछन् । प्रशासकले पिउँछन्, प्रहरीले पिउँछन् । मदिराको कुनै वर्ग छैन, जात छैन, धर्म छैन । तर सत्य के हो भने, मदिराले शरीरलाई हानी त गर्छ नै । चाहे ठिक्क पिउनुहोस् वा थोरै । धेरै पिउनेको त कुरै भएन ।

चाडपर्वको बेला छ । अझै तिहार आउन बाँकी नै छ । तपाईंहरुको मुड किन खराब गर्ने ? यद्यपि मदिरा पिउने नै हो भने कही सामान्य कुराको हेक्का राख्न जरुरी छ, जसबाट तपाईं मदिराको स्वाद पनि लिन सक्नुहुनेछ र स्वास्थ्यमा हुने प्रतिकुल असरलाई पनि केही हदसम्म बचाउन सक्नुहुनेछ । यसका निम्ति केही भ्रम त्यागौं ।

भ्रम –१

मदिरा पिएपछि टन्न अरु खानेकुरा खानुपर्छ । पेटमा गएपछि मदिरालाई उक्त खानेकुराले जित्छ । मदिराको असर हुन दिदैन । अक्सर पियक्कडहरुले भन्ने कुरा हुन् यी । उनीहरुलाई के लाग्छ भने मदिरानसँगै पेट चर्कनेगरी अन्य सितन (स्न्याक्स) लिनुपर्छ, मदिराले असर गर्दैन ।

तर, मदिरा पिएपछि यसैपनि कलेजोको काम बोझिलो हुनपुग्छ । त्यसमाथि थपिने सितन खासगरी चिल्लोचाप्लो, तरेको भुटेको, पोलेको, मसलेदार परिकारले पाचन यन्त्रलाई अरु भार पु¥याउँछ । त्यसैले मदिरा पनि टन्न पिउने, त्यसमाथि पेट चर्कनेगरी स्न्याक्स पनि लिने बानी अरु हानिकारक हो ।

भ्रम –२

मदिरा पिएपछि मस्त नाचगान गर्नुपर्छ, उफ्रिनुपर्छ । मदिराको असर कम हुन्छ ।

जबकी मदिराले यसैपनि तपाईंको अंगहरुलाई उत्तेजित बनाइरहेको हुन्छ । त्यसमाथि उफ्रिने, नाच्ने, हो–हल्ला गर्ने क्रममा रक्तचाप बढ्छ । मुटुलाई हानी गर्छ ।

भ्रम–३

मदिराको धङधङती मेट्न थोरै मदिरा पिउनुपर्छ । वा उठ्नसाथ चिसो पानीले एकसरो नुहाउनुपर्छ ।

यस्तो बानीले तपाईंलाई अरु जटिल स्थितिमा पु¥याउन सक्छ । मदिराको ह्याङओभर हटाउन बिहान उठ्नसाथ चिसो पानीमा नुहाउँदा, कडा व्यायाम गर्दा जोखिम अरु बढ्नसक्छ ।

ख्याल राख्नुपर्ने कुरा

मदिरा पिउने नै हो भने आफ्नै लागि केही अनुशासन तय गरौं र त्यसलाई पूर्णताका साथ पालना गरौं ।

१. आज मदिरा पिउँदै हुनुहुन्छ भने मदिा पिउनुअघि पर्याप्त पानी पिउनुहोस् । यसमा फलफूलको ताजा जुस वा सर्वत पनि हुनसक्छ । शुद्ध पानी मात्र पिउँदा हुन्छ । जब तपाईंको अघिल्तिर मदिरा आइपुग्छ, तब एक÷दुई गिलास पानी पिउनुहोस् । त्यसपछि मात्र मदिरा सुरु गर्नुहोस् । यसरी मदिरा पिएपछि तपाईं स्वयम्ले अनुभव गर्नुहुन्छ कि, मदिराले अरुबेला जस्तो असर गर्नेछैन । भोलिपल्ट ह्याङओभर हुने संभावना पनि कम हुन्छ ।

२. संगत गुणाको फल भन्छन् नि । त्यसैले मदिरा पिउँदा सकेसम्म त्यस्ता साथीहरुसँग संगत नगर्नुहोस्, जो मदिराका ट्यांकर हुन् । जति पनि पिउन सक्ने । यस्ता साथीहरुको संगतमा पिउन थाल्नुभयो भने तपाईंले आफ्नो मात्रा नियन्त्रण गर्नै सक्नुहुन्न । सकेसम्म आफ्नै घरमा, परिवारसहित वा कम पिउनेहरुको साथमा पिउनुहोस् । यसबाट के फाइदा पुग्यो भन्ने कुरा त तपाईंले मदिरा पिएको भोलिपल्ट प्रत्यक्ष अनुभव गर्नु नै हुनेछ ।

३. मदिरासँग मासु वा अन्य स्न्याक्स खाँदा मदिराको असर कम हुने होइन, अरु हानिकाकर हुन्छ । मदिरासँग खानका लागि तपाईंको निम्ति उपयुक्त विकल्प हो, कांक्रा, मुला जस्ता सलाद । अझ सक्नुहुन्छ भने मदिरा पिउनुअघि नै यस्ता सलादले आधा पेट भर्नुहोस् । साथसाथै फलफूल पनि तपाईंको लागि राम्रो विकल्प हो । तर, मासु, मसलेदार तरकारी, दालमोठ, भुजिया, अचारसँग मदिरा पिउने बानी त्याग्नुहोस् ।

४. मदिरा पिएपछि चुरोट वा हुक्काको तलतल लाग्न सक्छ । तर, यी दुबैले तपाईंलाई दोब्बर हानी गर्छ । सक्नुहुन्छ भने, मदिरा पिउँदै गर्दा मात्र मदिराको स्वाद लिनुहोस् । यसमा चुरोट हावी हुन नदिनुहोस् ।

५. मदिरा पिएपछि अत्याधिक भात वा अरु खानेकुुरा नखनुहोस् । हल्का र सुपाच्य खानेकुरा खाएर आरम गर्नुहोस् । नाच्ने, गाउने, उफ्रिने काम नगरौं ।

तपाईंलाई झोंक चल्न सक्छ, के मदिरा पिउनका लागि पनि अरुको अर्ति उपदेश सुनिरहनुपर्छ ? अरुले सिकाइरहनुपर्छ ? अमृत पिएको हो र ? मदिरासँग मासु नखाए के खानु ? फलफूल त बिरामी भएपछि खाने हो । तर, यो तपाईंको कल्याणका लागि हो । तपाईंको स्वास्थ्य र परिवारको हितको कुरा हो । बाँकी तपाईंको मर्जी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment